शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

नेपाललाई भारतको ४७ करोड अनुदान, १२ सामुदायिक विकाससम्बन्धित योजनाका लागि हस्ताक्षर

शनिबार, १२ असोज २०८१, ०१ : १५
शनिबार, १२ असोज २०८१

काठमाडौँ । भारत सरकारको अनुदान सहायताअन्तर्गत नेपालका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

भारत सरकारको कुल अनुमानित लागत ४७ दशमलव ४ करोड अनुदान सहायताअन्तर्गत निर्माण हुने उक्त परियोजनालाई अघि बढाउन भारतीय राजदूतावास, काठमाडौँ, नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 

यी १२ परियोजनामा ओखलढुंगाको सिद्घिचरण नगरपालिकास्थित राज्यलक्ष्मी माध्यमिक विद्यालय, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित स्वर्णन्तरल आधारभूत विद्यालय, भोजपुरको अरुण गाउँपालिकास्थित अरुण बहुउद्देश्यीय प्रतिष्ठानको भवन र दैलेखको दुल्लू नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बहुउद्देश्यीय भवनको विद्यालय भवनको निर्माण रहेका छन् । 

त्यस्तै, सप्तरीको सुरुङ्गा नगरपालिकास्थित जनता माध्यमिक विद्यालय, मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित पञ्चायत माध्यमिक विद्यालय, चितवनको रत्ननगर नगरपालिकास्थित बछौली माध्यमिक विद्यालयको भवन निर्माण, सोलुखुम्बुको सोताङ गाउँपालिकामा बसेपु–हुलु खानेपानी आयोजनाको भवन निर्माण, सुनसरीको इनरुवा नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयको भवनको निर्माण, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्यान्न संकलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्घन केन्द्रका लागि भवन निर्माण, धादिङको खनियाबास गाउँपालिकामा स्वास्थ्य चौकी–प्रसूति केन्द्रको निर्माण र दाङको तुलसीपुर उप–महानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेसन थिएटर भवनको निर्माण रहेका छन् । 

यी परियोजनाहरू नेपाल सरकारका स्थानीय निकायहरू जस्तै महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमार्फत कार्यान्वयन गरिने भारतीय दूतावासले जनाएको छ । यी परियोजनाहरू निर्माण भएपछि स्थानीय समुदायलाई राम्रो शैक्षिक, स्वास्थ्य सेवा, खानेपानी, कृषि उपज भण्डारण र सांस्कृतिक सुविधाहरू उपलब्ध गराउन मद्दत गर्नेछ । 

सन् २००३ यता भारतले नेपालमा शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएका १२ वटा परियोजनासहित ५६३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाएको छ र भुइँतहमा नेपालका सातवटै प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल, रिभर ट्रेनिङ, खानेपानी, विद्युतीकरण, सिँचाइ, संस्कृति, समाज कल्याण र अन्य सार्वजनिक संरचनाको निर्माणजस्ता क्षेत्रमा ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । बाँकी अन्य परियोजनाहरू विभिन्न चरणमा सञ्चालित छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप