शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

प्रधानमन्त्री फर्किएपछि उपसभामुखविरुद्ध महाभियोग आउँछ : विराजभक्त श्रेष्ठ

‘अदालतले पुर्जी काट्ने बित्तिकै रविले छानबिनमा सहयोग गर्नुहुन्छ’
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ क्षेत्र नम्बर–८ का सांसद विराजभक्त श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)भन्दा अघि विवेकशील साझा पार्टीमा सक्रिय थिए । २०७२ सालको भूकम्पमा स्वयंसेवी टोली बनाएर राहत र उद्धारमा उनी सक्रिय भए । वातावरण संरक्षणका लागि भन्दै फोर्स नेपाल नामक संस्था खोलेर उनले ‘वान ट्री, मेरो जिम्मेवारी’ अभियान पनि चलाए ।

पाँच वर्ष बागमती प्रदेश सभा सदस्य रहेका उनी २०७९ सालको निर्वाचनपछि प्रतिनिधि सभा सदस्य बनेका हुन् । विजनेश एडमिनिस्ट्रेशनका स्नातक श्रेष्ठले होटल, रेष्टुरेण्ट पनि चलाए । ठट्यौली प्रस्तुति तर अर्थपूर्ण भनाइ राख्ने सांसदको रूपमा उनी संसदमा चिनिन्छिन् ।

खेलकुदमन्त्री रहिसकेका उनी रास्वपा संसदीय दलका उपनेता हुन् । श्रेष्ठसँग विविध विषयमा रातोपाटीले कुरा गरेको छ । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • राजनीतिमा आएर गल्ती गरिएछ भन्ने लाग्न थालेको हो ?

गल्तीभन्दा पनि थाकेको महसुसचाहिँ हुन थालेको छ । जे गर्न भनेर आएको, एकदम ‘डिस्ट्रयाक्सन’ भएकोजस्तो लाग्छ ।

  • रास्वपा रोज्नुचाहिँ गल्ती गरिएछ भन्ने भएको हो कि ?

त्यो त नभनौँ । तर सुधार्नुपर्ने कुरा छ । राजनीतिक प्रक्रिया पूरा गर्नुपर्ने पनि छ । संघर्ष भनेको त जहाँ गए पनि हुने नै रहेछ ।

  • हिजो विवेकशील साझामा हुनुहुन्थ्यो । अहिले रास्वपामा हुनुहुन्छ । फेरि विकल्प खोज्ने बेला भयो कि भनेको ?

छैन । त्यसरी नहेरौँ । राजनीतिक ध्रुवहरूको कुरा गर्दा यो वैकल्पिक ध्रुवको कुरा  हो । तर वैकल्पिक शक्ति अहिले तरल अवस्थामा छ । यसले राजनीतिक अभ्यासचाहिँ गर्न बाँकी छ ।

  • रास्वपाले छोटो समयमा जुन उचाइ प्राप्त गर्‍यो, अब यत्ति नै बरु ओरालो लाग्छ भन्नेहरूलाई तपाईंको जवाफ के हुन्छ ?

त्यस्तो होइन । हामीसँग डराएर परम्परागत दलहरू एक ठाउँ आएका छन् । यसले त रास्वपा उदाउँदै गरेको शक्ति भन्नेचाहिँ प्रमाणित हुन्छ ।

  • स्वतन्त्र ढङ्गले हिँडेको, बोलेको, काम गरेको व्यक्ति अहिले पार्टीको बन्धन, त्यसमा पनि सभापतिले जे भन्यो त्यो मान्नुपर्ने, कतै आफूलाई  भेंडाबाख्राजस्तो पो भइयो कि भन्ने लाग्दैन ?

पहिलो कुरा दलको अर्थ, महत्त्व, दल र स्वतन्त्र व्यक्तिलाई हाम्रो प्रणालीले हेर्ने तरिका बुझ्नुपर्ने हुन्छ । भेंडा भन्ने कुराचाहिँ कतिपय कुरा परिबन्द पनि हो र दायित्व पनि हो । त्यो भनेर हामी एकदम रक्षात्मक मोडमा पनि छैनौँ । हाम्रो पार्टीभित्र लोकतान्त्रिक अभ्यास छैन भन्ने बाहिर जुन भाष्य छ, त्यस्तो होइन । हामी अन्धभक्त छैनौँ ।

  • रास्वपा पार्टी अहिले कस्तो अवस्थामा छ ? कसरी चलिरहेको छ ?

राजनीतिक रूपमा हामी पार्टी नै बनिसकेका छैनौँ । हामी पार्टी बन्ने प्रक्रियामा छौँ । अरु जाँच दिएपछि पास हुन्छन् । हामीचाहिँ पास भएपछि अब राजनीतिक जाँचहरू दिँदैछौँ ।

  • पार्टी नबनिसकेकाले तपाईंहरू पार्टीभन्दा सभापति जोगाउन हिँड्नुभएको ?

नयाँ दलसँग परम्परागत दलहरू यति धेरै उद्वेलित किन भए ? हामीभन्दा अघि देशमा रामराज्य त थिएन नि । हाम्रो पार्टी सभापतिविरुद्ध राज्यको दूरुपयोग गरिएको आशङ्का छ । राजनीतिक प्रतिशोध लिन खोजिँदै छ भन्ने हाम्रो आशङ्का छ ।

  • रास्वपा विधिको शासन, कानुनी राज्य भन्ने कुरा मान्छ कि मान्दैन ?

मान्छ नि ।

  • देखिएन त ?

कहाँनेर देख्नुभएन ?

biraj bhakta shrestha  3

  • प्रहरीलाई जिम्मा नलगाएर सहकारी प्रकरणमा जोडिएका पार्टी सभापतिलाई प्रहरीले पक्राउ गर्न खोज्दा किन घेरेर राख्नुभएको ?

हामीले जिम्मा लगाउने हो र ? त्यही हो त विधिको शासन ? अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ? सरकारले नै मिडिया ट्रायल गर्ने ?

  • प्रहरीले ‘हामी हजुरलाई पक्राउ गर्न आउँदैछौँ’ भन्नुपर्ने ?

देशको चौथो ठुलो दलको सभापति । उपप्रधानमन्त्री भइसकेको व्यक्ति । प्रधानमन्त्री अहिले देश बाहिर हुनुहुन्छ । यस्तो खालको गतिविधि गर्दा केही खालको सल्लाह त होला नि । मध्यरातमै समातेर लाने हो कि भनेजस्तो ।

  • मध्यरातमा समात्दा के हुन्छ त ?

प्रक्रिया पालना गर्नुपर्‍यो नि । अदालतको अनुमति चाहिएला ।

  • पक्राउ गर्न आउँदा प्रहरीले ल्याउला नि, होइन र ?  

ठिक छ त । लिएर आए हामीले के भनेका छौँ त ? अनुसन्धानका लागि हामी तयार छौँ । तर प्रक्रियाबाट आऊ भनेको त हो ।

  • छानबिन समितिको प्रतिवेदनबारे तपाईंको पार्टीको निष्कर्षचाहिँ के हो ? रवि लामिछाने दोषी हो कि होइन ?

त्यो हामीले कसरी भन्न सक्छौँ ?

  • प्रतिवेनबारे चाहिँ भनाइ के हो ?

निष्पक्ष अनुसन्धान गर्दा कानुनले, अदालतले जे भन्छ, हामी स्वीकार्छौं ।

  • अनि हाम्रो सभापतिले क्लिन चिट पाउनुभयो भनेर किन भन्नुभएको त ?

जुन चिजको आरोपमा साढे दुई महिना संसद अवरोध गरियो, त्यो प्रमाणित भएन त ?

  • पैसा पो झिकेको देखिएन भनेको त, पैसा मज्जाले खानुभयो भन्ने छ त प्रतिवेदनमा, होइन ?

त्यो निर्णय गर्ने न्यायाधीश तपाईं, हामी होइन । अदालत छ ।

  • आफ्नै पार्टी सभापतिलाई कारबाहीको सिफारिस गर्ने प्रतिवेदनमा त्यही पार्टीका सासंदले किन हस्ताक्षर गर्नुभयो होला ?

विधिको शासन नमान्ने पनि भन्नुहुन्छ । फेरि किन हस्ताक्षर गरेको पनि भन्नुहुन्छ । त्यो त उहाँले प्रक्रियालाई मानेको हो नि ।

  • सभापतिलाई सिद्ध्याउन आफ्नै पार्टीका पदाधिकारीबाट यो काम भयो भनिन्छ नि ?

मलाई थाहा नभएको कुरा । तर त्यस्तो खालको कुरा पार्टीभित्र रहेछ भने त्यसलाई हेर्ने हाम्रो आफ्नै प्रणाली छ ।

  • संसदीय छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको व्यक्ति आफैँले क्लिन चिट पाएँ भन्नु केटाकेटी कुरा होइन ?

 यो कुराको निर्क्योल गर्ने पनि राज्यका निकाय होलान् । तिनीहरूलाई सम्मान गरौँ । विधिको शासन भनेकै यही हो त । हामीले त्यसलाई नकारेका छैनौँ । अनुसन्धानमा जान हामी नै प्रेरित गरिरहेका छौँ । सभापति स्वयंले नै सहकारी पीडितको आन्दोलनको नेतृत्व मै गर्छु भन्नु भएको छ ।

  • तपाईंहरूलाई प्रतिवेदन पूर्वाग्रही भयो भन्ने पनि लाग्या छ ?

देशको एक आर्थिक वर्षको बजेटको करिब २० प्रतिशत रकम हिनामिनाको कुरा छ । रवि लामिछानेको ६५ करोडको कुरा छ । तर त्यही प्रतिवेदनमा पौने तीन खरबको अपचलनको कुरा पनि त छ नि । त्यसमा पनि निष्पक्ष छानबिन गरौँ भन्ने हाम्रो भनाइ हो ।

  • यो सरकारबाट निष्पक्ष छानबिन हुँदैन कि भन्ने आशङ्का हो तपाईंहरूलाई ?

जुन तरिकाबाट सरकार पेस भइरहेको छ, यसले आशङ्का भएको छ । पक्राउको कुरा सरकारबाट भन्दा पनि सञ्चारमाध्यमबाट सार्वजनिक गरेर परिस्थितिलाई उद्वेलित गराउने काम किन भइरहेको छ ?

  • लेनदेन गरेको आशङ्कामा ढाकाकुमार श्रेष्ठलाई ७२ घण्टाभित्र कारबाही, ६५ करोड खाएको भनी सिफारिस भएका रविजीलाई भने जोगाउन तपाईंहरू ज्यान फालेर लाग्नु भएको छ, किन ?

जोगाएको, नजोगाएको भन्ने होइन । हामीलाई यसका राज्यको दुरुपयोग भयो भन्ने आशङ्का छ । अनुसन्धानको पाटोमा हामी एकदम खुला छौँ ।

  • यदि अदालतले पक्राउ पुर्जी जारी गर्‍यो भने, प्रहरी पक्राउ गर्न गयो भने हामी अवरोध गर्दैनौँ भन्न सक्नुहुन्छ ?

अनुसन्धानमा अवरोध गर्दिनँ भनेर त सभापति आफैँले भनिसक्नुभएको छ ।  

  • नेकपा माओवादी केन्द्र र रास्वपाको सारै निकटता देखिन्छ, कारण के हो ?

विपक्षी दलहरू मुद्दाका आधारमा एक ठाउँ देखिएका हुन् ।

  • जनताका मुद्दा त होइन । कसैको पद जोगाउन जस्तैः कुलमान घिसिङ हुँदै उपसभामुख इन्दिरा रानासम्म आइपुग्दा एकैठाउँ देखिनुभयो भनेको नि ?

कुरो उपसभामुख एउटा पदको मात्र होइन । संवैधानिक परिषद र त्यहाँबाट हुने नियुक्तिहरूको कुरा हो । ती नियुक्तिहरूलाई आफ्नो पोल्टामा, आफ्नो नियन्त्रणमा राख्ने राजनीतिसँग जोडिएको विषय हो । यसले पछि कस्तो असर पार्ला ? नजिर कस्तो बसाउन खोजिँदैछ ?

  • उपसभामुखलाई सरकारले लगाएको आरोप कहाँ संवैधानिक परिषदसँग सम्बन्धित छ र ? आरोप त अर्कै छ नि ?

मान्छे मन नपरेपछि बहाना त जे पनि बनाइन्छ नि ।

  • भिसाका लागि उपसभामुखले दूतावासलाई लेखेको पत्रचाहिँ ठिक हो त ?

उहाँ अहिले अर्कै भूमिकामा हुनुहुन्छ । त्यसको लागि प्रक्रियामा लगिदिनुस् । तर त्यो बहाना गरेर अर्कै चिज नगर्नुस् ।

उपसभामुखको खड्गो टरेको हो कि अझै बाँकी छ ?

प्रधानमन्त्री फर्किएपछि उहाँले फेरि कोसिस गर्नुहुन्छ ।

भनेको प्रधानमन्त्री अमेरिकाबाट फर्किएपछि उपसभामुखलाई हटाउन फेरि प्रयत्न गर्नुहुन्छ ?

त्यो सम्भावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया