शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारको आकस्मिक बैठक बस्दै, मन्त्री खोज्दै मुख्यमन्त्री लामा

शनिबार, १२ असोज २०८१, १६ : २९
शनिबार, १२ असोज २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । काठमाडौँमा बस्नेगरी मुख्यमन्त्री लामाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद् बैठक बस्न नुवाकोटमा रहेका मुख्यमन्त्री लामा काठमाडौँ हिँडेका छन् । उनले सबै मन्त्रीहरूलाई साँझको मन्त्रिपरिषद् बैठकबारे जानकारी गराइसकेका छन् । मन्त्रिपरिषद् बैठकका लागि मुख्यमन्त्री लामा मन्त्रीहरू खोज्न लागि परेका छन् ।

केही मन्त्रीहरू विभिन्न कार्यक्रममा राजधानी बाहिर रहेको र विपद्का कारण बाटोमा नै अड्किएकाले उनीहरूसँग सम्पर्कको प्रयत्न भइरहेको मुख्यमन्त्री लामाले बताए । मन्त्रीहरूसँग सम्पर्क गरिसके लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने उनको भनाई छ । भौतिक रूपमा उपस्थित हुन नसक्ने मन्त्रीहरूलाई प्रविधिको माध्यमबाट बैठकमा जोड्ने तयारी भएको मुख्यमन्त्री लामाले बताए ।

‘केही बेरमा मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ । मन्त्रीहरूसँग सम्पर्क गर्न खोजिरहेको छु । केही मन्त्री जिल्ला/जिल्ला पुग्नुभएको छ । उहाँहरूलाई सूचना पठाइसकेको छु । सम्भव हुनेलाई भौतिक रूपमा सहभागी गराउने र बाहिर हुने मन्त्रीहरूलाई प्रविधि मार्फत जुम मिटिङमा जोड्ने तयारी छ’ उनले भने, ‘आन्तरिक मामिला तथा कानुन मन्त्री दुम्जामा सडक बन्द भएर राेकीनुभएको छ । आर्थिक मामिला तथा योजना मन्त्री हेटौँडा नै हुनहुन्छ । उहाँहरूलाई त्यतै रहन भनेको छु । म पनि नुवाकोटमा छु । एक घण्टामा काठमाडौँ पुग्छु । काठमाडौँमा रहेका मन्त्रीहरूलाई उपस्थित हुन सम्पर्क गरिरहेको छु ।’

बागमती प्रदेशले विपद्का कारण धेरै क्षति व्यहोरेकाले नागरिकलाई सम्बोधन गर्ने गरी मन्त्रिपरिषद् बैठक तय गरेको मुख्यमन्त्री लामाले बताए । विपद्को समयमा नागरिकको राहत, उद्धार, व्यवस्थापनका बारेमा छलफल गरी निर्णय गर्न बैठक बस्ने तयारी गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप