शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

एमाले सचेतक बरालले भनिन्– प्रविधिको दुरुपयोग गरी भ्रामक तस्बिर बनाइयो

शुक्रबार, ११ असोज २०८१, १८ : २१
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । नेकपा एमालेकी सचेतक सुनिता बरालले पछिल्लो समय आफूलाई बदनाम गर्ने नियोजित प्रयासहरू भइरहेको भन्दै दुःख व्यक्त गरेकी छिन् । शुक्रबार फेसबुक मार्फत उनले सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गरी भ्रामक तस्बिर र तथ्यहीन समाचारहरू फैलाइएको र केही सञ्चारमाध्यमहरूले यस्ता सामग्रीलाई समाचारका रूपमा प्रस्तुत गरेकोमा आपत्ति जनाएकी हुन् । 

बरालले यस्ता हर्कतहरूका विरुद्ध कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिसकेको र कानुनी निष्कर्षको प्रतीक्षा गर्ने बताएकी छिन् । बरालले आफूले लामो संघर्ष र मेहनतले प्राप्त गरेको प्रतिष्ठामा प्रश्न उठाउने प्रयास भइरहेको बताउँदै यस्ता षड्यन्त्रहरू समयक्रममा प्रस्ट हुने उल्लेख गरेकी छिन् । 

उनले भनेकी छिन,‘सामाजिक जीवन, सार्वजनिक जिम्मेवारीसँग जोडिएको व्यक्तिले पटकपटक विभिन्न सन्दर्भसँग जोडिएर आफूलाई प्रमाणित गर्नपर्छ नै । केही दिनयता भिन्न अवस्था र परिवेशका तस्बिरलाई प्रविधिको दुरुपयोग गरी दुष्प्रचारको उद्देश्यले सामाजिक सञ्जालमा पोष्ट गर्ने तथा त्यस्ता तथ्यहीन तथा नियोजित हत्कण्ठाहरुको मतियार भएर आफूलाई प्रतिष्ठित सञ्चार माध्यम भनेर सोच्ने केही मिडियाहरूले समाचार बनाउनेसम्मका हर्कत गरेकोमा दुःख व्यक्त गर्दछु । यस्ता भ्रामक समाचार तथा तस्बिरका सम्बन्धमा आवश्यक कारबाहीका लागि कानुन र निर्दिष्ट निकायलाई अनुरोध गरिएको जानकारी मेरा समर्थक शुभेच्छुकहरूमा गराउन चाहन्छु । राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सङ्घर्ष र मेहनतले बनेको व्यक्तिमा प्रश्न उठाउने अवस्था ल्याउन विभिन्न खालका प्रयासहरू निरन्तर गरिरहने केही प्रवृत्ति प्रति सचेत नै छु र यस्ता षड्यन्त्रहरू समयक्रममा प्रष्ट हुने नै छन् । षड्यन्त्रभन्दा सङ्घर्ष दिगो हुन्छ भन्ने विश्वास हो । त्यसर्थ कानुनी निष्कर्ष पर्खनु नै यतिबेलाको सही निर्णय हुनेछ भन्ने विश्वाससहित चासो चिन्ता व्यक्त गर्नुहुने एवं विश्वाससहित सद्भाव प्रकट गर्नुहुनेमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप