शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक प्रकोप

१० घण्टामा ५ मिटर घट्यो कुलेखानी, २ वटै ढोका २ मिटर खुल्ला

३ वटै विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन
शनिबार, १२ असोज २०८१, १६ : १८
शनिबार, १२ असोज २०८१

काठमाडौँ । निरन्तरको वर्षापछि भरिएको कुलेखानी जलाशय ५ मिटर घटाएको छ । विद्युत् उत्पादन र बाँधका २ वटा ढोका खोलेर कुलेखानी जलाशय ५ मिटर घटाइएको हो । हाल कुलेखानी जलाशयमा पानीको सतह १ हजार ५२७.६० मापन गरिएको छ ।

बिहान ५ बजेको समयमा  कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएको थियो । उक्त समयमा जलाशयमा पानीको सतह १ हजार ५३१ मिटर मापन गरिएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका अनुसार १० घण्टामा ५ मिटर पानी घटाइएको छ ।

हाल जलाशयको बाँधको २ वटै ढोका खुल्ला गरिएको छ । बाँधका २ वटा ढोका २ मिटर खुल्ला गरेर पानीको सतह सन्तुलनमा राखिएको उनको भनाई छ । ३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ ।

शुक्रवार दिनभरको वर्षाले कुलेखानी भरिने चरणमा पुगेको थियो । शुक्रवार ५ बजेसम्ममा पानीको सतह १ हजार ५२५ मिटर मापन गरिएको कुलेखानीमा शनिवार बिहान जलाशय भरिएर ओभर फ्लो भएको थियो ।

‘अहिले कुलेखानीको जलसतह स्थिर रहेको छ । जलाधारबाट पानी सङ्कलन भएको अनुपातमा नै बाहिर पठाइएको छ । बाँधका ढोका २ मिटर खुल्ला गरिएको छ’ उनले भने, ‘कुलेखानीको जलाधार क्षेत्रमा पानी परिनै रहेकाले जलाशयमा पानीको सतह बढ्ने भएकाले ढोका खुल्ला नै गरिएको हो । वर्षा भइरहेकाले पनि जलाशयमा पानी थप जम्मा गर्ने अवस्था छैन ।’

३ वटै विद्युतगृह पूर्ण क्षमतामा सञ्चालन

कुलेखानीको जलसतह घटाउन ३ वटै विद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । जलाशयमा पानीको मात्र बढ्दै गएपछि शुक्रवार साँझबाट विद्युत् उत्पादन थालिएको थियो ।

आयोजना प्रमुख भट्टका अनुसार कुलेखानी जलाशयको पानीबाट पूर्ण क्षमतामा सञ्चालन गरिएको छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन हुने उनले बताए । तीन वटै आयोजनाहरू पूर्ण क्षमतामा निरन्तर सञ्चालनमा रहेको उनले बताए ।

मुलुकमा मागभन्दा कम विद्युत् उत्पादन भएका बखत मात्र सो आयोजना सञ्चालन गरिन्छ । यसपटकको वर्षाका कारण बाँध भरिएर जोखिम बढेपछि विद्युत् उत्पादन नियमित गरिएको हो । ४ दिन अघि ७०० मेगावाट विद्युत् उत्पादन गरिएको कुलेखानीबाट जोखिम घटाउन कुलेखानी पहिलो आयोजना सञ्चालनमा ल्याएको उनले बताए । जलाशयमा सङ्कलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप