कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा

विराटनगर । विश्व पर्यटन दिवसको अवसर पारेर कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरिएको छ । शुक्रबार विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को घोषणा गरेका हुन् ।
१६ लाख पर्यटक भित्र्याउने योजनासहित ‘रमणीय कोशी’ भन्ने नाराका साथ उनले भ्रमण वर्ष घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोभिड–१९ को विश्वव्यापी महामारी र पछिल्लो समय खेप्नु परेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र प्रभावित भएको चर्चा गर्दै भने, ‘हामीले अब यी प्रतिकुलताहरूलाई छिचोल्दै अघि बढ्नु पर्नेछ । यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरू गर्ने सोच र दृष्टिकोण निर्माण गरी अघि बढ्ने प्रयत्न गरिरहेको छ । यसको प्रस्थान बिन्दुका रूपमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई लिन सकिन्छ ।’
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभई विश्वकै उत्कृष्ट गन्तव्य भएको उल्लेख गर्दै यथोचित प्रचारप्रसार र गन्तव्यहरूको प्रवर्द्धन गर्न नसक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न नसकेको बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले किराँत सभ्यताको उद्गम, जैविक विविधता, प्राकृतिक सौन्दर्ययताले कोशी प्रदेशको पर्यटनलाई मौलिक बनाएको बताए । उनले लोपोन्मुख रेड पाण्डालगायतका वन्यजन्तुका कारण पनि कोशी प्रदेश विशेष बनेको चर्चा गरे ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेश भ्रमण वर्ष २०८२ सफलताको कामना व्यक्त गरे । कोशी प्रदेश पर्यटकीय दृष्टिकोणबाट सम्भावना बोकेको भन्दै उनले यसको भरपुर सदुपयोग गर्नुपर्ने बताए । प्रत्येक जिल्ला जिल्लामा धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै तर पर्यटकहरूको आवागमन भने कम रहेको उनले बताए ।
कोशी पर्यटन वर्ष घोषणा गरेको सरकारले ८२ पर्यटकीय गन्तव्यको सूची पनि तयार गरेको पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । कोशी प्रदेश पर्यटन वर्षको लागि सरकारले १० करोड रुपैयाँ बजेट राखेको छ । पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा १ अर्ब ७ करोड बजेट रहेको सचिव घिमिरेले बताए । ८२ सालमा मनाइने पर्यटन वर्षको लागि ८२ स्थान छनोट गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित