शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट : श्रीलंकाले बनायो ६ सयभन्दा बढी रन, तीन ब्याट्सम्यानको सतक

शुक्रबार, ११ असोज २०८१, १६ : ४९
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा घरेलु टोली श्रीलंकाले ६ सयभन्दा बढी रन बनाएको छ । दोस्रो टेस्टको दोस्रो दिन शुक्रबार श्रीलंकाले केवल पाँच विकेटको नोक्सानीमा ६ सय दुई रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको हो ।

पहिलो पालीमा श्रीलंकाली टोलीका तीन ब्याट्सम्यानले सतक र एक ब्याट्सम्यानले उत्कृष्ट अर्धसतक बनाए । श्रीलंकाले पाली समाप्तिको घोषणा गर्दा कामिन्दु मेन्डिस अविजित एक सय ८२ रन बनाउँदै क्रिजमा थिए । कामिन्दु मेन्डिस दोहोरो सतकभन्दा केवल १८ रनले पछाडि रहँदा श्रीलंकाले पाली समाप्तिको घोषणा गरेको हो । उनले लामो समय क्रिजमा संघर्ष गरेर दुई सय ५० बलमा चार छक्का र १६ वटा चौका पनि हिर्काएका थिए । टेस्ट क्रिकेटमा कामिन्दु मेन्डिसले बनाएको यो पाँचौँ सतक हो ।

अर्का ब्याट्सम्यान कुशल मेन्डिस अविजित एक सय ६ रन बनाउँदै क्रिजमा थिए । उनले एक सय ४९ बलको सामना गरी तीन छक्का र ६ वटा चौका हिर्काए । टेस्ट क्रिकेटमा कुशल मेन्डिसले बनाएको यो १०औँ सतक हो । श्रीलंकाले चार सय दुई रनमा आफ्नो पाँचौँ विकेट गुमाएको थियो । त्यसपछि कामिन्दु मेन्डिस र कुशल मेन्डिसले टोलीका लागि दुई सय रनको साझेदारी गरे ।

त्यसअघि श्रीलंकाका लागि विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डिमलले पनि सतक बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले एक सय १६ रन बनाए । उनले दुई सय आठ बलको सामना गरी १५ चौका पनि हिर्काए । उनले टेस्ट क्रिकेटमा बनाएको यो १६ औँ सतक हो ।

यसैगरी, अनुभवी ब्याट्सम्यान एन्जेलो म्याथ्युजले पनि टोलीको खातामा ८८ रन थपे । उनले एक सय ८५ बलको सामना गरी सात चौका पनि हिर्काएका थिए । ३७ वर्षीय म्याथ्युजले टेस्ट क्रिकेटमा बनाएको यो ४४औँ अर्धसतक हो । श्रीलंकाका लागि ओपनर ब्याट्सम्यान दिमुथ करुनारत्नेले पनि ४६ रनको योगदान गरे । उनले एक सय नौ बलको सामना गरी चार चौका हिर्काए । अर्का ओपनर ब्याट्सम्यान पाथुम निसानका भने एक रन बनाउँदै पेभेलियन फर्किएका थिए ।  

घरेलु टोलीका लागि कप्तान धनन्जय डा.सिल्भाले पनि ४४ रनको योगदान गरे । उनले ८० बलमा एक छक्का र तीनवटा चौका प्रहार गरे । श्रीलंकाले अतिरिक्त रुपमा पनि १९ रन पाएको थियो । भ्रमणकारी टोली न्युजिल्यान्डका बलर ग्लेन फिलिप्सले तीन विकेट लिए ।

टिम साउथीले पनि एक विकेट हात पारे । दोस्रो टेस्टमा श्रीलंकाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । शृंखलामा श्रीलंका १–० ले अगाडि छ । यसअघि खेलिएको पहिलो टेस्टमा श्रीलंकाले भ्रमणकारी टोली न्युजिल्यान्डलाई ६३ रनले हराएको थियो ।

टेस्ट क्रिकेटको एउटै पालीमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि श्रीलंकाकै नाममा छ । श्रीलंकाले सन् १९९७ को अगस्तमा खेलिएको भारतविरुद्धको टेस्टमा केवल ६ विकेट गुमाएर नौ सय ५२ रन बनाउँदै पाली समाप्तिको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप