विकास नहुनुमा राजनीतिलाई किन दिइन्छ दोष ?
कृष्णप्रसाद पराजुली
बीबीसी साझा सवालको ५००औँ शृङ्खलामा मुलुकका सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवासँग छलफल भयो । उक्त छलफलमा प्रश्नकर्ताले राखेको प्रश्नको जवाफ दिने शैलीमाथि प्रधानमन्त्रीको सामाजिक सञ्जाललगायत सञ्चार माध्यममा तीव्र आलोचनासमेत भयो ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको योग्यता र क्षमतामाथि नै प्रश्न उठाए । चार चार पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेको व्याक्तिमाथि भएका उक्त टीकाटिप्पणीले मुलुकमा राम्रैसँग गणतन्त्र आएको भान भने दियो । प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर उनीमाथि नै तीखोआलोचना गर्नसक्नेसम्मको अधिकार हामीले प्राप्त गरेका रहेछौँ । यदि राजतन्त्रात्मक शासन व्यवस्था हुँदो हो त यस्तो विचार र अभिव्यक्तिको स्वतन्त्रता पक्कै पाइने थिएन होला । बरु त्यस्ता गम्भीर व्याक्तिगत आक्षेप लाग्ने खालका प्रश्न राखेको अभियोगमा कारागारको चिसो भुइँमा बस्नुपर्ने स्थिति आउने थियो । गणतन्त्रले नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई राम्रैसँग मलजल गरेको पुष्टि यस कार्यक्रमले समेत गर्यो । उक्त कार्यक्रममा कतिपय प्रश्नहरू प्रधानमन्त्रीको व्याक्तिगत चरित्रमाथि प्रहार गर्ने नियोजित जस्ता पनि थिए । समग्र राजनीतिप्रतिको जनताको आक्रोश र वितृष्णा उनीमाथि खनिएको थियो । तर देश नबन्नुमा के एउटा प्रधानमन्त्री मात्र दोषी हुन त ?
२००७ सालपछि देशमा पटक पटक चुनाव भए । चुनावमा हामीले पटक पटक एउटै व्याक्तिलाई जिताएर सत्तामा पठायौँ । एउटै व्याक्तिलाई पटक पटक प्रधानमन्त्री हुने अवसर प्रदान गर्यौँ । अनि उनैमाथि देश बनेन भनेर आरोप लगाइरह्यौँ । किन हामीले देश नबनाउने नेतालाई पटक पटक जनमत प्रदान गरेर सत्तामा पठायौँ ? किन विकल्प रोज्न सकेनौँ ? दोषी हामी जनता ? नेता ? एकचोटि राम्रोसँग विचार मनन गर्ने कि ?
कुनै पनि देशको राजनीति सो देशको भूधरातलीय स्वरूप तथा जनताको चेतना स्तरबाट निर्माण हुन्छ । जनताको अभिमतबाट निर्वाचित प्रतिनिधिबाटै देशको आर्थिक (सामाजिक विकासको अपेक्षा गरिन्छ, न कि कुनै विदेशी विश्वविद्यालयबाट डिग्री हसिल गरेका व्याक्तिबाट । टोकियो, अक्सफोर्ड, क्याम्ब्रिज वा कुनै उत्कृष्ट विश्विद्यालयबाट उत्कृष्ट डिग्री हसिल गरेका व्याक्तिहरू राजनीतिज्ञ हुनुपर्छ भन्ने छैन । जनताको मन जित्ने व्याक्ति नेता हुने हो र त्यो मन जित्ने आधार भनेको निर्वाचन हो । निर्वाचनबाट जनताले भोट हालेर पठाएपछि त्यो नै उनीहरूको सबैभन्दा ठूलो योग्यता हो र त्यो योग्यता प्राप्त गरेपछि जनताको चाहाना र भरोसा अनुसार उनीहरूले काम गर्नुपर्छ तर सधैँ व्याक्तिगत स्वार्थमा रुमल्लिएर देशलाई बन्धकी बनाउने नेतालाई हामीले नै चुनेका हाँै । यसर्थ दोष हामी जनताको पनि हो ।
अर्कोतिर, राजनीतिक नेतृत्वमाथि सङ्गीन आरोप लगाइरहँदा हामी सचेत जनता पनि कति पानीमाथिको ओभानो छौँ भन्ने कुरा विर्सनु हँुदैन । नेताले देश बिगारे, विकासमा पचासौँ वर्ष देशलाई पछाडि धकेले, नेताले देशलाई खत्तम बनाए, यो देश नबन्नुमा नेता दोषी छन् भनिरहँदा हामी सचेत र धेरै पढेका जनताले पनि गफ मात्र गरेका छौ कि ? सोही अनुसारकै राज्यप्रतिको दायित्व पनि निर्वाह गरेका छौँ ? एकचोटि सबैले छातीमा हात राखेर आत्म समीक्षा गर्नु जरुरी छ ।
यो देशको विकास नहुनुमा प्रमुख दोषी हाम्रा मूलधारका राजनीतिक दल र तिनीहरूका प्रमुख नेता हुन भन्नुमा दुई मत छैन । राजनीतिज्ञको उत्कृष्ट भिजन, प्रशासनको सही मार्गदर्शन तथा जनताको साथ सहयोगबाटै देश कायापलट हुने हो । यसको प्रत्यक्ष उदाहरण सिङ्गापुर, मलेसिया तथा दक्षिण कोरियालाई हेरे पुग्छ । अर्कोकुरा के भने कुनै पनि देश अरू देशको देखासिकी गरेर विकसित हुँदैन । आफनै भिजन, स्रोतसाधन, सभ्यता, संस्कार, संस्कृति तथा मूल्यमान्यताबाट आफ्नै भूधरातलीय स्वरूपअनुसार देश विकसित हुँदै जान्छ । यो विकास भन्ने कुरा ठूलाठूला महल खडा गर्ने, चिल्ला गाडी चढ्ने वा अमेरिका, हङकङ, वा कोरिया जस्तो बनाउने भन्ने मात्र पनि त होइन । आम जनताको देशप्रतिको उत्तरदायित्व, सचेतना, सकरात्मक सोच, अनुशासन, नैतिकता र सदाचार पनि देश विकाससँगै जोडिएर आउने कुराहरू हुन् । अर्थात भौतिक विकास भयो भन्दैमा त्यो देश विकसित भन्न मिल्दैन । भौतिक विकासको साथसाथै जनतामा उल्लेखित गुण, संस्कार र सभ्यता पनि हुनु जरुरी छ । तर सधैँ सामाजिक सञ्जालमा राजनीति र प्रशासनलाई आरोप प्रत्यारोप गर्ने र चिया गफमा रमाउने हामी जनताहरूले राज्यप्रति के योगदान गरेका छौँ ? एकचोटि आत्म मूल्याङ्कन गरौँ त ।
ससाना तर सकरात्मक परिवर्तन ल्याउने खालका काम एउटा सचेत नागरिकले पनि गर्न सक्छ । कर तिर्ने, ट्राफिक नियमको पालना गर्ने, नियम कानुन मान्ने, सार्वजनिक सेवा लिँदा लाइनमा बसेर लिने, समयमा बिजुली, पानी तथा फोहोरको बिल तिर्ने साथै अनुशासन, सदाचार, नैतिकता प्रदर्शन गर्ने र अनावश्यक रूपमा अर्काको आलोचना नगर्ने जस्ता सामान्य तर महत्वपूर्ण अर्थ राख्ने काम गरेर पनि देशको विकासमा ठूलो योगदान पुग्न सक्छ । तर हाम्रो प्रवृत्ति के छ भने फोहोरको पैसा तिर्दैनौँ तर एक दिन फोहोर उठाउने गाडी आएन भने सरकारलाई दोष दिन्छौँ । बिजुलीको पैसा तिर्दैनौँ अनि लोडसेडिङ हुँदा नेतालाई दोष दिन्छौँ । ट्रफिक नियमको उल्लङ्घन गर्नुमा गौरव गर्छौं, अनि प्रहरीले चिट काट्दा तथानाम गाली गर्छांै । कर्मचारीलाई आफै घुस दिन्छौं अनि कर्मचारीले भ्रष्टचार गर्यो भन्छौँ । कुनै काम लिनु पर्दा भनसुन, चाकडी आफै गर्छौं अनि भन्छौँ यो देशमा भनसुन र चाकडी बाहेक केही चल्दैन भन्छौँ । आफैले आरक्षण वा सकरात्मक विभेद वा अधिकारको कुरा उठाउँछौँ तर सार्वनजिक गाडीमा यात्रा गर्दा ज्येष्ठ नागरिक र महिलाको सिटमा बस्दा आनन्दित मान्छौँ । । हामीले भन्छौँ देश अमेरिका, बेलायत वा हङकङ जस्तो कहिले बन्छ ? तर यो भन्दैनौँ कि हाम्रो नेपाल नेपाल जस्तै बनाउनु पर्छ र त्यो कार्य प्रत्येक नागरिकको प्रयासबाट हुनुपर्छ । हाम्रा यस्ता तमाम प्रवृत्तिले देश विकासमा समेत असर पारेको छ ।
सधैँ राजनीतिलाई मात्र दोष लगाएर हामी नागरिक कतिन्जेल बसिरहने ? देशको परिवर्तन चाहने हो भने नागरिकको तर्फबाट गर्ने ससाना काम राज्यप्रति प्रतिबद्ध भएर गरौँ ।
अनावश्यक टीकाटिप्पणी नगरौँ । देशविकासमा राजनीतिक नेतृत्वलाई सचेत बनाऔँ । आवश्यक रचनात्मक सुझाव दिऊँ र राजनीतिक नेतृत्व परिवर्तन भएन भने चुनाव मार्फत परिवर्तन गर्न सक्ने नागरिक भिटो प्रयोग गरौँ । नेपाललाई अमेरिका, बेलायत बनाउने सपना नदेखौँ मात्र हिमाल, पहाड र तराई, मधेससहितको सुन्दर, शान्त, हराभरा, आर्थिक समाजिक रूपले समुन्नत राष्ट्र बनाउन सहयोग गरौँ । नेपाली हुनुमा गौरव गरौँ । नेपालप्रति माया गरौँ । विकास यसरी नै सम्भव हुन्छ । राजनीतिज्ञलाई सामाजिक सञ्जालमा नानाथरी गाली गर्दैमा देश समुन्नत हुँदैन ।