शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, ११ असोज २०८१, २१ : ५०
शुक्रबार, ११ असोज २०८१

आज मिति २०८१ साल असोज महिनाको ११ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. अविरल वर्षा

बितेको २४ घण्टामा सबैभन्दा धरै वर्षा झापाको चन्दगढीमा भएको छ । चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विभागको मापन केन्द्रका अनुसार त्यहाँ ३०२ मिलिमिटर वर्षा भएको छ ।

बिहीबारदेखि देशव्यापी निरन्तर वर्षा भइरहेको र कोशीदेखि कर्णाली प्रदेशसम्म धेरै तथा अति धेरै वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले रातोपाटीलाई जानकारी दिइन् । यद्यपि कर्णाली प्रदेशमा भने धेरै वर्षा नभएको कँडेलले जानकारी दिइन् ।

वर्षाका कारण हवाइ सेवा पनि प्रभावित भए ।

२. रेशम–रञ्जिताको राजनीतिक मिलन

श्रीमान्–श्रीमतीको झगडालाई ‘परालको आगो’जस्तै भनिन्छ । परालमा लागेको आगो दिगो हुँदैन । त्यसैले श्रीमान्–श्रीमतीको झगडा पनि क्षणिक हुन्छ भन्ने गरिन्छ । यो सामाजिक उक्तिलाई रेशम चौधरी र रञ्जिता चौधरीले पनि एक हदसम्म सही साबित गरिदिएका छन् ।

जेलमा रहँदा नै रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरे । उनले आफ्नै पत्नी रञ्जिता श्रेष्ठलाई सो पार्टीको अध्यक्ष बनाएका थिए ।

रेशम जब जेलबाट बाहिर निस्किए, पार्टीको नेतृत्वलाई लिएर रञ्जिता र उनीबिच खटपट सुरु हुन थाल्यो । पार्टीको पहिलो महाधिवेशनबाट रेशम अध्यक्ष चुनिए तर निर्वाचन आयोगले मान्यता दिए । त्यसपछि रञ्जिताले अध्यक्षको जिम्मेवारी लिइन् ।

रेशम र रञ्जिताबिचको शक्ति संघर्षले पार्टी नै टुक्रिने अवस्थामा पुगेको थियो । तर झगडा सुरु भएको १० महिना नपुग्दै स्थिति साम्य भयो र दुवैबिच सहमति जुट्यो ।

३. प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिकामा छन् । संयुक्त राष्ट्र संघ (यूएन)को ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका गएका हुन् । भ्रमणका क्रममा ओलीले संयुक्त राष्ट्र संघको विभिन्न सत्रमा सहभागी हुनुका साथै उच्चस्तरीय साइडलाइन भेटवार्ता पनि गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर पाकिस्तानका प्रधानमन्त्री, चीनका विदेशमन्त्री लगायतसँग ओलीले भेटवार्ता गरे ।

यसैबीच ओलीले गएराति महासभालाई सम्बोधन गरेका छन् ।

४. सुन तस्करी प्रकरण

सर्वोच्च अदालतले करिब ६० किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्नेबारे अन्तिम फैसला सुनाएको छ। न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासले अधिकांश प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ।

 

५. न्यायाधीश सिफारिस

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको विरोध र चेतावनीकै बिचमा न्याय परिषद्ले सर्वोच्च अदालतका लागि दुई जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अघि पदपूर्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर उक्त प्रावधान उल्लङ्घन भइसकेको अवस्थामा बसेको परिषद्को बैठकले समेत रिक्त सबै पदका लागि सिफारिस भने गरेन ।

 

६. रास्वपा बैठक

सभापति रवि लामिछानेको सहकारी विवादको उल्झनमा फसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार बिहान साढे ११ बजेका लागि पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाइएको जानकारी दिए ।

७. सहकारी प्रकरण

प्राकृतिक व्यक्तिलाई मात्रै सदस्य बनाएर कारोबार गर्न पाउने व्यवस्था विपरीत करिब एक सय अप्राकृतिक व्यक्ति (कम्पनी तथा संस्थाहरू) ले समस्याग्रस्त अवस्थामा रहेका सहकारीको रकम अपचलन गरेको पाइएको छ ।

 सहकारी बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनमा १४ वटा सहकारीबाट ९६ वटा कम्पनीले अनधिकृत रुपमा करोडौँ रकम लिएको उल्लेख छ।  जसबाट प्रवाह भएको रकम मात्रै १७ अर्ब रुपैयाँ भन्दा धेरै देखिएको छ ।

८. पर्शुरामको मनोमानी

नेकपा एमाले मोरङका जिल्ला सदस्य सुशील रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘मोरङ, विराटनगर एमालेमा हुने गुण्डातन्त्र मुर्दावाद १, नगर कमिटी पनि हाइज्याक ।’

उनले लेखेको स्टाटसमा धेरैले कमेन्टमार्फत सहमति जनाएका देखिन्छन् । उनले त्यसरी स्टाटस लेख्नुको पछाडिको कारण थियो महाधिवेशनबाट छानिएको कमिटीलाई पन्छाउँदै एमालेको विराटनगर महानगरको नयाँ समिति चयन गरिनु ।

केही महिना अगाडि विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको नेकपा एमाले विराटनगर महानगर कमिटीको विवाद बढेपछि महाधिवेशनबाट निर्वाचित कमिटी विघटन गरिएको थियो । तत्कालीन महानगर अध्यक्ष सागर थापालाई मानगढ खानेपानीको निर्वाचनमा गुटबन्दी गरेको आरोप लगाउँदै एमालेले कारबाही गरेको थियो ।

प्रदेशका थप समाचार

९. कांग्रेसमा नयाँ नेतृत्वको बहस

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमै गर्ने हो भने २०८२ को मंसिरमा सम्पन्न हुन्छ । विधानलाई आधार बनाएर एक वर्ष समय थपे २०८३ मंसिरमा कुनै पनि हालतमा महाधिवेशन हुनै पर्छ । उक्त महाधिवेशनले कांग्रेसमा नयाँ नेतृत्व स्थापित गर्ने छ ।

वैधानिक बाध्यताका कारण पार्टीको १५औँ महाधिवेशनबाट सभापति शेरबहादुर देउवाको ‘पार्टी राजनीति’ अन्त्य हुँदैछ । देउवा आफैँले पनि आफ्नो ‘राजनीतिक रिटायरमेन्ट’लाई स्वीकार गरेका छन् ।

उनको अभिव्यक्तिले विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि सभापति बन्न उनी इच्छुक छैनन् भन्ने सुनिश्चितता गरेको विश्लेषण भइरहेको छ ।

१०. टिकट बुकिङ

दसैँ आउन अब दुई हप्ता मात्रै बाँकी छ । यातायात व्यवसायीहरूले भोलि (शनिबार)देखि दसैँको टिकट बुकिङ गर्ने भएका छन् ।

यसैबिच हवाई यात्राका लागि धेरै यात्रुले भने टिकट बुक गरिसकेका छन् ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप