शिक्षकदेखि मन्त्रीसम्म : पञ्चायतको निर्वाचनले बदलेको थममायाको जीवन
बुबा नरबहादुर थापा र आमा गजमती थापाकी कान्छी छोरी हुन् थममाया थापा । बुबाले सानैदेखि काँधमा बोकेर आफैले खोलेको गाउँको स्कुलमा लैजान्थे । विस्तारै उनले पनि पढ्न थालिन् ।
पढाइ गर्दैगर्दा आफ्नो बुबाको गाउँलेले विरोध गरेको आफ्नै कानले सुनिन् । उनले यसको कारण धेरैपछि बुझिन् । कारण थियो, उनका बुबाले काम गर्ने केटाहरूलाई जम्मा गरेर स्कुलमा पढाउनु रहेछ ।
उनले त्यही समयबाट समाजलाई नजिकबाट बुझ्ने कोसिस गरिन् । किन मानिसहरू राम्रो कामको पनि विरोध गर्छन् भनेर । उनका बुबाको विरोध गर्नु चेतनाको कमीले भएको ठम्याइनँ । यदि चेतना हुँदो हो त मानिस उनको बुबाको विरोध होइन, साथ दिन्थे होलान् ।
पहिला पहिला बुबाको विरोध गरेको देखेकी थममायाले पछि आफूले विरोध भोगिन् । विरोधको प्रकृति फरक थियो । उनका बुबाको विरोध सामान्य गाउँलेले गर्थे । तर उनको विरोध राजनीतिक चेतना भएका पञ्चहरूले गर्न थाले ।
उनको राजनीति यात्राको मियो पनि यही विरोधको परिणाम हो भन्दा फरक पर्दैन । राजनीति चेतना र उनले देखेका सपनाका कारण उनको जागिर नै गयो ।
सपना देख्नु राम्रो हो । सपनाले नै त हो मानिसलाई बाँच्न सिकाउँने । भनिन्छ नि सपनाले सुत्न नै दिँदैन । त्यो समयको मनाङ जिल्लामा जन्मेर हुर्केर केही कक्षा पढेकी हुन् उनी ।
दुई वर्षको उमेरबाट बुबाको काँधमा चढेर बुबाले खोलेको स्कुल जान थालेको कुरा उनलाई बुबाले नै भनेका थिए । भारतीय सेनाका पेन्सनधारी बुबा गाउँ फर्केका थिए । उनी पेन्सनधारी मात्र भएनन् आफूले भारतका हरेक ठाउँमा भएका स्कुलहरूको सफा चित्र पनि मनमा बोकेर आए । २०११ सालमा गाउँ फर्केपछि स्कुल खोले । आफै पढाउन थाले ।
उनका बुबाले खोलेको स्कुलभन्दा तीन वर्ष कान्छी हुन थममाया । छोरी पढेलेखेपछि शिक्षिका बनुन्भन्ने उनको बुबाको सपना थियो । यो सपना पूरा गरिन् उनले ।
उनले ५ कक्षासम्म बुबाले सुरु गरेको स्कुलमा नै पढिन् । त्यो समयमा छोरा मान्छेलाई त पढाउँदैन थिए । छोरी पढाउने झन् सोच्ने कुरा नै हँुदैन थियो । उनका बुबा सेनाको जागिर खाएर आएका भएर होला गाउँमा शिक्षाको कुरा गर्थे । उनले राम्रो काम गर्दा पनि जस पाएनन् । सुरु सुरुमा गाउँलेहरूले उनको बुबालाई नै गाली गर्थे ।
उनी अहिले पनि गाउँलेहरूले भनेका कुरा सम्झन्छन्– ‘हाम्रा छोराहरू काम गर्थे यसले छोराहरू बिगारी दियो । हामीलाई कामको दुःख भयो ।’
उनका बुबा कसैको गाली र विरोधको अगाडि झुक्नु भएन । जीवन आरोह अवरोहका बीच चलिरह्यो । उनका बुबाले स्कुल सञ्चालन गरे । स्कुल ५ कक्षासम्म पढाउने भयो । उनी शिक्षक बने ।
९ कक्षा पढ्दै गर्दा शिक्षक
उनको बुबाले खोलेको स्कुलबाट ५ कक्षा पास भएर अर्को स्कुल पढ्न गइन् । उनका बुबाले खोलेको स्कुल अहिलेको अमर मावि चिमखोलामा हो । यो गाउँ दुर्गममा पर्छ । कक्षा ६ देखि उनले म्याग्दीको बेनीको प्रकाश माविमा कक्षा ९ सम्म पढिन् । पढ्दापढ्दै त्यो समयमा सरकारले उनको बुबाले खोलेको स्कुलमा शिक्षक चाहियो । उनलाई तालिममा पठाउने निधो भयो । उनले पोखरामा २०३१ सालमा १० महिना तालिम गरिन् । उनले आफ्नो विद्यार्थी जीवनबाट शिक्षक बनिन् । उनले पढाउन थालेको ३ वर्षपछि बुबाबो मृत्युभयो । उनको काँधमा घरको जिम्मेवारी पनि थपियो । घरको कामसँगै पढाउँदै गइन्, राजनीतिक चेतना पनि बढ्दै गयो । उनी राजनीतिमा पनि झुकाव राख्न थालिन् । मालेको शिक्षक सङ्गठनमा सहभागी भइन् । उनलाई स्कुलबाट निकालेपछि २०४० सालमा बेनीको प्रकाश माविबाट एसएलसी पास गरिन् ।
चुनावले बदलेको जीवन
२०४२ सालमा भएको पञ्चायतको निर्वाचनमा उनलाई पञ्चहरूले आफूले भनेको मान्लिन् भन्ने सोचेका थिए । तर उनले उनको पार्टी जनपक्षीय उम्मेदवारका पक्षमा आफ्नो मत जाहेर गरिन् ।
उनले राष्ट्रिय पञ्चायतको निर्वाचनमा जनपक्षीय उम्मेदवार हरिबहादुर पुनलाई भोट मागिन् । यो पार्टीको चुनाव उपयोग गर्ने नीति थियो । पञ्चायतका भिमप्रसाद गौचन हरिबहादुरको विपक्षमा थिए । त्यो समयमा पनि जनपक्षीय उम्मेदवार जित्ने पक्का थियो । तर सरकारका सबै अङ्गहरू प्रयोग गरेर चुनाव गौचनलाई जिताइयो । सरकारले त्यो समयमा तीन जना कम्युनिस्ट कार्यकर्ताको हत्या नै गरेको थियो । सुरेश शेरभुजा, हीरालाल फगामी र हीराबहादुरको हत्या भयो । उनलाई पञ्चहरूले कुटपिट मात्र गरेन् मरी भनेर फालेर हिँडेका थिए । यहीँबाट उनले जागिर छोडेर राजनीति रोजिन् । उनी त्यो समयका दिन सम्झँदै भन्छिन्– ‘यदि सरासर पञ्चहरूले पढाउन दिएको भए पढाउँथे होला । मैले बोकेको विचार र मैले गरेको समाज सुधारका काम पञ्चलाई सह्य भएन । मलाई जागिरबाट निकाल्ने योजना बन्न थालेँ । मैले जागिर सरुवा गरेर सदरमुकाम म्याग्दी आएँ ।’ उनको जीवन २०४२ सालको चुनावले बदलेको थियो । उनी राजनीतिमा लाग्दा पनि त्यति सहज थिएन । तर पनि उनलाई आमाले सहयोग गरिन् । सुरुसुरुमा आमाले विरोध गरे पनि पछि साथ दिइन् । बुबाले त्यो समयमा नपढाएको भए र आमाले राजनीति गर्न सहयोग नगरेको भए आफू यो ठाउँमा नपुग्ने थापा बताउँछिन् ।
विचारमाथि प्रतिबन्ध
त्यो समयमा बोल्न पनि पाइँदैन थियो । निरङ्कुश पञ्चायत थियो । उनले शिक्षक पेसासहित राजनीति गरेपछि उनका विरुद्ध पूरा पञ्चायति शासक एक जुट भए । उनलाई अब शिक्षिकाबाट हटाउने योजना बन्न थाले । उनलाई सताउने र दुःख दिने काम थामिएनन् । झन् माथि झन् बढ्दै गए । उनले गाउँको स्कुलबाट सरुवा मिलाएर सदरमुकाम आइन् । त्यहीँ पढाउन थालिन् । तर पनि उनीमाथिको अन्याय अत्याचार थामिएन ।
उनी पुराना दिन सम्झै भन्छिन्– त्यो समयमा गाउँमा जनपक्षीय उम्मेदवारहरूको पक्षमा भोट मागेको भन्दै पञ्चहरूले स्कुलबाट निकाल्ने योजना बनाए । काम गर्न नदिने अवस्था आयो । म सदरमुकाम सरुवा मिलाए र सदरमुकाम बेनी आएपछि राजनीतिमा सक्रिय भएँ ।’
उनी २०४३ सालमा पीएन क्याम्पस पढ्न थालिन् । उनले जागिर नै छोड्नि । उनी आईएलमा भर्ना भइन् । उनलाई अब पूर्ण रूपमा राजनीतिमा लागेर पञ्चायतको विरुद्ध लाग्नुपर्छ भन्ने लाग्यो । चुनावपछि उनलाई नोकरीबाट निकाल्यो । उनी पीएन क्याम्पस भर्ना मात्र भइनन् । स्ववियुको निर्वाचनमा कोषध्यक्षमा लडिन् । २०४४ सालमा उनका विरुद्ध राजकाज मुद्दा लगायो । मुद्दा लागेपछि उनी जतिबेला पनि समातिन सक्ने अवस्था भयो । तर पनि एक वर्ष भूमिगत तरिकाले पोखरामा नै बसिन् ।
२०४५ साल निरङ्कुश पञ्चायतको अन्तिम वर्ष थियो । यही वर्ष पार्टीले उनको विवाह गरी दियो । उनको विवाह सिराहका रेसमान राईसँग भयो । त्यो दिन सम्झँदै भन्छिन्– ‘म पोखरा क्याम्पसमा पढ्थँे, पार्टीले नै विवाह गर्ने हो कि होइन भनेर सोध्यो ।’ उनले हुन्छ भनिन् । उनका श्रीमान त्यो समयमा हेटौँडा कपडा उद्योगको शाखामा काम गर्थे । उनी मालेको कर्मचारी फाँटमा काम गर्दा रहेछन् ।
विवाहको एक वर्षपछि छोरी जन्मिइन् । छोरा दुई वर्षको भएपछि बिते । उनको अहिले एक छोरी छन्, विजया राई । विवाह गर्दा नै एकले घरबार सम्हाल्ने एकले राजनीति गर्ने सहमति भएको थियो । त्यो सहमति अहिलेसम्म कायम छ ।
राजनीतिमा होमिएको समय
२०४६ सालमा बहुदल आयो । यसका लागि उनले आफूले सकेको सबै काम गरिन् । आन्दोलनमा सहभागी भइन्, पर्चा पम्प्लिेट टाँसिन् । उनको राजनीति दिन दुई गुना रात चार गुना बढ्न थाल्यो । उनी २०४४ सालमा नै पूर्णकालीन बनिन् ।
उनले राजनीतिलाई मुख्य पेसा बनाइन् । उनले क्याम्पस छोडेर राजनीतिमा होमिइन् । उनलाई बहुदलपछि पार्टीले म्याग्दी नै पठायो । धेरै लामो समयसम्म प्रतिबन्धित राजनीति पार्टीहरू खुल्ला भएपछि कार्यलय खोल्न म्याग्दी पुगिन् । उनका लागि यो खुल्ला राजनीति अरू नेताको भन्दा सहज नै थियो । उनी अनेमसङ्घ, शिक्षक सङ्घ, विद्यार्थी सबै राजनीति गरेको अनुभव थियो । उनलाई सहज भयो । उनले कार्यालयमा बसेर पार्टीको काम गरिन् ।
उनी अनेम सङ्घको महासचिव हुँदै अहिले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी छन् ।
हिजो उनले सिंहदरबारले जनताको पक्षमा काम गर्न नसक्दा राजनीति गरेकी थिइन् । सिंहदरबारले बोल्न मात्र होइन, विकासमा, अधिकारमा पनि रोक लगाएको थियो । त्यही भएर देशमा पटक पटक आन्दोलन भए । उनी पनि त्यही आन्दोलनको भेलमा मिसिएर यहाँसम्म आएकी हुन् ।
तर अहिले समय फेरिएको छ । उनको भूमिका फेरिएको छ । हिजो उनी अधिकार माग्ने, समस्या समाधान गर्नुपर्ने माग राख्ने ठाउँमा थिइन् । अहिले उनी अधिकार दिने, समस्या समाधान गर्ने ठाउँमा छिन् । उनको एउटा सही निर्णयले लाखौँ नागरिकका पक्षमा काम हुन्छ । उनको एउटा सही निर्णयले लाखाँै महिलाको पक्षमा काम हुन सक्छ । लाखौँ बालबालिकाको भविश्य उज्ज्वल हुन्छ ।
उनका योजनाहरू धेरे छन् । उनको मन्त्रालयले १, २, ५ र ७ नं प्रदेशमा महिला हिंसा अन्त्यका लागि काम गरिरहेको छ ।
पछिल्लो समय बढ्दै गरेका महिला हिंसाका कारण उनी चिन्तित छिन् । यसको अन्त्यका लागि प्रभावकारी कानुन बनाउने तयारीमा जुटेकी छन् । यसका लागि स्थानीय तहबाट नै काम हुनुपर्नेमा उनको जोड रहेको छ । अपराधीहरूलाई कारबाहीका लागि स्थानीय तहसँग मिलेर कानुन बनाउन छलफलमा जुटेकी छन् ।
कानुनमा भएका अपुगतालाई सहज बनाउने अथवा कानुन संशोधनको तयारीमा छन् । कतिपय कानुनहरू नयाँ बनाउने तयारीमा छन् ।
उनको चाहना त अब कोही पनि महिला हिंसामा नपरून् । कोही बालबालिकाले बालम श्रम गर्न नपरोस् । कोही पनि वृद्धाहरूले असाहय भएर बाँच्नु नपारोस् । तर अहिले पनि समाजमा धेरै समस्या छन् । सबै कुराको समाधान हुन समय लाग्ने बताउँछिन् उनी । उनी भन्छिन्– ‘समाजमा महिलाका, बालबालिकाका र वृद्धवृद्धाका धेरै समस्या छन् । यसलाई सही ठाउँमा ल्याउन समय त लाग्छ नै । मैले सबै समस्या समाधानका लागि यो पाँच वर्षमा काम गर्ने छु ।’ उनको काम गर्ने चाहनाले ठाउँ पाएको छ । अब कति काम गर्ने छिन्, त्यसलाई समयले नै बताउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा