आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काम गर्न नसक्नेहरूलाई पदमा बसिरहने छुट छैन :  मन्त्री पाण्डे

शुक्रबार, ११ असोज २०८१, १४ : २४
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरूलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् । पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री पाण्डेले आफूले पनि काम गर्न नसके एक मिनेट पनि मन्त्री भएर नबस्ने जिकिर गरे । कोही पनि निकायको प्रमुखहरूले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको उनले बताए । उनले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि बताए । उनले जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताए । 

मन्त्री पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गरे । उनले निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने बताए । उनले हिउँदे अधिवेशन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानुन बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताए ।

उनले भने, ‘ हामी जोजो जुन जुन ठाउँमा छौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन । कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन । त्यसका लागि कानुन हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ । सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनु पर्छ । त्यो दिशामा म सबै निकायका प्रमुखहरूलाई र त्यसमा रहनुभएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु ।’

मन्त्री पाण्डेले निजी क्षेत्रले देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरि राखेर नीति र कानुन बनाउन लाग्नुपर्ने बताए । निजी क्षेत्रप्रति सरकार सम्पूर्ण रूपमा सकारात्मक रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप