शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

वडा कार्यालयहरू कर्मचारीविहीन, स्वास्थ्य संस्थासमेत बन्द

शुक्रबार, ११ असोज २०८१, १४ : ५१
शुक्रबार, ११ असोज २०८१

दैलेख । करार कर्मचारीलाई हटाएपछि चामुण्डाबिन्द्रासैनी नगरपालिकाका वडा कार्यालयहरू कर्मचारीविहीन बनेका छन् । नगरपालिकाको वडा नम्बर १, ६ र ७ का वडा कार्यालयहरू कार्यालय सहयोगीको भरमा चलिरहेका हुन् । 

असोज तीन गते नगरपालिकाले ७१ जना कर्मचारीहरूलाई तलब भत्ता दिन नसकिने भन्दै हटाएको थियो । उक्त लिस्टमा वडाका कर्मचारीहरू समेत परेका थिए । 

नगरपालिकाले सामाजिक परिचालक, पशुसेवा प्राविधिक, कृषि सेवा प्राविधिक, अनमी चौथो, अ‍हेव चौथो, नगर प्रहरी, अनमी, कार्यालय सहयोगी र कुचीकार गरी ७१ जनाको करार सेवा सम्झौता रद्द गरेको थियो ।

वडा नम्बर १ का वडाध्यक्ष उदे कामीले कर्मचारी हटाइएपछि सामान्यतया: सिफारिसहरूको काम भएपनि स्थानीय पञ्जिकाधिकारीले गर्ने काम काज नभएको बताए । वडा नम्बर ६ र ७ मा पनि उस्तै समस्या रहेको छ । 

कार्यालय सहयोगीको भरमा कार्यालय चलाउँदा सामान्य सिफारिस दिन पनि समस्या भएको कामीले बताए । वडा नम्बर ७ का वडाध्यक्ष इन्द्र प्रसाद चौलागाईं वडामा जन्म दर्ताका केही सेवाग्राही आउने गरेपनि कर्मचारी नभएकाले खाली हात फिर्ता पठाउनु परेको बताए । 

स्वास्थ्य क्षेत्रका कर्मचारी हटाइएपछि स्वास्थ्य सेवाहरूमा समेत असर परेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेका ६ वटा सहरी स्वास्थ्य क्लिनिक र ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र असोज ४ बाट बन्द रहेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी मान कुमारी शाहीका अनुसार बर्थिङ सेन्टरका कार्यालय सहयोगी तथा अन्य कर्मचारीलाई हटाउँदा समस्या भएको छ ।

पालिकाको नियमित खोप १६ गते भएकाले कसरी खोप व्यवस्थापन गर्ने भन्ने विषय अन्योल रहेको उनले बताइन् । सहरी स्वास्थ्य क्लिनिक, आधारभूत स्वास्थ्य सेवा केन्द्र बाट सेवाग्राहीले सेवा पाएका छैनन् भने चामुण्डा स्वास्थ्य चौकी, जम्बुकाँध स्वास्थ्य चौकी र लयाँटी स्वास्थ्य चौकीबाट सेवा दिइरहेको उनको भनाइ छ ।

नगरपालिकाको आन्तरिक आम्दानी र संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँटबाट नियुक्त गरिएका केही करार कर्मचारीलाई वडा सचिवको जिम्मेवारी दिई वडामा पठाउन प्रयास गरिए पनि कर्मचारीहरू जान मानिरहेका छैनन् ।

कार्यालयमा स्थायी दरबन्दीमा रहेका प्रशासन सेवाका सहायक स्तर चौथो र सहायक स्तर पाँचौँमा कार्यरत केही कर्मचारीलाई वडामा पठाउन प्रयास गरिएको थियो । तर उनी जान नमानेको नगरपालिकाले जनाएको छ ।

प्रशासन सेवाका कर्मचारी वडामा जान नमानेपछि असोज ८ गतेका पशु सेवा शाखामा कार्यरत पशु प्राविधिक करनसिंह धामीलाई वडा नम्बर १, सहायक कम्प्युटर अपरेटर झलक कुमार खत्रीलाई ७ को वडा सचिवको जिम्मेवारी दिई पत्र बनाइए पनि उनीहरू वडामा गएका छैनन् ।

यस्तै करार कर्मचारी हटाउने निर्णयसँगै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गठित नगर प्रहरीहरू अलपत्र परेका छन् । स्थानीय सरकारले आन्तरिक राजस्वबाट तलब भत्ता दिने गरी गठित नगर प्रहरीलाई हटाइएको छ ।

यो विषयमा बुझ्न खोज्दा नगरपालिकाका उपप्रमुख मनसरा रेग्मीले स्थायी कर्मचारीहरूलाई वडामा पठाउनेबारे तयारी भइरहेको बताइन् । रातोपाटीसँग कुराकानी गर्दै उनले भनिन्, ‘नगर प्रहरीदेखि करार कर्मचारीको विषयमा अख्तियारमा मुद्दा परेको थियो । हामी पहिलामा मेयरदेखि अहिलेका मेयर–उपमेयर गएर कुरा गरेर आयौँ तर, अख्तियारले तत्काल करार कर्मचारी हटाउन भनेकाले निर्णय गरेर दिनुपर्ने भएकाले पनि हटाएका हौँ ।’

यो नगरपालिकाले नगर प्रहरी राख्दा पनि हचुवाका भरका राखेको थियो । करार कर्मचारी हटाइएपछि सेवा प्रवाह प्रभावित भएको कुरा भने उनले स्वीकार गरिन् । यसको समस्या सधानका लागि ओएनएमबाट कर्मचारी भर्ना गर्ने विषयमा सोचिरहेको उनले बताइन् । अहिले प्रभावित भइरहेको सेवालाई सञ्चालन गर्न स्थायी कर्मचारी पठाउने भनिएको तर आफू काठमाडौँ भएकाले बुझ्न नपाएको जवाफ दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप