शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

ग्यास बुलेट पुलमुनिबाट निस्केपछि राहत

शनिबार, १२ असोज २०८१, १३ : ५३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । बाढी बगाएर ल्याएर च्यासलस्थित पुलमा अड्किएको ग्यास बुलेट त्यहाँबाट निस्केको छ । अहिले ग्यास बुलेट पुलमाथि गएर अड्किएको हो ।

पुलमुनि ग्यास बुलेट अड्किएपछि पानीको बहाव नै रोकिएको थियो । पुलमुनि अड्किएको कारण त्यस वरपर स्थानीयको घरघरमा पानी पसेको थियो । ग्यास बुलेट पुलमाथि गएर अड्किएपछि घरमा पसेको पानी निस्कन थालेको छ। त्यस वरपर अझै ग्यास भने गन्हाइरहेको छ ।

च्यासलको पुल होचो छ । नदीमा अलिकति पानी आएपछि फोहोर थुप्रिने गरेको दोभानमा किराना पसल गर्दै आएका मनोज खतिवडाले बताए । उनले भने, ‘पुल होचो नभएको भए बुलेट बगेर जान्थ्यो, पानी पनि निकास हुन्थ्यो तर ग्यास बुलेट पुलमुनिबाट निस्कन सकेन । कतिबेला त्यो पड्किन्छ भन्ने त्रास पनि छ । ग्यास अझै गन्हाइ रहेको छ ।’

दोभानमै सैलुन गरेर बसेका सञ्जय ठाकुरले भने, ‘बालेनले २० मिटर वरपरको घर हटाउने भनी गरेको निर्णय ठिक थियो भने पुष्टि भएको छ । नदी वरपरको घर हटायो भने निकासमा समस्या हुने छैन । आज त्यस वरपर रहेका सबै पसलमा पानी पसेको व्यापार चौपट भएको छ । लाखौँको धनजनको क्षति भएको छ । यसको जिम्मेवारी कसले लिने ?’

नेपाल आयल निगमका अनुसार पुलमा अड्किएको बुलेटमा ६ मेट्रिकटन ग्यास रहेको बताइएको छ । निर्देशक मनोज ठाकुरका अनुसार सामान्यतया बुलेटमा पूरा ग्यास हुँदा १८ देखि २० मेट्रिकटन तौल हुन्छ।

उक्त बुलेट पशुपति अटो नामक कम्पनीको हो । यसले ग्यासबाट चल्ने गाडीहरूमा रिफ्युलिङको काम गर्दै आएको थियो । अविरल वर्षाले प्लान्ट नै बगाएपछि बुलेट समेत बगेको पाइएको नेपाल एलपी ग्यास संघका अध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप