शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
प्रतिकुल मौसम

झापामा अति वर्षा, देशका ३२ स्थानमा अत्यधिक धेरै वर्षा

शुक्रबार, ११ असोज २०८१, १८ : ३०
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । बितेको २४ घण्टामा सबैभन्दा धरै वर्षा झापाको चन्दगढीमा भएको छ । चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विभागको मापन केन्द्रका अनुसार त्यहाँ ३०२ मिलिमिटर वर्षा भएको छ । 

बिहीबारदेखि देशव्यापी निरन्तर वर्षा भइरहेको र कोशीदेखि कर्णाली प्रदेशसम्म धेरै तथा अति धेरै वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले रातोपाटीलाई जानकारी दिइन् । यद्यपि कर्णाली प्रदेशमा भने धेरै वर्षा नभएको कँडेलले जानकारी दिइन । 

उनले भनिन्,‘कर्णाली प्रदेशबाहेक सबैतिर धेरै वर्षा भइरहेको छ । झापामा सबैभन्दा धेरै वर्षा भएको छ । धेरै ठाउँमा धेरै वर्षा र केही ठाउँमा अति धेरै वर्षा भएको छ । झापाको चन्द्रगढी स्टेसनमा ३०२ मिलिमिटर मापन भएको छ ।’

अहिले भइरहेको वर्षा मनसुनी वायुका कारण भएको उनले बताइन् । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु, भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा धेरै वर्षा भएको मौसमविद् कँडेलको भनाइ छ । 

उनले भनिन्,‘यतिबेला नेपालमा जलवाष्पयुक्त हावा अरब सागरबाट, बंगालको खाडी र मध्यप्रदेशमा विकसित न्यून चापीय क्षेत्रबाट छ । मुख्य रूपमा जलवाष्प विकसित बंगालको खाडीमा भएको हो । त्यो सर्दै आउने क्रममा मध्यप्रदेशमा विकास हुँदै नेपाल प्रवेश गरेका कारण नेपालमा धेरै वर्षा भइरहेको छ । मनसुनी वायुको न्यून चापीय क्षेत्रका कारण अहिले वर्षा भइरहेको हो ।’

भोलि (शनिबार)सम्म धेरै वर्षा हुने र त्यसपछि क्रमशः सुधार हुँदै जाने उनको भनाइ छ ।

देशका ३२ स्थानमा अत्यधिक धेरै वर्षा भइरहेको विभागले जनाएको छ । इलामको कनकाईमा २९८ मिलिमिटर वर्षा भएको छ भने झापाको गौरादहमा २५० मिलिमिटर वर्षा भएको छ । झापाको केचनामा २३४ मिलिमिटर वर्षा भएको छ । यता पाल्पाको जाल्पा भन्ने ठाउँमा २ सय मिलिमिटर वर्षा भएको छ । 

पाल्पाको कुमालगाउँ, मकवानपुरको राजैया, पूर्वी नवलपरासीको डण्डा, दुम्कौली, अर्घाखाँचीको खान्छीकोट, पाल्पाको गैडाकोट, पूर्वी नवलपरासीको सेमरी, लुम्बिनी, पाल्पाको बल्ड्याङगढी, जाल्पा, अर्चले, बाराको कलैया, ललितपुरको लेले, सप्तरीको बरमझैया, झापाको केचना, शनिश्चरे, अनारमनी बिर्ता, गौरादह, बाहुनडाँगी क्षेत्रमा धेरै वर्षा भइरहेको छ । यस्तै विराटनगर एयरपोर्ट, उदयपुरको सुन्दरपुर, मोरङको बाहुनी, इलामको कन्याम चिया बगान, कन्काई मैनाचुली, पर्साको मुडली पर्सामा धेरै वर्षा भइरहेको छ । 

विभागको देशभर २७२ वर्षा मापन केन्द्र रहेको छ । ३२ मापन केन्द्र रहेका स्थानमा धेरै वर्षा भएको छ भने अन्य मापन केन्द्रले सामान्य वर्षा भएको आँकडा दिएको छ । काठमाडौँ आसपास रहेका मापन केन्द्र अनुसार कीर्तिपुरमा १३६ मिलिमिटर वर्षा भएको छ । ललितपुरको गोदावरीमा ११३ मिलिमिटर वर्षा भएको छ । ललितपुरको खुमलटारमा १२२ मिलिमिटर, काठमाडौँको पानी पोखरी क्षेत्रमा ८९ मिलिमिटर, बबरमहलमा १०२ दशमलव ८ मिलिमिटर, बुढानीलकण्ठमा ९४ मिलिमिटर, धाप ड्याम क्षेत्रमा ९१ दशमलव ४ मिलिमिटर, भक्तपुरको नगरकोटमा १०१ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । 

यो साता सबैभन्दा धेरै दोधारा चाँदनीमा बुधबार ६२४ मिलिमिटर धेरै वर्षा भएको जल तथा मौसम विभागको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप