शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

रवि लामिछानेको विषयमा रास्वपा बैठकले कस्तो बनाउँदैछ रणनीति ?

केन्द्रीय समिति बैठकका ६ वटा एजेन्डा तय
शुक्रबार, ११ असोज २०८१, १३ : ४३
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । सभापति रवि लामिछानेको सहकारी विवादको उल्झनमा फसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार बिहान साढे ११ बजेका लागि पार्टी कार्यालय वनस्थलीमा बैठक बोलाइएको जानकारी दिए । 

उनकाअनुसार बैठकमा ६ वटा विषय छलफल गर्नका लागि एजेन्डा प्रस्तुत गरिएको छ । ती एजेन्डामध्ये समसामयिक राजनीति र विविध पनि हुन् । पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार समसामयिक राजनीतिक विषयमा केन्द्रीय नेताहरूले पार्टी र सरकार लगायत विषयमा धारणा राख्न पाउने छन् ।

आइतबार एक दिन मात्र बस्ने बैठकमा पार्टी सभापति लामिछानेमाथि पछिल्लो समयमा सरकारले गरेको निगरानीप्रति पनि छलफल हुने उनले बताए । सूर्य थापा नेतृत्वको सहकारी बचत अपचलन सम्बन्धी विशेष संसदीय छानबिन समितिले दिएको प्रतिवेदन र त्यसपश्चात् सिङ्गो रास्वपा र सभापति लामिछानेमाथि आक्रमणको प्रयास भइरहेको रास्वपाको बुझाइ छ । 

समितिले सुप्रिम सूर्यदर्शन लगायत सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ६५ करोड बढी पैसा गएको ठहर गरेको छ । जसमा जीवी राई र पूर्व डिआइजी छविलाल जोशीको संलग्नता भएको प्रतिवेदनमा लेखिएको छ । साथै सहकारीको पैसा मिडियामा पुगेपछि ‘अपचलन’ गर्नेमा राई र जोशी सहित लामिछाने पनि संलग्न भएको र उनीहरूलाई कारबाही गर्न समितिले प्रतिवेदनबाट निर्देशन दिएको छ । यस्तै गोरखा मिडिया नेटवर्कमा पैसा लैजान प्रयोग भएका कागजात पनि किर्ते र नक्कली भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

यही प्रतिवेदनलाई लिएर प्रहरीले पूर्व डिआइजी जोशीलाई पक्राउ गरिसकेको छ । जोशी पक्राउ पश्चात् आफ्ना सभापति पनि पक्राउ पर्ने भय रास्वपामा छ । त्यसैले रास्वपाले चीन भ्रमणमा पुगेका नेताहरूलाई पनि नेपाल फर्काएको छ । नेपाल आइपुगेका नेताहरू पनि लामिछानेको बचाउमा जुटेका छन् भने सभापति लामिछानेले पनि आफूमाथि प्रतिशोध साँधिएको भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

यस्तो परिस्थितिमा बस्न लागेको केन्द्रीय समिति बैठकमा यो प्रकरणमा बहस हुने र रास्वपाले केही रणनीति बनाउने आङ्कलन छ ।  पार्टी कार्यवाहक महामन्त्री बुर्लाकोटीले समितिको प्रतिवेदन पश्चात् सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।

‘समितिको प्रतिवेदन पश्चात् सरकारले अधिनायकवाद लाद्न खोजेको छ । कसलाई छानेर हान्ने भनेर हिसाव गर्दै सरकार अघि बढेको छ । न्यायिक निरूपणको हिसाबले यो ठिक भएन‚’ बुर्लाकोटीले भने‚‘ कताबाट लट्ठी छिराएर रवि लामिछानेको कठालो समात्ने प्रयासमा सरकार छ । यो राजनीतिक प्रतिशोध बाहेक केही हैन।’ यो विषयमा पार्टीले बैठकबाट ठोस धारणा बाहिर ल्याउने बताइएको छ । 

 केन्द्रीय समिति बैठकमा पार्टीले समसामयिक राजनीतिक गतिविधि बाहेक अन्य विषय पनि समावेश गरेको छ । पार्टी उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा चीन भ्रमण गएको टोलीले भ्रमणको विषयमा जानकारी गराउने छ । त्यहाँ भएको भेटघाट‚छलफल र उपलब्धि बारे केन्द्रीय समितिलाई जानकारी गराउने तयारी छ ।

यस्तै‚ बैठकमा असोज १ र २ गते राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय भेलाको विषयमा पनि छलफल हुनेछ । कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार बैठकमा भेलाको समीक्षा गर्ने तयारी पार्टीको छ । यस्तै‚ बैठकमा स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल हुनेछ । उपनिर्वाचन गर्न दल दर्ता आवश्यक हुन्छ । दल दर्ताको विषयमा पनि छलफल हुनेछ । निर्वाचन आयोगले दल दर्तका लागि असोज १६ गते सम्मलाई समय दिएको छ । स्थानीय तह उपनिर्वाचन मङ्सिर १६ मा हुने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । 

साथै‚ बैठकमा महाधिवेशन केन्द्रित गतिविधि तथा विविध विषयमा छलफल हुने पनि कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप