शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
प्रतिकुल मौसम

वर्षाले कुलेखानी ३ घण्टामा १ मिटर भरिँदै, जोखिम घटाउन विद्युत् उत्पादन सुरु

शुक्रबार, ११ असोज २०८१, १९ : ०३
शुक्रबार, ११ असोज २०८१

हेटौंडा । कुलेखानी जलाशय भरिने चरणमा पुगेको छ । बिहीबारदेखि भएको वर्षाले देशकै सबैभन्दा ठुलो मानव निर्मित ताल (कुलेखानी जलाशय) भरिन लागेको हो ।

मकवानपुरको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रवाराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । उक्त क्षेत्रमा वर्षा भइरहेकाले पानीको तह बढिरहेको छ ।

कुलेखानी ड्याममा हाल १ हजार ५२६.६६ मिटर पानीको तह मापन गरिएको छ । ३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ । शुक्रबार ५ बजेसम्ममा कुलेखानीमा पानीको सतह १ हजार ५२५ मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार कुलेखानीमा हालप्रति ३ घण्टामा १ मिटर पानी भरिएको छ । हालकै गतिमा वर्षा भइरहेको खण्डमा कुलेखानीमा पानीको सतह ७÷८ घण्टामा भरिने उनले बताए । कुलेखानीमा पानीको सतह भरिएपछि आफै ओभर प्लो हुने र ड्याममा जोखिम देखिए मात्र ढोका खुला गरिने उनको भनाई छ । कुलेखानी भरिएर ड्यामा खतराको संकेत देखिएमा मात्र ड्यामको ढोका खोलिने उनले बताए ।

उनले कुलेखानी जलाशयको सतह भरिँदै गएकाले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन् । कुलेखानीमा पानीको सतह बढ्दै गएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, बागमती गाउँपालिकाको नदी तटीय क्षेत्रमा सतर्क रहन उनले आग्रह गरेका छन् । उनले सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय मकवानपुर, जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको बताए । जलाशयको पानी कुलेखानी खोला हुँदै बागमती खोला भएर बग्ने भएकाले आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

जोखिम घटाउ विद्युत् उत्पादन सुरु

मुलुकमा मागभन्दा बढी विद्युत् उत्पादन भइरहेकाले पनि यो आयोजना नियमित रूपमा सञ्चालन गर्नु नपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आयोजना नियमित सञ्चालनमा नआउँदा जलाशयको पानी खपत भएको छैन । विगत ३ दिनदेखि कुलेखानीबाट विद्युत् उत्पादन बन्द थियो । त्यसअघि ७०० मेगावाट विद्युत् उत्पादन गरिएको कुलेखानीबाट जोखिम घटाउन कुलेखानी पहिलो आयोजना सञ्चालनमा ल्याएको उनले बताए ।

कुलेखानी जलाशयको पानी १ हजार ४ सय ८४ मिटर उचाइसम्म प्रयोग गर्न मिल्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ । कुलेखानी जलाशयबाट ३ वटा आयोजना सञ्चालनमा छन् । कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलवालका अनुसार कुलेखानी जलाशय भरिँदै गएपछि जोखिम घटाउन विद्युत् उत्पादन सुरु गरिएको छ । कुलेखानी प्रथम आयोजनालाई पूर्ण क्षमतामा संचालनमा ल्याइएको उनले बताए । अन्यत्रको विद्युत् उत्पादन घटाएर कुलेखानी संचालन गर्नेगरी विद्युत् उत्पादन थालिएको प्रजिअ चिलवालले बताए । कुलेखानीको पानी डिस्चार्ज नहुँदासम्म विद्युत् उत्पादन गर्न भनिएको उनले बताए ।

कुलेखानी जलाशयको जोखिम क्षेत्रमा सुरक्षा निकायहरूलाई अलर्ट अवस्थामा राखिएको र नागरिकहरूलाई सु–सूचित गर्न माइकिङको व्यवस्था गरिएको उनले बताए । स्थानीय तहको समन्वयमा जोखिम क्षेत्रहरूमा सचेतनाको काम भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप