शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कालीगण्डकी करिडोर अवरुद्ध

शनिबार, १२ असोज २०८१, १४ : ४५
शनिबार, १२ असोज २०८१

गुल्मी । पहिरोले गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका–११ अन्तर्गत उर्लेनी, गुल्मीदरबार गाउँपालिका– ४ अन्तर्गत वीरवास र छत्रकोट गाउँपालिका–३ अन्तर्गत लुम्छामा सडक पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध बनेको हो । 

त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित  डहरेखोलामा पानीको बहाव बढेको र चन्द्रकोट गाउँपालिका–८ अन्तर्गत मजुवा बजार नजिकै बाघ खोलामा पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि उक्त सडक अवरुद्ध बनेको छ । 
बिहीबारदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मी सडकखण्ड अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकी –४ अन्तर्गत पुर्तिघाटमा पहिरो खसेपछि गए रातिदेखि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घास, वामीटक्सार र कालीगण्डकीको पुर्तिघाटदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन् । सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । सडक सञ्चालन गर्न स्थानीय पालिका र प्रशासनद्वारा पहल भइरहे पनि वर्षा भइरहेको कारण सडक सञ्चालन गर्न पहल भइरहे पनि पहिराको जोखिमका कारण सडक सञ्चालन गर्न समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

लगातारको अविरल वर्षाका कारण ग्रामीण क्षेत्रबाट सदरमुकाम तम्घास आवतजावत गर्ने सडक अवरुद्ध बनेका छन् । लगातारको वर्षाका कारण जोखिम बढ्न सक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले खोलाको तटीय क्षेत्र र पहिरो ग्रस्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेको छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप