शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकाबाट साढे सात सय जनाको सकुशल उद्धार : गृहमन्त्री

शनिबार, १२ असोज २०८१, १२ : ५८
शनिबार, १२ असोज २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखक निरन्तरको वर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरूको उद्धार, राहत तथा घाइतेहरूको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री लेखकले वर्षा, बाढी, पहिरो र डुबानबाट काठमाडौँ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्धार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्धार गरेको जानकारी दिए ।

‘दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘मुलुकमा ठुलो विपद्को स्थिति आएको छ ।’

उनले बैठकले मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना सङ्कलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए ।

‘ठुलो जनधनको क्षति भएको छ, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु,’ उनले भने, ‘उद्धार, राहत लगायतका विषयमा सरकार सक्रिय भएर अघि बढिसकेको छ ।’

वर्षाका कारण काठमाडौँ भित्रने सडकहरू अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।

अवस्था सामान्य हुँदै गएपछि विस्थापितलाई पुनर्स्थापनाका लागि सरकारले पहल गर्ने मन्त्री लेखकको भनाई थियो । उनले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’ २४ सै घण्टा सक्रिय बनाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप