शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

एन्फा महिला लिग फुटबल : एपीएफ क्लब अपराजित रहँदै दोस्रो चरणमा

शुक्रबार, ११ असोज २०८१, १५ : ००
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । विभागीय टोली एपीएफले शुक्रबार सम्पन्न खेलमा बागमती युवा क्लबलाई ७–० गोलको फराकिलो अन्तरले हरायो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको खेलमा एपीएफका लागि रश्मीकुमारी घिसिङ एक्लैले चार गोलको योगदान गरिन् । अनिता बस्नेत र सविता रानामगरले पनि एक–एक गोल गरे । एक गोल भने बागमती युवा क्लबका खेलाडीबाट आत्मघाती रूपमा भएको थियो ।

एपीएफ क्लबले नौ खेलबाट २५ अंक बटुल्यो । एपीएफ क्लब आठ खेलमा विजयी भयो भने एक खेलमा बराबरीमा रोकिएको थियो । पराजित बागमती युवा क्लबले समान खेलबाट १० अंक जोड्यो । बागमती तालिकाको छैटौँ स्थानमा छ ।

आठ खेल खेलेको त्रिभुवन आर्मी क्लब १९ अंकसहित दोस्रो, समान खेल खेलेको नेपाल पुलिस क्लब १८ अंकसहित तेस्रो, नौ खेल खेलेको वालिङ नगरपालिका १५ अंकसहित चौथो र नौ खेल खेलेको कोशी प्रदेश १४ अंकसहित पाँचौँ स्थानमा छन् ।

एपीएफ क्लबसँगै आर्मी क्लब, पुलिस क्लब, वालिङ नगरपालिका र कोशी प्रदेश प्रतियोगिताको दोस्रो चरणमा पुगिसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित उक्त प्रतियोगितामा १० वटा टोलीको सहभागिता छ । पहिलो चरणको समाप्तिपछि अंक तालिकाको माथिल्लो पाँच स्थानमा रहने टोली दोस्रो चरणमा पुग्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप