शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुनर्गठनको शृङ्खलामा नेपाली राजनीति

शुक्रबार, ११ असोज २०८१, १९ : ०६
शुक्रबार, ११ असोज २०८१

गठन, विघटन र पुनर्गठन एक अविच्छिन्न प्रक्रिया हो, जो प्रकृति र मानव जीवनको हर क्षेत्रमा केही विशिष्टताका साथ तर समान रूपले लागु हुन्छ । सामान्यतः प्रत्येक गठन आफैँमा पुनर्गठन हो र प्रत्येक पुनर्गठन एउटा नयाँ गठन पनि । पुरानो नयाँमा रूपान्तरित हुनु या नयाँले पुरानोलाई विस्थापन गर्नुको विशिष्ट अवस्थालाई विघटन भनिन्छ । प्रत्येक पुरानोको विघटनबाटै नयाँको जन्म अनिवार्य हुन्छ । 

आजसम्मको उच्चतम् मानव ज्ञानले हामीलाई बताएको छ कि पृथ्वी पनि ब्रहमाण्डमा हुने गठन, विघटन र पुनर्गठनकै अनन्त शृंखलामा पैदा भएको एउटा परिणाम हो । प्राणी जगत् र मानिसको प्रजाति समेत पुनर्गठनका कैयौँ शृंखला पार गरेर नै पैदा भएको हो । यो प्रक्रिया नहुँदो हो त न पृथ्वीको जन्म सम्भव थियो, न त प्राणी जगत र मानव जातिकै अस्तित्व । सामाजिक क्रान्तिहरू पनि पुनर्गठनकै अनन्ततामा पैदा हुने परिघटना हुन् ।

नेपाली समाज र नेपालको राजनीति एकपटक फेरि पुनर्गठनको नयाँ शृंखलामा आइपुगेको सर्वत्र महसुस भइरहेको छ । नेपाली राजनीति, समाज, परिवार र स्वयं एउटा व्यक्ति समेत पुनर्गठनको तीव्रतम प्रक्रियाबाट गुज्रिरहेको छ । प्रत्येकमाथि अस्तित्वको नयाँ प्रश्न खडा भएको छ । प्रश्नका अनेकन् आयामलाई एउटै वाक्यमा भन्नुपर्दा त्यो हो — अस्तित्वको नयाँ चुनौती । 

आजका दिनसम्मको इतिहासले हामीलाई बताउँछ कि अस्तित्वको यो निर्मम प्रतिस्पर्धामा निकै थोरै मानिस मात्र विजयी हुने राजनीतिक प्रणालीमा हामी बाँचिरहेका छौँ र वर्तमान प्रणाली पनि त्यसकै निरन्तरता बनेको छ, जहाँ विजयीले सम्पूर्ण अवसर अर्थात् सत्ताको चरम भोग गरिरहेका छन् । जबकि पराजित निकै ठुलो संख्यामा रहेका मानिसमा राष्ट्र, समाज र परिवारप्रतिको अपनत्वमा समेत हीनताभावले थिचिरह्यो, थिचिरहेको छ । हरेक राष्ट्र र समाजको अग्रगमनका लागि यो एक निकै जटिल स्थिति हो । नेपाली समाजका लागि यो एक गम्भीर राष्ट्रिय प्रश्न हो । यसकै वस्तुनिष्ठ जवाफ आजको पुनर्गठन हो । 

सामान्यतः प्रत्येक गठन आफैँमा पुनर्गठन हो र प्रत्येक पुनर्गठन एउटा नयाँ गठन पनि । पुरानो नयाँमा रूपान्तरित हुनु या नयाँले पुरानोलाई विस्थापन गर्नुको विशिष्ट अवस्थालाई विघटन भनिन्छ । प्रत्येक पुरानोको विघटनबाटै नयाँको जन्म अनिवार्य हुन्छ ।
  • पुनर्गठन एक कोलाहल

पुनर्गठन एक कोलाहल हो । यो त्यति शिष्ट, सौम्य र भद्र हुँदैन । नेपाली समाजमा व्यक्त यो कोलाहल श्रमजीवी वर्गको चित्कार र आक्रोश हो । 

एक थरी मानिस आफ्नो भएभरको सम्पत्ति बेचेर शिक्षा र स्वास्थ्य किनिरहेका छन्, परिणामतः उनीहरू दिन प्रतिदिन कंगालीकरणको ओरालोमा झरिरहेका छन् । अर्काथरी मानिस त्यही शिक्षा र स्वास्थ्यलाई उद्योग बनाएर लुट मच्चाइरहेका छन् । 

एकथरी मानिस आफ्नो हाड पगालेर आर्जन गरेको सम्पत्ति वित्तीय संस्थामा बचत गर्छन् र अर्काथरी मानिस त्यसलाई हडपेर निजी सम्पत्ति जोडिरहेका छन् ।

एकथरी मानिस सम्पूर्ण जायजेथा बन्धकी राखेर विदेश जान्छन् र अर्काथरी मानिस तिनै बिदेसिएकाको रेमिटेन्समाथि भ्रष्टाचार गरेर सहरका ‘प्राइम लोकेसन’हरूमा बंगलाचुली निर्माण गर्छन् । 

एकथरी मानिस चुनावमा भोट हालेर नेतालाई शासन गर्न पठाउँछन् र अर्काथरी मानिस चुनाव जितिसकेपछि तिनै भोटरलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउँछन्, सरकारी सम्पत्ति माफियालाई बेच्छन् ।

लुटको स्वर्ग टिकाउन सत्ताको नेतृत्वमा रहेकाहरू जहिले पनि कानुन, प्रशासन र राजनीतिलाई आफ्नो हितमा चरम केन्द्रीकरण गर्छन् र त फासीवाद उनीहरूको अनिवार्य बाध्यता बन्न पुग्छ । जतिजति यो प्रक्रिया बढ्दै जान्छ, उनीहरू आफैँले निर्माण गरेको जञ्जालमा कैदी बन्दै जान्छन् र पराजयको दिन गन्ती सुरु हुन्छ । कोलाहल त्यसपछि दमनको भाषामा बदलिन्छ । दमन बिस्तारै बुट, लाठी हुँदै बन्दुकमा विकसित हुन्छ । जब उनीहरूको अन्तिम पराजय हुन्छ, तब कोलाहल बन्द हुन्छ र नयाँ युग आरम्भ हुन्छ ।

  • पुनर्गठनको शृंखलामा नयाँ आयाम

नेपाली इतिहासको प्राचीन समयमा गठित महिषपाल र गोपालवंश अर्को समयमा किराँत र लिच्छवि शासनमा पुनर्गठित भयो । 

समय क्रममा कोशल, विदेह हुँदै पश्चिममा खस, पूर्वमा सेन र उपत्यकामा मल्लहरूको राज्य तथा रजौटाहरू निर्माण भए । त्यसको विघटनमा स्थापित केन्द्रीकृत शाहवंशीय शासनभित्रै जन्मेको जहानियाँ राणाशाही ऐजेरुले प्रजातन्त्र, पञ्चायत हुँदै संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्थाको पुनर्गठनसम्म पुर्‍यायो । 

माओवादी जनयुद्धमार्फत नौलो जनवाद तथा वैज्ञानिक समाजवाद स्थापित गर्ने अभियान र तत्कालीन राजा ज्ञानेन्द्रले सक्रिय राजतन्त्र पुनस्र्थापित गर्न थालेको प्रयत्न असफल भएपछि लोकतान्त्रिक गणतन्त्रको गठन भयो ।

माओवादी जनयुद्धमार्फत नौलो जनवाद तथा वैज्ञानिक समाजवाद स्थापित गर्ने अभियान र तत्कालीन राजा ज्ञानेन्द्रले सक्रिय राजतन्त्र पुनस्र्थापित गर्न थालेको प्रयत्न असफल भएपछि लोकतान्त्रिक गणतन्त्रको गठन भयो ।

सामन्तवादको अन्त्यपश्चात् नेपाली समाज राष्ट्रिय औद्योगिक पुँजीवादमा रूपान्तरित हुनुपर्ने स्वाभाविक नियम विपरीत जब दलाल पुँजीवाद संस्थागत भयो, अर्ध–औपनिवेशिकता नवउपनिवेशमा फेरियो । यो एक गम्भीर सामाजिक विचलन अर्थात् प्रतिक्रान्तिको अवस्था हो । 

नवऔपनिवेशिकता र दलाल पुँजीवादको निकृष्टतम विशेषता अनुरूप आज देशमा औद्योगिक उत्पादन शून्यजस्तै भएको छ । सिंगो देश विदेशी एकाधिकार पुँजीवादको बजार बनेको छ । कृषिलाई उद्योगबाट र श्रमलाई पुँजीबाट अलग गरिएको छ । कृषिमा खपत नभएको लाखौँ जनशक्ति बिदेसिन बाध्य भएको वा गराइएको छ र उनीहरूले आर्जन गरेको पुँजीलाई योजनाबद्ध परिचालन गर्ने कुनै राष्ट्रिय नीति तथा योजना छैन । राष्ट्रघाती र जनविरोधी सम्झौताहरू संसदबाटै धमाधम अनुमोदन भइरहेका छन् ।

नेपाली समाजको वर्तमान पुनर्गठनलाई निम्न बुँदामा संकेन्द्रित गर्न सकिन्छ : 
१) जमिन : कृषि, उद्योग, आवास, पर्यटन लगायत आवश्यकतालाई प्राथमिकतामा राखेर जमिनको क्षेत्र निर्धारण गर्नु । आवास, कृषि र उद्योगका लागि निःशुल्क जमिन उपलब्ध गराउनु । जमिनमा पुस्ता हस्तान्तरण प्रणालीको खारेजी गर्नु ।
२) उद्योग : निजी क्षेत्रलाई प्रोत्साहन गर्दै मूलतः राज्यको नेतृत्वमा उद्योगको सञ्चालन गर्नु । कृषि उद्योगको प्राथमिकीकरण गर्नु । राष्ट्रिय आवश्यकताका आधारमा उत्पादन गर्नु । प्रत्येक वडामा न्यूनतम एउटा पूर्ण सरकारी स्वामित्वको र अर्को अर्ध–सरकारी उद्योगको स्थापना गर्नु ।
३) कृषि : कृषिको औद्योगिकीकरण र व्यवसायीकरण गर्नु । राज्यद्वारा मल, बिउ र औजारको सहुलियत व्यवस्था गर्नु । सम्पूर्ण कृषि उपजको राज्यद्वारा खरिद गर्नु । कृषिजन्य वस्तुमा आत्मनिर्भताको घोषणा गर्नु ।  
४) शिक्षा : आवधिक योजनाका साथ शिक्षाको राष्ट्रियकरण गर्नु । शिक्षक–कर्मचारी र जनप्रतिनिधिका सन्ततिहरूलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउनु । निजी र सरकारी क्षेत्रमा एउटै पाठ्यक्रमको लागु गर्नु । शिक्षामा विदेशी लगानीको अन्त्य गर्नु ।
५) स्वास्थ्य : स्वास्थ्यमा निजीकरणको पूर्ण अन्त्य गर्नु । सरकारी कर्मचारी र जनप्रतिनिधिको लगानी भएका स्वास्थ्य संस्थाहरू यथाशीघ्र बन्द गर्नु । मुटु–क्यान्सर–मिर्गौला रोगका बिरामी तथा ज्येष्ठ नागरिकको सम्पूर्ण उपचार व्यवस्थाको निःशुल्क घोषणा गर्नु । विगत द्वन्द्वको अवधिमा राज्य र विद्रोही दुवै पक्षबाट घाइते व्यक्तिको उपचार व्यवस्था राज्यले लिनु । विशिष्ट व्यक्तिहरूको नाममा राज्यको खर्चमा विदेश उपचार गर्ने नीति बन्द गर्नु ।
६) भ्रष्टाचार : भ्रष्टाचारमा कसुर ठहरिएका व्यक्तिको सम्पत्ति राष्ट्रियकरण । सम्पूर्ण विदेशी बैंकहरू र विशेषतः स्विटजरल्यान्डमा नेपालीका नाममा राखिएको अवैध सम्पत्तिको राज्यद्वारा फिर्ता लिई राष्ट्रियकरण गर्नु । 
७) बैंक तथा वित्तीय संस्था : सरकारी बैंकहरू आम जनताको पहुँचमा विस्तार गर्नु । निजी बैंकहरू बन्द गर्नु । ऋण तथा बचत सहकारीहरू र लघुवित्तीय संस्थाहरू बन्द गर्नु । न्यून आय भएका ऋणीहरूको कर्जा मिनाहा तथा सहुलियतको व्यवस्था गर्नु ।
८) सन्धि/सम्झौताहरू :  विशेषतः भारत र अन्य मुलुकहरूसँगका असमान सन्धि, सम्झौहरू खारेज गर्नु ।

नेपाली समाज र नेपालको राजनीति एकपटक फेरि पुनर्गठनको नयाँ शृंखलामा आइपुगेको सर्वत्र महसुस भइरहेको छ । नेपाली राजनीति, समाज, परिवार र स्वयं एउटा व्यक्ति समेत पुनर्गठनको तीव्रतम प्रक्रियाबाट गुज्रिरहेको छ ।
  • पुनर्गठनको समाजवादी विकल्प 

इतिहासका विभिन्न तथ्यले बताए अनुरूप नेपाली समाजले जटिल प्रकृतिको दास युग झेल्नुपरेन । परिणामतः नेपाली सामन्तवाद बृहत् प्रकृतिको जमिनदारी प्रथामा विकसित हुन सकेन । जब सामन्तवादको जन्म नै यस खाले रुग्ण प्रकृतिबाट भयो, तब पुँजीवादको जन्म पनि ख्याउटे भयो । अतः विश्वव्यापी विशेषताभन्दा फरक नेपाली सामन्तवादको गर्भबाट जन्मिएको ख्याउटे पुँजीवादले न फ्रान्सेली बाटोझैँ सामन्तवादको घाँटी आफ्नै हातको तलवारले छिनाएर पराजित गर्न सक्यो, न त बेलायती बाटोझैँ वाष्प इन्जिनमा होमेर आफूलाई पुँजीपति वर्गमा रूपान्तरण गर्न सक्यो । 

सामन्तवाद अन्त्यको तेस्रो चिनियाँ बाटो, जहाँ राष्ट्रिय पुँजीपति वर्ग र सर्वहारा वर्गको संयुक्त मोर्चाद्वारा राष्ट्रिय औद्योगिक पुँजीवादको स्थापना गरियो, त्यो पनि सम्भव भएन । जब एक ध्रुवीय विश्वको विकाससँगै विश्वव्यापीकरणको नयाँ अध्याय सुरु भयो र अति एकाधिकारी वित्तीय पुँजीवाद (साम्राज्यवाद) को विकास भयो, तब जुन–जुन देशको सत्ताबाट आफ्नो स्वार्थ पूरा हुँदैन, त्यहाँ त्यहाँ साम्राज्यवादले आफ्ना दलालहरू खडा गरेर आन्तरिक सत्ता कब्जाको रणनीति लियो । नेपाली सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्रको ‘निर्मम हत्या’ त्यसकै एउटा ज्वलन्त उदाहरण हो । 

नेपालको सर्वहारा वर्गीय आन्दोलन समेत साम्राज्यवादको यही कोपभाजनमा परेर आफ्नो ऐतिहासिक जिम्मेवारीबाट विचलित हुँदै आएको छ । शान्तिप्रक्रिया नामक चक्रव्युहमा जनयुद्धको हत्या गरिनु पछिल्लो परिघटना हो ।

गठन, विघटन र पुनर्गठनको निरन्तर प्रक्रियामा नेपाली समाज कुनै बेला सामान्य सामाजिक सुधारात्मक आन्दोलनहरू त कुनै बेला भीषण सशस्त्र क्रान्तिका साथ अघि बढ्दै आएको छ । आफ्नो समयको जवाफमा ती अभियान र क्रान्तिहरू जे जति सफल, आंशिक सफल वा असफल भए— त्यसको पुनरावृत्ति न सम्भव छ न त आवश्यक नै । बरु विगतको बलिदानको स्वामित्व ग्रहण गर्नु, त्यसका शिक्षाहरूलाई गम्भीर आत्मसात गर्नु र साम्राज्यवादको चौकीदार दलाल पुँजीवादका विरुद्ध निर्णायक संघर्ष गर्नु आजको आवश्यकता हो । 

राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नु, आधारभूत समानतासहितको आर्थिक समृद्धि हासिल गर्नु र आत्मस्वाभिमानपूर्ण सामाजिक सद्भाव कायम गर्नु नेपाली समाजको वर्तमान ऐतिहासिक कार्यभार हो । विकासोन्मुख, साना र कमजोर देशहरूको विश्वव्यापी चुनौतीका रूपमा रहेको यो विश्व–व्यवस्था पुनर्गठनकै अन्तर्राष्ट्रिय कार्यभार समेत हो । अतः पुँजीवादी विश्व–व्यवस्थाको स्थानमा साम्यवादी नयाँ विश्व–व्यवस्था र त्यसको पूर्वचरणका रूपमा रहेको समाजवादको स्थापना जसले पुँजी, प्रविधि र श्रमको समुचित तालमेल गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय आवश्यकताको परिपूर्ति गर्छ, प्रत्येक देशका लागि एक ऐतिहासिक आवश्यकता र आधारभूत पुनर्गठन हो । नेपालको अग्रगामी राजनीति र हरेक क्रान्तिकारी तप्का र नेतृत्वले यो अवश्यम्भावितालाई आत्मसात गर्नु समय, समाज र स्वयम्प्रतिको इमानदारिता एवं कर्तव्य हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उदयबहादुर चलाउने ‘दीपक’
उदयबहादुर चलाउने ‘दीपक’
लेखकबाट थप