शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

पोखरामा प्याराग्लाइडिङको शुल्क तोकियो, साढे ७ हजारदेखि साढे १२ हजारसम्म लाग्ने

शुक्रबार, ११ असोज २०८१, २२ : ०६
शुक्रबार, ११ असोज २०८१

पोखरा । पोखराको आकाशमा उड्ने प्याराग्लाइडिङको शुल्क निर्धारण गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) ले नयाँ शुल्क निर्धारण गरेको हो । उडानको समय हेरेर शुल्क तिर्नुपर्ने भएको छ । १५ देखि ३० मिनेटसम्म संस्थागत मूल्य ७ हजार ५०० र अधिकतम बजार मूल्य ८ हजार ५०० रुपैयाँ तोकिएको छ भने ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार २५० र अधिकतम मूल्य १२ हजार ७५० रुपैयाँ तोकिएको हो । 

यसअघि सामान्य उडानको १२ हजार र क्रस कन्ट्री फ्लाइटको १८ हजार रुपैयाँ शुल्क तोकिएको थियो । ‘एक घण्टा भनेको क्रस कन्ट्री हो । यो सधैँ उडान हुँदैन । मौसम लगायत धेरै कुरा जोडिन्छ,’ नाका अध्यक्ष अनिल केसीले भने, ‘८ महिना अघिको भन्दा अहिले तोकिएको शुल्क निकै कम छ । त्यो बेला १२ हजार घटाएर अहिले अधिकतम ८ हजार तोकिएको छ ।’ 

अहिले तोकिएको दर अक्टोबर १ देखि लागू हुने उनले जानकारी दिए । सिन्डिकेट गरिएको आरोप लागेपछि शुल्क निर्धारण हट्यो । व्यवसायीले ३५ सयमै प्याराग्लाइडिङ उडाउन थाले । यसले अस्वस्थ प्रतिस्पर्धा बढ्ने र पर्यटन क्षेत्रमै नकारात्मक असर परेको केसीको भनाई छ ।

‘कस्टोमर तान्न शुल्क घटाउने तर सेफ्टीतिर खासै ध्यान नजाने भयो । सानो लापरबाहीले पनि ठुलो क्षति हुन सक्छ,’ उनी अघि भन्छन्, ‘विदेशबाट सामान ल्याउनपर्छ, महँगो छ । सबै कुरालाई हेरेर व्यवसायीको समिति र पाइलट बसेर शुल्क निर्धारण गर्नुभयो । यसलाई नाले पनि स्वीकार गरेर जान्छ ।’ 

यसअघि पाइलट र कम्पनीबिच विवाद हुँदा शुल्क  आफूखुसी लिने गरिएको थियो । केही व्यवसायीहरूले नाले शुल्क तोक्दा सिन्डिकेट भएको भन्दै कम्पनीले आफूखुसी मूल्य कायम गरेर यात्रु तान्न पाउनुपर्ने माग राखेका थिए । विवाद भएपछि नाले पनि सीमित शुल्क हटाएको थियो । 

नेपाल हवाई खेलकुद संस्थाको प्याराग्लाइडिङ व्यवसायी उपसमिति र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको संयुक्त बैठकले शुल्क निर्धारण गरेको उनले जानकारी दिए । यस्तै, पाइलटको पारिश्रमिक पनि बढाइएको छ । यो निर्णयसँगै पाइलटले प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत पाउने गरी भागवण्डा मिलाइएको छ । पोखरामा हाल ७४ वटा प्याराग्लाइडिङ कम्पनी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप