शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१७ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

शनिबार, १२ असोज २०८१, १७ : १५
शनिबार, १२ असोज २०८१

काठमाडौँ । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।

भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषि सिंह र हेम्नेइचुंगले एक एक गोल थपेका थिए । नेपालमा कप्तान सुवास बमले एक गोल फर्काउँदा एक गोल उपहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१ औँ मिनेटमा पहिलो गोल बेहोरेको थियो ।

दायाँतर्फबाट आएको क्रसमा भारतका सुमित शर्माले हेडर गरेका थिए । नेपाली गोलरक्षक पेम्बा नोर्वुले बल बचाउन सफल भए पनि सम्हाल्न सकेनन् र भिजल यादवले गोलरक्षकको खुट्टाबिचबाट बललाई गोलपोष्टमा पठाए ।

केही समयपछि पुनः भिजल यादवले ६८ औँ मिनेटमा फ्रीकिकबाट आएको बललाई सुमितले हेडमार्फत प्रहार गरेपछि नेपाली गोलरक्षकले पुनः बचाउने प्रयास गरे पनि भिजलले रिबाउन्डमा दोस्रो गोल थपेका थिए ।

नेपालले खेलमा फर्कने प्रयास गर्दै ८३औँ मिनेटमा सुवास बमको गोलमार्फत टोलीलाई आशा जगायो । टिम मूभबाट आएको यो गोलले नेपाललाई खेलमा फर्कने सम्भावना कायमै राखेको थियो ।

तर, भारतका नरेश सिंह (एनरिषी सिंह)ले ८५ औँ मिनेटमा गोल गर्दै अग्रता ३–१ बनाएका थिए । नेपाली टोलीले ८९ औँ मिनेटमा भारतबाट एक गोल उपहार पायो । भारतका मोहमद क्याफले आफ्नै पोस्टमा गोल गरेपछि नेपालको अग्रता ३–२ भएको थियो ।

खेलको इन्जुरी टाइमको पनि अन्तिमतिर भारतका हेम्नेइचुंगले टिमका लागि चौथो गोल थप्दै अन्ततः खेलको नतिजा ४–२ ले आफ्नो पक्षमा पारे । भारतले अव उपाधिका लागि पाकिस्तान र बंगलादेशको विजेतासँग सोमबार खेल्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप