शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

दैनिक उपभोग्य वस्तु र सार्वजनिक यातायातमा मानवअधिकार आयोगको अनुगमन

शुक्रबार, ११ असोज २०८१, १३ : ५१
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले दैनिक उपभोग्य खाद्यान्न तथा अन्य वस्तुहरूको विक्री वितरणको अवस्था र उपलब्धता, सार्वजनिक यातायातको व्यवस्थापन लगायतका विषयमा अनुगमन गरेको छ । आयोगले  दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा अनुगमनलाई तीव्रता दिएको हो ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन एवम् सो अन्तर्गतका सुपथ मूल्यका पसलहरु, सुपर मार्केट र खुद्रा किराना पसलहरूको अनुगमन गरेको  बताएको छ । साथै काठमाडौँ उपत्यकाका बल्खु, कलङ्की, नयाँ बसपार्क, गौशाला र कोटेश्वर क्षेत्रमा रहेका यातायात व्यवसायी केन्द्रहरू र सेवाग्राहीहरूसँग समेत आयोगले जानकारी लिएको छ । 

अनुगमनका क्रममा तरकारीजन्य सामग्रीहरूको मूल्यमा अत्यधिक वृद्धि हुँदै गएको र एकै प्रकारका सामानहरूमा खुद्रा पसलहरूमा भन्दा ठुला सुपर मार्केटको मूल्यमा अधिकांशमा धेरै बढी मूल्य रहेको पाइएको आयोगले जनाएको छ ।

यातायाततर्फ चाडपर्वमा सर्वसाधारणलाई आवतजावतमा सहज बनाउनका लागि अग्रिम टिकट बुकिङको लागि अनलाइन व्यवस्था गरिएको र यातायात व्यवस्था विभाग लगायतका निकायबाट तोकिएको भन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरिएको जानकारी प्राप्त भए पनि काठमाडाैँदेखि हेटौँडासम्म चल्ने सवारी साधनहरूले नियम विपरीत झन्डै दोब्बर भाडा लिने गरेको पाइएको आयोगले जनाएको छ । 

सबै टिकट काउन्टरहरूमा भाडा सूची राखिएको तर केही बाहेक सवारी साधनमा भने भाडा सूची नराखिएको, ठुला बसपार्कहरूमा शौचालयको व्यवस्था भए पनि पर्याप्त नभएको, यात्रुहरूलाई सहचालकबाट मर्यादित व्यवहार नभएको, साना सवारी साधनहरूमा आरक्षण सुविधा नरहेको जस्ता तथ्यहरू अनुगमनका क्रममा पाइएको आयोगको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप