शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलेपछि पश्चिम तटबन्ध जोखिममा

शनिबार, १२ असोज २०८१, १३ : ०५
शनिबार, १२ असोज २०८१

विराटनगर । सप्तकोशी नदीको पानीको बहाव बढ्दै जाँदा जोखिम पनि बढ्दै गएको छ । आज दिउँसोको मापन अनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ७ हजार ६ सय ९५ क्युसेक मापन गरिएको छ । पानीको बहाव उच्च भएपछि सप्तकोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।

पानीको सतह र बहाव बढेपछि ब्यारेजको दुवैतर्फ रातो बत्ती बालेर खतराको संकेत दिइएको छ । आज बिहान साढे ८ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ४ लाख १८ हजार २ सय ८५ क्युसेक प्रतिसेकेन्ड थियो भने बिहान ७ बजे ३ लाख ८१ हजार ८ सय १० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो । पानीको बहाव तीव्र गतिमा बढिरहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

पानीको बहाव बढेसँगै पूर्वी र पश्चिमी तटीय क्षेत्र आसपासका बासिन्दाहरू त्रसित छन् । भारतीय पक्षले ७ लाख क्युसेक बहाव पुग्ने अनुमान गर्दै सतर्क रहन आफ्ना जनतालाई सूचित गरेको छ । बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी गर्दै शनिबार मध्याह्न १२ बजेसम्म वीरपुरस्थित कोशी ब्यारेजमा ६ लाख ८१ हजार क्युसेक जलप्रवाह हुने अनुमान गरेको हो । यदि विभागले जारी गरे अनुरूपकै स्थितिको जल सतह पुगेमा त्यसले नसोचेको ठुलो क्षति निम्त्याउने खतरा हुने बताइएको छ । 

बिहारले आफ्ना जिल्ला प्रशासनहरूलाई पनि सतर्क रहन र आवश्यक सावधानीका उपाय अपनाउन निर्देशन दिएको छ । विशेषगरी, तटबन्धनजिक बसोबास गर्ने नागरिकहरूलाई सूचित गर्न र उचित कदम चाल्न भनिएको छ । साथै, बाढी प्रभावित क्षेत्रहरूमा नियमित गस्ती गर्न पनि निर्देशन दिइएको छ । यस्तै ५६ वटै ढोका खोलिएपछि नेपालको पश्चिम तटबन्ध कटान हुने जोखिम बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप