शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
जलवायु

बागमती र सुनकोशीसहित सात नदीले खतराको तह पार गरे, बाढीको उच्च जोखिम

शनिबार, १२ असोज २०८१, ०२ : १६
शनिबार, १२ असोज २०८१

काठमाडौँ । शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण बागमती, अरुण, दुधकोशी र सुनकोशीसहित सात नदीहरुले खतराको तह पार गरेका छन् ।

बागमती र सुनकोशी नदी खतराको स्तरभन्दा माथिबाट बगिरहेका छन् भने पानी बढ्नेक्रम रोकिएको छैन । शनिबार राति साढे १२ बजे सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले मुख्य यी सात नदी र यी नदीका सहायक नदीहरूमा पानीले जलसतह पार गरेको र बाढीको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

'वर्षाका कारण अरुण, दुधकोसी, सुनकोशी, बागमती, नारायणी, तिनाउ, बाणगंगा र तिनका सहायक नदीहरूमा पानीले जलसतह पार गरेको छ । यी सबै नदीहरूले लगभग चेतावीस्तर पार गरिसकेका छन् । र धेरै नदीहरू खतराको स्तरको नजिक छन्,' महाशाखाले भनेको छ, 'सुनकोशी र बागमती नदीमा खतरा स्तरभन्दा माथिबाट पानी बगिरहेको छ र यो अझै बढ्दोक्रममा छ ।'

त्यस्तै, अरुण, दुधकोसी, नारायणी, तिनाउ र बाणगंगा नदीहरूमा सतर्कताको थ्रेसहोल्ड पार गरिसकेका छन् । जलसतह वृद्धि भइरहेको छ ।

महाशाखाले बाढीको जोखिम क्षेत्रमा रहेका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण हुन र सतर्क भएर बस्न आग्रह गरेको छ । त्यस्तै, अनावश्यक यात्रा नगर्न, होचो भूभागमा भए सुरक्षित र उचाइमा रहेको स्थानमा स्थानान्तरण हुन तथा बाढीका सूचनाहरुबारे अपडेट रहन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप