शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
विश्व रेबिजविरुद्धको दिवस

आज विश्व रेबिजविरुद्धको दिवस : नेपालमा वार्षिक करिब ७० हजार कुकुरले टोकेका बिरामी

शनिबार, १२ असोज २०८१, ०५ : ००
शनिबार, १२ असोज २०८१

काठमाडौँ । आज विश्व रेबिजविरुद्धको दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ । 

यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ । फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए। पशु सेवा विभागले रेबिज दिवसमा विशेष सचेतनामूलक कार्यक्रम गर्न भन्दै ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ । 'अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ' भन्ने नारासहित यो वर्ष रेबिज रोगविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको विभागले जनाएको छ । 

विभागका अनुसार स्थानीय तहहरूले असोज ६ देखि १२ सम्मलाई सप्ताहव्यापीरुपमा रेबिजविरुद्धको सचेतना फैलाउने कार्यक्रमहरू गर्न पत्राचार गरिएको छ । ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको  दिवसको रुपमा मनाउन थालेको थियो । कालान्तरमा विश्व स्वास्थ्य सङ्गठनले यस दिवसलाई समर्थन गरेको हो । 

नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउँछन् । अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वार्षिक ७५ हजार हाराहारी मानिसहरू कुकुर टोकाइबाट पीडित भएर अस्पताल पुग्ने गरेका छन् । 

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । रेबिजबाट बच्नको लागि सम्भावित जोखिम पछि तुरुन्तै खोप लगाउनु आवश्यक हुन्छ । रेबिजको सङ्क्रमणको लक्षण ज्वरो र टाउकोबाट सुरु हुन्छ र प्रकाश, पानी र हावादेखि डर लाग्ने हुन्छ ।

 यसले पक्षघात र अन्ततः कोमामा समेत पुग्ने जोखिम हुन्छ । कुकुर वा बिरालोजस्ता जङ्गली जनावर वा घरपालुवा जनावरलाई छुँदा वा खुवाउँदा धेरै सावधानी अपनाउन चिकित्सकको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप