शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

अविरल वर्षा र बाढीले रौतहटमा बागमती र बाकैयाको तटबन्ध भत्कियो

शनिबार, १२ असोज २०८१, १७ : ४८
शनिबार, १२ असोज २०८१

रौतहट । पछिल्लो तीन दिन देखि अविरल वर्षाको कारण आएको बाढीले रौतहटको पूर्वीभेग स्थित बागमती र पश्चिममा पर्ने लालबकैया नदीको तटबन्ध कैयौँ ठाउँमा भत्किएको छ। 

वृन्दावन नगरपालिका १ बलेरी खोर गाउँ छेउ बागमती नदीको बगरमा केही परिवार टहरा बनाएर लामो समयदेखि बस्दै आएका छन् । आज दिउँसो अचानक आएको ठुलो बाढीले ६० जना दुईतर्फबाट पानीले घेरिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सो मध्ये १६ जनाको सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।

त्यस्तै गढीमाई नगरपालिका १ लक्ष्मीपुरस्थित बागमती नदीको तटबन्ध फुटेको छ। सेना प्रहरीको संयुक्त टोली र स्थानीयले मर्मतको प्रयास जारी राखेको डिएसपी कार्कीले जानकारी दिएका छन्।

उता पश्चिम स्थित स्थानीय कटहरिया नगरपालिका ४ हर्साहा गाउँ र वडा ३ झौवा गाउँ बिच करिब ५० मिटर तटबन्ध फुटेको छ। बाँध फुटेर ठुलो पानी नदीको पानी गाउँ तर्फ गइरहेको स्थानीय वाल्मीकि यादवले बताएका छन्। 

त्यसैगरी हर्साहा गाउँ छेउमा पनि तटबन्ध टुट्ने अवस्थामा पुगेको छ। स्थानीयले बोरामा माटो राखेर मर्मत गरिरहेका छन्। तटबन्ध भत्किएका हर्साहा गाउँ डुबान हुने भएकाले गाउँ बासीलाई सुरक्षित स्थानमा बस्न वडा ४ का अध्यक्ष चन्दन कुशवाहाले आग्रह गरेका छन्। 

तटबन्ध निरीक्षण गर्न गएको इलाका प्रहरी कार्यालय कटहरियाको गाडी पानीको बहाव बढेपछि त्यहीँ अड्केको छ। मौलापुर १ मर्यादपुर गाउँछेउ र देवाही गोनाही ४ स्थित तटबन्ध बाट ओभरफ्लो भइरहेको छ। 

त्यस्तै लालबकैया नदीमा आएको बाढीले मौलापुरस्थित पुलको पश्चिम तर्फको बाटो भासिएको छ। पुल छेउको बाटो भासिएको कारण जयनगर , मौलापुर, कलैया , वीरगन्ज सम्म जाने उक्त सहज बाटो भएर ठुलो गाडी जान नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर प्रवेश कार्कीले बताएका छन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाली सेनाका कर्णेल किशोर अधिकारी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी विक्रम हुमागाईँ, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंहको टोलीले शनिबार बागमती नदी र पश्चिममा लालबकैया नदीको तटबन्धको स्थलगत निरीक्षण गरेको छ।

प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार बलेरी गाउँ छेउ बागमती नदीमा फसेका ४४ जनाको उद्धारका लागि प्रयास जारी छ। पानी कम हुनासाथ बोटको माध्यमले उद्धार गरिने छ। त्यस्तै बागमती नदी र लालबकैया नदीको कैयौँ स्थानमा तटबन्धमा क्षति तथा कैयौँ स्थानमा ओभरफ्लो भइरहेको छ। हालसम्म कुनै मानवीय तथा भौतिक क्षति नभएको प्रजिअ रेग्मीले जानकारी दिएका छन्।

जिल्ला स्थित चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदी खोलामा पनि पानीको स्तर बढ्दै गएको छ। नागरिकलाई सुरक्षित स्थानमा रहन सुरक्षाकर्मीले ठाउँ ठाउँमा माईकिङ गर्दै छ। त्यस्तै बाढी र डुबान कटानको जोखिम बाट जोगाउन जिल्लाको चन्द्रपुर, परोहा नगरपालिका लगायत कैयौँ स्थानमा ठुलो सङ्ख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको रेग्मीले बताएका छन्। 

रेग्मीले अविरल वर्षाका र बाढीको कारण जिल्लाको ६ वटा पालिका रेड जोनमा रहेको बताए। जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिका, दुर्गाभगवत गाउँपालिका, बौधिमाई, मौलापुर, राजपुर र  कटहरिया नगरपालिका रेड जोनमा रहेको उनले जानकारी दिएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप