शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको अमेरिका भ्रमण

यूएनको कार्यक्रम सकेर बोस्टनमा घुमफिरको तयारीमा प्रधानमन्त्री ओली

यी हुन् युएनमा उठाएका मुख्य तीन कुरा
शुक्रबार, ११ असोज २०८१, १७ : ००
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हाल अमेरिकामा छन् । संयुक्त राष्ट्र संघ (यूएन)को ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका गएका हुन् । भ्रमणका क्रममा ओलीले संयुक्त राष्ट्र संघको विभिन्न सत्रमा सहभागी हुनुका साथै उच्चस्तरीय साइडलाइन भेटवार्ता पनि गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर पाकिस्तानका प्रधानमन्त्री, चीनका विदेशमन्त्री लगायतसँग ओलीले भेटवार्ता गरे ।

उनले संयुक्त राष्ट्र संघको महासभाको विभिन्न सत्रमा भाग लिँदा मुख्य रूपमा तीन वटा कुरामा जोड दिएको देखिन्छ– शान्ति प्रक्रिया, जलवायु परिवर्तन र छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध । ‘आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दख्खल नदिने र आफ्नो स्वतन्त्र हैसियतको नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको नीति छ । त्यो कुरा पनि म संयुक्त राष्ट्र संघमा राख्दैछु,’ ओलीले भनेका थिए ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले भदौ ३१ संसदमा सम्बोधन गर्दै आफूले उठाउने एजेण्डाका बारेमा जानकारी दिएका थिए ।

छिमेकीसँग सम्बन्ध

प्रधानमन्त्री ओलीले बिहीबार यूएनको महासभालाई सम्बोधन गर्दै भनेका थिए, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने गहिरो विश्वासका साथ हामीले हाम्रो विदेश नीति सञ्चालन गरिरहेका छौँ । पारस्परिक सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता, एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेप र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्द्रपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध छ ।’

नेपालको विदेश नीतिको बारेमा ओलीले आफ्नो सम्बोधनको क्रममा पटकपटक दोहो¥याएका थिए । नेपालले पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुुन र विश्व शान्तिका मान्यतामा आधारित शान्तिपूर्ण, स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीतिलाई सधैँ पालना गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छिमेकीहरू र बाहिरका मुलुकहरूसँगको घनिष्ठ, सौहार्द्रपूर्ण र रचनात्मक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले यूएनमा नेपालको विशेष उपस्थिति खोजेका छन् । उनले संयुक्त राष्ट्र संघको शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठुलो योगदान नेपालले दिएको उल्लेख गरे । महासभालाई सम्बोन्धन गर्दै उनले सबभन्दा ठुलो सहयोगकर्ताको नाताले सोही अनुसार नेपालको भूमिका हुनुपर्नेमा जोड दिएका थिए ।

ओलीले भने, ‘हाम्रो महत्त्वपूर्ण योगदानलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रको मुख्यालय र क्षेत्र दुवैमा नेतृत्वको पदमा समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा नेपालले विश्वास लिएको छ ।’ उनले यूएनमा थप सुधारको आवश्यकता रहेको समेत बताए ।

शान्ति प्रक्रिया

प्रधानमन्त्री ओलीले युक्रेन र मध्यपूर्वलगायतका द्वन्द्वहरू समाधान गर्ने एकमात्र माध्यम कूटनीतिक संवाद रहेको उल्लेख गर्दै प्रेम र सद्भावद्वारा नै शत्रुता र घृणालाई परास्त गर्न तथा दिगो शान्तिको मार्ग प्रशस्त गर्न सकिने धारणा राखेका थिए ।

इजरायल–प्यालेस्टाइन द्वन्द्वको मुद्दामा दुई राज्यको अवधारणा मार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले इजरायल र प्यालेस्टाइन शान्तिपूर्ण र सुरक्षित रूपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सहअस्तित्वमा रहेको उल्लेख गरे ।

लिबिया, सिरिया, सुडान, दक्षिण सुडान, यमन र अन्य ठाउँहरूमा बिग्रिँदै गएको मानवीय सङ्कटलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने, ‘शान्ति र स्थायित्व सुनिश्चित गर्न संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लिखित सार्वभौम समानता, गैरहस्तक्षेपका सिद्धान्तहरू पालना गर्नु महत्त्वपूर्ण छ र हामी कुनै पनि प्रकारको एकपक्षीय हस्तक्षेप वा प्रतिबन्धको कडा विरोध गर्छौं ।’

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई ठुला राजनीतिक दल (कांग्रेस–एमाले)को सहकार्यमा बनेको वर्तमान सरकार जनताको समावेशी र समतामूलक समृद्धिका लागि आर्थिक रुपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न कटिबद्ध रहेको दाबी गरे ।

द्वन्द्वबाट उदाएको राष्ट्रका रूपमा नेपालले शान्ति र राजनीतिक स्थिरताको गहिरो मूल्य बुझेको उल्लेख गर्दै उनले सन् २००६ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नै नेपाल शान्ति प्रक्रियालाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गरे ।

आफ्नो नेतृत्वमा सरकार गठन भएलगत्तै संसदले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई पारित गरी शान्ति प्रक्रियालाई सधैँका लागि समाधान गरेको बताउँदै ओलीले कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितको अधिकारलाई ध्यानमा राख्ने धारणा राखे ।

उनले द्वन्द्वकालका घाउलाई निको पार्न क्षतिपूर्ति तथा मेलमिलाप विधि पनि प्रयोग गर्ने उल्लेख गर्दै यस सम्बन्धमा संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय समुदायको समर्थनको कदर गर्ने धारणा राखेका थिए ।

जलवायु परिवर्तन

जलवायु परिवर्तन समृद्धिका लागि सबैभन्दा ठुलो खतराको रूपमा देखा परेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाल त्यसबाट विशेष प्रभावित भएको बताए । सबैभन्दा चिन्ताको विषय हिमालबाट हिउँ कम हुँदै गइरहेको बताउँदै उनले यो नोक्सानले मानिसहरूका लागि पानी उपलब्धता खतरामा परेको धारणा राखेका थिए । नेपालले आफ्नो वन, पहाड र नदीहरू मार्फत स्वास्थ्यमा योगदान दिइरहेको बताउँदै प्रधानमन्त्री ओलीले यी प्रयासहरूका बाबजुद पनि जलवायु परिवर्तनको पीडा सहन बाध्य रहेको बताएका थिए ।

उनले जलवायु परिवर्तनको असर कम गर्नेतिर काम गर्न सबैलाई आग्रह गरे । जलवायु परिवर्तन विश्वव्यापी चुनौती भएकाले यसको व्यापक प्रभावलाई सम्बोधन गर्न विश्वव्यापी कार्य र सहयोगका लागि उनले आह्वान गरे ।

भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम भने स्थगित गरेका थिए । व्यस्तता र सुरक्षा लगायतका कारणले उक्त कार्यक्रम स्थगित गर्नुपरेको थियो । अमेरिका गएकै भोलिपल्ट प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए । त्यसको भोलिपल्ट आइतबार उनले ‘समिट अफ फ्युचर’मा सम्बोधन गरेका थिए ।

त्यही दिन उनले भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बे, कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै साइडलाइन वार्ता गरेका थिए । सोमबार युनिसेफले आयोजना गरेको कार्यक्रममा उनी प्रमुख वक्ताका रुपमा सहभागी भएका थिए । त्यसपछि कोलम्बिया युनिभर्सिटी पुगेर त्यहाँका नेपाली विद्यार्थीलाई सम्बोधन गरेका थिए ।

मंगलवार युएसएआइडीका प्रमुख समन्थ पवारसँग पनि प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका थिए । त्यही दिन उनले युरोपियन काउन्सिका प्रमुख चार्ल्स माइकल, फिनल्याण्डका राष्ट्रपति एलेकजेण्डर स्टब, सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफासँग साइडलाइन भेटवार्ता गरेका थिए ।

बुधवार त्यहाँको स्थानीय समय अनुसार ११ बजे प्रधानमन्त्री शर्मा ओलीले एमसीसीका कार्यकारी प्रमुख एलिस म्याकब्राइटसँग नेपालमा एमसीसी कार्यान्वयनको विषयमा छलफल गरेका थिए । त्यसपछि उनले जलवायु जोखिम फोरमलाई सम्बोधन गरेका थिए । युएनकै एक उच्चस्तरीय बैठकमा उनले आन्तरिक खतरा तथा समुद्रीस्तर वृद्धिको बारेमा आफ्नो प्रस्तुति दिएका थिए ।

संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा पनि प्रधानमन्त्री ओली सरिक भएका थिए । बिहीबार कतारका प्रधानमन्त्री र पाकिस्तानका प्रधानमन्त्रीसँग छुट्टाछुट्टै साइडलाइन वार्ता गरेका ओलीले सोही दिन राष्ट्र संघको महासभालाई सम्बोधन गरेका थिए ।

युएनको मुख्य कार्यक्रम सकेपछि बोस्टन पुगेर शुक्रबार र शनिबार उनले घुमफिर गर्ने कार्यक्रम छ । यस क्रममा सानातिना भेटघाटका कार्यक्रमका साथै हार्वर्ड युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुलाई शुक्रबार स्थानीय समय अनुसार अपराह्न चार बजे सम्बोधन गर्ने कार्यक्रम छ । आइतबार अमेरिकाको समय अनुसार ११ः४० बजे प्रधानमन्त्री ओली कतार एयरवेजबाट कतार फर्किने कार्यक्रम छ । सोमबार ४ः४५ बजे उनी नेपाल आइपुग्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप