शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
सहकारी समितिको प्रतिवेदन

सहकारी कर्जा दुरुपयोगका यी हुन् ठुला अभियुक्त संस्थाहरू (विवरणसहित)

९६ कम्पनी तथा संस्थालाई कानुनविपरित सहकारीको १७ अर्बभन्दा बढी ऋण लगानी
शुक्रबार, ११ असोज २०८१, १७ : ५२
शुक्रबार, ११ असोज २०८१

काठमाडौं । प्राकृतिक व्यक्तिलाई मात्रै सदस्य बनाएर कारोबार गर्न पाउने व्यवस्था विपरीत करिब एक सय अप्राकृतिक व्यक्ति (कम्पनी तथा संस्थाहरू) ले समस्याग्रस्त अवस्थामा रहेका सहकारीको रकम अपचलन गरेको पाइएको छ ।

 सहकारी बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनमा १४ वटा सहकारीबाट ९६ वटा कम्पनीले अनधिकृत रुपमा करोडौँ रकम लिएको उल्लेख छ।  जसबाट प्रवाह भएको रकम मात्रै १७ अर्ब रुपैयाँ भन्दा धेरै देखिएको छ । 

यसरी अनधिकृत रुपमा कम्पनी तथा संस्थालाई ऋण प्रवाह गर्नेमा चर्चित अनुहार भएका सहकारीहरू बढी छन् । जीबी राई, केदारनाथ शर्मा, भरत महर्जन, सुरेन्द्र भण्डारी, तेजविक्रम थापा, डीबी बम्जन, सीबी लामा लगायत सञ्चालक रहेको सहकारीबाट अनधिकृत रुपमा यस्तो कर्जा प्रवाह भएको हो । कतिपय अवस्थामा एउटै कम्पनीले धेरै सहकारीबाट ऋण समेत लिएको देखिएको छ । हेर्नुहोस् समग्र सहकारीको अवस्थाः 

१. शिवशिखर सहकारी

प्रतिवेदन अनुसार कुल कर्जा प्रवाहमध्ये शिवशिखर बहुद्देश्यीय सहकारीले आकार तथा कुल ऋण रकमको प्रतिशतका आधारमा सबैभन्दा धेरै ऋण प्रवाह गरेको छ । उक्त सहकारीले ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गरेकोमा ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको ऋण कम्पनीको नाममा प्रवाह गरेको छ । 

यसरी प्रवाह भएको कुल ऋणमध्ये १७ वटा कम्पनीमा एक करोड भन्दा धेरैको दरमा ऋण दिइएको भेटिएको छ । उक्त सहकारीले शिखरदीप एग्रो (गौरीघाट) लाई मात्रै २ अर्ब ८७ करोड रुपैयाँ ऋण दिएको छ । उक्त कम्पनीसँग अहिलेको बक्यौता मात्रै ३ अर्ब ३३ करोड पुगेको छ । यो सहकारीमा निलम्बित अध्यक्ष केदारनाथ शर्मा हुन् । 

1

२. तुलसी बहुमुखी सहकारी, विराटनगर 

यो पनि केदारनाथ शर्माकै नेतृत्वको सहकारी हो । यो सहकारीले चारवटा कम्पनीमा लगानी गरेको देखिँदा एउटै कम्पनीलाई ४६ करोडसम्म ऋण प्रवाह भएको देखिन्छ । 

Fullscreen capture 9272024 50315 PM

३. श्री लालीगुराँस बहुद्देश्यीय सहकारी

सुरेन्द्र भण्डारी नेतृत्वको लालीगुराँस सहकारीबाट ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको ऋण प्रवाह भएकोमा १ अर्ब ९१ करोड रुपैयाँ कम्पनीको नाममा गएको छ । त्यसमध्ये ३२ वटा कम्पनीमा करोडभन्दा धेरै ऋण प्रवाह भएको छ । 

यो सहकारीबाट सबैभन्दा धेरै ३३ करोड ७१ लाख रुपैयाँ ऋण प्रवाह भएकोमा हालको बक्यौता ३८ करोड ५१ लाख रुपैयाँ रहेको छ । यो सहकारीबाट लालीगुराँस ब्राण्डका विभिन्न कम्पनीका अतिरिक्त एभिन्युज टेलिभिजनको सञ्चालक कम्पनी एभिन्युज नेटवर्क, महेन्द्रनारायण निधिको स्मरणमा खोलिएका सहकारी तथा अस्पताल लगायतमा लगानी गरिएको छ । 

Fullscreen capture 9272024 50506 PM

४. सुमेरु बचत तथा ऋण सहकारी

भरत महर्जन नेतृत्वको सुमेरु सहकारीले सुमेरु ब्राण्डका दुई हस्पिटलमा लगानी गरेको छ । धापाखेलको सुमेरु कम्युनिटी अस्पातल र जावलाखेलको सुमेरु सिटी अस्पतालमा मात्रै ५ अर्ब ९८ करोड रुपैयाँ ऋण प्रवाह भएको छ । 

Fullscreen capture 9272024 50619 PM

५. कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड

सीबी लामाको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले ३ अर्ब १० करोड कुल ऋण प्रवाह गरेकोमा तीनवटा कम्पनीमा ठूलो मात्रामा कर्जा प्रवाह भएको देखिएको छ । 

Fullscreen capture 9272024 50735 PM

६. कृषि विकास बहुद्देश्यीय सहकारी 

तेजबिक्रम थापा नेतृत्वमा ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुद्देश्यीय सहकारीबाट १५ करोड ७४ लाख रुपैयाँ ऋण गएको छ । यो कुल ऋण रकमको २६.७८ प्रतिशत बराबर हो । यो सहकारीबाट कृषि टेलिभिजन, अस्पताल सहित परियोजनामा लगानी भएका छन् । 

Fullscreen capture 9272024 50845 PM

जीबी नेतृत्वको सहकारीका साझा ऋणी 

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष समेत रहेका जीबी राईको नेतृत्वमा रहेको सहकारीको भने साझा ऋणी देखिएका छन् । खासगरी जीबी ग्रुप अफ कम्पनीजले एकभन्दा धेरै सहकारीमा गरी कुल २० करोड ६ लाख, नेचर हर्बले १० करोड ६१ लाख, नेचर नेष्टले १९ करोड ७४ लाख र स्प्रिङउड रियलस्टेट २२ करोड ५९ लाख रुपैयाँ ऋण लिएका छन् । गोर्खा मिडिया नेटवर्कले भने सहारा बचत तथा ऋण सहकारीबाट प्रत्यक्ष रुपमा ऋण लिएको देखिँदा बाँकी सहकारीबाट अध्यक्ष राईले अप्रत्यक्ष रुपमा रकम लगानी गरेको भेटिएको छ ।

जीबी राई नेतृत्वमा सातवटा सहकारी रहेकोमा पाँचवटाबाट कम्पनीमा लगानी भएको छ । यसरी लगानी भएका सहकारीहरूमा सहारा, सुप्रिम, सूर्यदर्शन, स्वर्णलक्ष्मी र सानो पाइला रहेका छन् । समानता बचत तथा ऋण सहकारी तथा हाम्रो कृषि सहकारी संस्थाबाट भने अप्राकृतिक व्यक्तिको नाममा कुनै ऋण प्रवाह भएको उल्लेख गरिएको छैन ।

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्नुअघि जीबीले एपीवान टेलिभिजनको ८० हजार कित्ता शेयर खरिद गरेको थिए । उक्त रकम कुन सहकारीबाट लिएको भन्ने नखुले पनि एक्त टेलिभिजनमा समेत सहकारीको रकम पुगेको समितिको प्रतिवेदनको निष्कर्ष छ । 

७. सहारा बचत तथा ऋण सहकारी संस्था

यो सहकारीबाट माथि उल्लेखित पाँचवटै कम्पनीमा प्रत्यक्ष रुपमा रकम लगानी भएको देखिन्छ, जुन यसप्रकार रहेका छन् । यो सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा पेश्कीबापत २ करोड रुपैयाँ जम्मा भएको देखिन्छ । 

Fullscreen capture 9272024 51014 PM

८.सुप्रिम बचत तथा ऋण सहकारी संस्था

यो सहकारीबाट तीनवटा कम्पनीले प्रत्यक्ष रुपमा ऋण लिएको देखिन्छ । त्यस्तै, यो सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ४ करोड २४ लाख ३६ हजार रुपैयाँ जम्मा भएको देखिन्छ । 

Fullscreen capture 9272024 51202 PM

९.सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था 

सूर्यदर्शन सहकारीले अप्राकृतिक व्यक्ति वा कम्पनीको नाममा एउटा मात्रै ऋण प्रवाह गरेको छ ।यद्यपि यो सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा २ करोड ५० लाख रुपैयाँ जम्मा भएको देखिन्छ । 

Fullscreen capture 9272024 51300 PM

१०. स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी

स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारीबाट करोडभन्दा धेरै ऋण लिने कम्पनीको संख्या पाँच रहेको छ । त्यसमध्ये विवादित हर्बो इन्टरनेशनल नामको नेटवर्किङ कम्पनी समेत रहेको छ, जबकि नेपालमा यस्तो व्यवसाय अहिले गैरकानुनी मानिन्छ । यो सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ५ लाख रुपैयाँ जम्मा भएको देखिन्छ । 

Fullscreen capture 9272024 51354 PM

११. सानो पाइला बचत तथा ऋण सहकारी

सानो पाइला बचत तथा ऋण सहकारीबाट चारवटा कम्पनीमा लगानी भएको देखिन्छ । यसमध्ये नेचर हर्ब र नेचर नेस्ट नेटवर्किङ व्यवसाय हुन् । यो सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ जम्मा भएको देखिन्छ । 

Fullscreen capture 9272024 51502 PM

१२.क्यापिटल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ 

क्षेत्रपाटी मुख्य कार्यालय रहेको क्यापिटल सेभिङ एण्ड क्रेडिट को अपरेटिभले १६ वटा अप्राकृतिक व्यक्तिको नाममा कर्जा प्रवाह गरेको छ । उक्त सहकारीले दिनेश पौडेलको नाम जोडेर विभिन्न कम्पनीको नाममा मात्रै १ अर्ब १६ करोड रुपैयाँ बराबरको ऋण दिएको भेटिएको छ ।

Fullscreen capture 9272024 51601 PM

१३. पशुपति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ 

सीबी लामाको पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभबाट आठवटा कम्पनीमा एक करोडभन्दा धेरै ऋण प्रवाह भएको देखिन्छ । 

Fullscreen capture 9272024 51647 PM

१४. गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ

डीबी बम्जन नेतृत्वको यो सहकारीबाट गोर्खा अस्पताललाई २५ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । 
Fullscreen capture 9272024 51732 PM

अन्य सहकारीको अवस्था 

संसदीय समितिको छानविनमा परेका कम्पनीहरूमध्ये छिपछिपे बचत तथा ऋण सहकारीबाट चारवटा कम्पनीको नाममा रकम प्रवाह भएको छ । तर, त्यसमध्ये दुईवटा ऋण फर्जी रहेको समितिले जनाएको छ । नोमस मार्ट र स्टार टेलिभिजनको नाममा समेत कर्जा प्रवाह भएको देखिएको छ । यसको रकम क्रमशः ९७ हजार रुपैयाँ र २ लाख ४१ हजार रुपैयाँ रहेको छ ।

मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाले मित्रमिलन कृषि सहकारीको नाममा देखाएको ३ करोड ४६ लाख रुपैयाँ बराबरको रकम फर्जी भएको समितिले जनाएको छ । 

सुधिर बस्नेको नेतृत्व रहेको प्यासिफिक सेभिङले अग्नि एयरमा २ करोड रुपैयाँ लगानी गरेकोमा अहिले ४ करोड ३ लाख रुपैयाँ बक्यौता पुगेको छ । पोखराको प्राइम बहुद्देश्यीय सहकारीले नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघमा ३ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । 

त्यसबाहेक केबी उप्रेती नेतृत्वको आइडियल यमुना बचत तथा ऋण सहकारी, देवकुमार नेपालीको नेतृत्व रहेको ढोरपाटन बचत तथा ऋण सहकारी, मधुसुदन पाठक (सितेबा) जेष्ठ बचत तथा ऋण सहकारी, बराह बचत तथा ऋण सहकारी, दर्शन बचत तथा ऋण सहकारी संस्थाको ऋणको बारेमा प्रतिवेदनमा विस्तृत रुपमा उल्लेख गरिएको छैन । 

रामबहादुर गौतमको गौतमश्री, दीपक प्रसाद बाँस्कोटाको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड, लुनिभा बचत तथा ऋण सहकारी संस्थाले अप्राकृतिक व्यक्तिका नाममा ऋण प्रवाह गरेका छैनन् । समितिले १९ वटा समस्याग्रस्त सहित ३१ वटा सहकारीको बारेमा अध्ययन गर्ने कार्यादेश पाएकोमा पछि ४० वटा सहकारीको बारेमा ध्ययन गरी रिपोर्ट सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप