शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, सतर्कता अपनाउनु होस् : कार्यवाहक प्रधानमन्त्री सिंह

शनिबार, १२ असोज २०८१, १२ : ५३
शनिबार, १२ असोज २०८१

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताएका छन् । बिहीबारदेखि अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठुलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको बताएका हुन् । 

सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठुलो क्षतिहरू भएको र ठाउँठाउँमा पहिरो, बाढी आइरहेको भन्दै सतर्क रहन आग्रह गरे । उनले सरकारले मोबाइलमा उच्च जोखिम रहेका क्षेत्रका बासिन्दाहरूका लागि सूचना सम्प्रेषण गर्नुका साथै सञ्चारमाध्यमबाट पनि सूचना जारी गरेको जानकारी दिए । 

उनले सडक सञ्जाल, पुलहरू बाढीले बगाएको र पहिरोका कारण सडक भासिएको हुनसक्ने भन्दै लामो यात्रा नगर्न र धैर्य धारण गरी सुरक्षित स्थानमा रहन आम नागरिकहरूसँग आग्रह गरे । उनले भने, ‘अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठुलो क्षतिहरू ठाउँठाउँमा पहिरोदेखि लिएर बाटोको कटान भएका कारणले र पानीको बहाव अनियन्त्रित रूपमा बढेको कारणले गर्दा अवस्था वर्षातको कारणले नाजुक छ । हामी सबै त्यसमा अलर्ट हुनुपर्ने अवस्थामा छ । अहिले खास गरी नेपाल सरकारको तर्फबाट सबै निकायहरूलाई परिचालित गरेर समय समयमा सामाजिक सञ्जालको मार्फत, सञ्चारमाध्यमको मार्फत सबै ठाउँमा त्यहाँको स्थानीय अवस्थाको बारेमा जानकारी गराउने र अलर्ट हुनुपर्नेलाई सजग हुनुपर्छ भनेर सूचना जारी गरिरहेको छ ।’

उनले थपे, ‘वर्षातले गर्दा जनधनको क्षति भएको छ । त्यसमा खास गरी यो अवस्थाबाट विपद् व्यवस्थापन समितिले सबैलाई अलर्ट गराउने र त्यसमा पनि सुरक्षा निकायलाई मात्रै होइन, स्थानीय तहबाट पनि र हरेक प्रदेश सरकारले मिलेर अहिलेको वर्षातको कारणले गर्दा जुन समस्या उत्पन्न भएको छ त्यसको समाधान गर्न सबै मिलेर गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्यूसँग टेलिफोनमा वार्ता भइरहेको छ । यहाँको बारेमा अवस्थाको बारेमा जानकार हुनुहुन्छ । सम्बन्धित निकायलाई गृहमन्त्रीदेखि लिएर योसँग सम्बन्धित मन्त्रालय र मन्त्रीलाई बोलाएर कुरा गरेर जनतालाई बढी जनधनको क्षति हुन नदिने काममा आवश्यक काम अघि बढाइरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप