शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

वास्तु उपचारमा प्रतीक प्रयोगको ज्ञान

शुक्रबार, ११ असोज २०८१, १३ : ०२
शुक्रबार, ११ असोज २०८१

वास्तुशास्त्रले वस्तुहरूको ऊर्जालाई विशेष महत्त्व दिएको हुन्छ । घर कार्यालयको वास्तु अवलोकन गर्दा त्यहाँस्थित वस्तुहरूको अवस्थालाई गहन अध्ययन गरिनुपर्छ । वास्तुशास्त्रीले सही समस्या पत्ता लगाउन सकेन भने वास्तुशास्त्रीय मान्यताले समाजलाई डोर्‍याउन सक्दैन । पछिल्लो समयमा घर–कार्यालय अत्यधिक आधुनिक उपकरणले भरिएका छन् । ती उपकरणले आ–आफ्नै ऊर्जा सिर्जना गरिरहेका हुन्छन् । ऊर्जाको क्षेत्र र अवस्थाले प्रभावमा विविधता ल्याएको हुन्छ । 

मोबाइल, कम्प्युटर, टीभी, विद्युतीय चुलो, पंखा, एयर कन्डिसन, फ्रिज सबै विद्युतीय सामग्री हुन् र यिनीहरूले समान ऊर्जा उत्सर्जन गरिरहेका छन् भन्ने हामीलाई लाग्छ, तर वास्तवमा यस्तो हुँदैन । यी वस्तुहरूले स्थान र अवस्थाका आधारमा ऊर्जा क्षेत्रलाई फरक प्रभाव दिइरहेका हुन्छन् । विद्युतीय सामग्रीले मानव जीवनमा अत्यावश्यक ऊर्जालाई कमजोर बनाइदिन्छ, जसले शरीरमा नकारात्मक असर दिइरहेको हुन्छ । तसर्थ वस्तुको अवस्था, आकृति, रङ र क्षमताका आधारमा उचित व्यवस्थापनका लागि वास्तुशास्त्रीले विशेष ध्यान दिनैपर्छ भने त्यहाँ निवास गर्नेले पनि आफ्नो ऊर्जा घट्न नदिन योग, प्राणायाम तथा व्यायामलाई ख्याल राख्नुपर्छ । ऊर्जाको अवस्थालाई हेरी सकारात्मक बनाउन विभिन्न यन्त्र, पिरामिड, मन्त्र र विपरीत ऊर्जा सिर्जना गर्ने वस्तुको प्रयोग गर्न सकिन्छ । 

वास्तुमा यन्त्रहरूको अत्यधिक प्रयोग गरिन्छ । हरेक वस्तु नै यन्त्रको प्रतीक हो । कुनै पनि वस्तु आफैँमा एक प्रकारको यन्त्र भएकाले त्यसको ऊर्जा क्षेत्रलाई विशेष महत्त्व दिनुपरेको हो । किनकि वस्तुले हाम्रो मस्तिष्कमा विशेष प्रभाव पार्छ । वस्तु आफैँमा एउटा सञ्चार हो या भाषा हो । आगो देखे पनि त्यसको प्रभाव आफैँ थाहा लाग्छ । वस्तुले भाषा नहुँदा पनि भावना व्यक्त गर्न सक्छ । तसर्थ वास्तुमा विभिन्न प्रतीकका रूपमा वस्तुहरूको प्रयोग गरिन्छ । घर या कार्यालयको ऊर्जालाई सन्तुलन गर्न विभिन्न प्रतीकात्मक वस्तुको स्थापना गरी ऊर्जा क्षेत्रलाई सन्तुलित बनाउने चलन छ । 

वस्तुले हाम्रो मस्तिष्कमा विशेष प्रभाव पार्छ । वस्तु आफैँमा एउटा सञ्चार हो या भाषा हो । आगो देखे पनि त्यसको प्रभाव आफैँ थाहा लाग्छ । वस्तुले भाषा नहुँदा पनि भावना व्यक्त गर्न सक्छ । तसर्थ वास्तुमा विभिन्न प्रतीकका रूपमा वस्तुहरूको प्रयोग गरिन्छ ।

विगतदेखि नै हामीले गणेशको प्रतिमा, ॐ, स्वस्तिक, श्रीयन्त्र, सिंहको टाउको, कलश, कमल, त्रिशूल, अष्टमंगल, नागबेली लगायत प्रतीक देख्दै आएका छौँ । यी प्रतीकलाई वास्तुशास्त्रमा सकारात्मक ऊर्जाको स्रोत मानिएको छ । घरमा या कार्यालयमा यस्ता प्रतीक सही स्थानमा राखियो भने सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ, तर त्यसको स्थान र ऊर्जा क्षेत्र मिलेन भने सकारात्मक ऊर्जा नभई नकारात्मकता सिर्जना गर्ने खतरा रहेको वास्तुशास्त्रीको दाबी छ । 

वैदिक ग्रन्थहरूमा ऋषिहरूले विशेष प्रतीकहरू सिर्जना गरी सर्वजनहिताय प्रयोग गर्न सुझाएका छन् । कलाकृतिले भरिएका भवनहरू, मन्दिर, दरबारजस्ता भव्य महल देख्दा हामीले फरक किसिमको भाव उत्पन्न हुन्छ । हाम्रो भावनामा उत्पन्न हुने तरंग नै वस्तुहरूको ऊर्जा हो । सानोभन्दा सानो वस्तुमा पनि उच्च श्रेणीको ऊर्जा उत्पन्न गर्ने क्षमता हुन्छ । ऊर्जा या तरंगले हाम्रो दैनिकीमा फरक पार्ने भएकाले वस्तुहरूको व्यवस्थितीकरणका लागि नै वास्तुशास्त्र रचना भएको हुन सक्छ । 

विज्ञानको विकाससँगै पृथ्वीबाट उत्पन्न हुने र पृथ्वी वरिपरि फैलिएको ऊर्जालाई मापन गर्ने यन्त्रहरू बन्न थालेका छन् । जसले मानिसको शरीरको सामान्य समेत ऊर्जा मापन गर्न सक्छ । जीवित मानिसको शरीरमा भएका विभिन्न चक्रले ऊर्जा उत्सर्जन गरिरहेका हुन्छन् । यिनै चक्रको ऊर्जाका आधारमा मानिस स्वस्थ या बिरामीको अवस्था सिर्जना हुन्छ भन्ने विज्ञानले प्रमाणित गरिसकेको छ । शरीरका सात चक्रले फरक–फरक ऊर्जा उत्सर्जन गर्ने र त्यसको प्रभाव पनि फरक हुने भएकाले शारीरिक तथा मानसिक अवस्था निर्धारण गर्छ । 

कलाकृतिले भरिएका भवनहरू, मन्दिर, दरबारजस्ता भव्य महल देख्दा हामीले फरक किसिमको भाव उत्पन्न हुन्छ । हाम्रो भावनामा उत्पन्न हुने तरंग नै वस्तुहरूको ऊर्जा हो । सानोभन्दा सानो वस्तुमा पनि उच्च श्रेणीको ऊर्जा उत्पन्न गर्ने क्षमता हुन्छ ।

पछिल्लो समयमा विज्ञानले आविष्कार गरी सहज उपलब्धता भए पनि वास्तुशास्त्रमा ऊर्जा मापनका विभिन्न विधिको व्यवस्था गरी प्रयोगमा आइरहेकै छन् । वास्तुशास्त्रमा स्वस्तिक यन्त्रलाई घरको मुख्य ढोकामा लगाउने चलन विद्यमान छ । ‘सू’ र ‘अस्ति’को संयोजनबाट स्वस्तिक बनेको छ । सकारात्मक अस्तित्वको संकेत गर्ने स्वस्तिक सकारात्मक ऊर्जाको प्रतीक हो । यसले हाम्रो वरपरको नकारात्मक ऊर्जा हटाउँछ भन्ने वास्तुशास्त्रीय मान्यता छ । हिन्दु संस्कृतिमा प्राचीनकालदेखि स्वस्तिकलाई मंगलको प्रतीक मानिन्छ । त्यसैले कुनै पनि शुभ कार्य गर्नुअघि स्वस्तिक प्रतीकको पूजा गरिन्छ । 

स्वस्तिक बेसार र कुमकुमबाट बनाउने गरिन्छ । वास्तुशास्त्रका अनुसार स्वस्तिकमा सकारात्मक उर्जा भएका कारण वास्तुदोष हट्छ । घरको मुख्य ढोकामा स्वस्तिक बनाए घरमा सधैँ सुख–समृद्धि रहने गर्दछ । तनाव, रोग, शोक, गरिबी र शत्रुबाट मुक्ति दिन्छ । 

स्वस्तिक एउटा प्रतीक हो । यस्ता थुप्रै प्रतीकलाई वास्तुशास्त्रीद्वारा अवलोकन गरी निवासको ऊर्जा व्यवस्थापन गरिन्छ । जसमा भगवान्का तस्बिर, पितृहरूको तस्बिर लगायत घरमा प्रयोग गरिने विभिन्न सामग्रीको ऊर्जाको अध्ययन गरिनुपर्छ । घरका विद्युतीय सामग्री, भान्सा, प्रवेशद्वार, पलङ, शौचालयको विषयमा गम्भीर अध्ययन गरिनुपर्छ । घर कार्यालयमा प्रयोग भएका आन्तरिक सजावटका सामानको ऊर्जालाई सन्तुलित रूपमा स्थापित गरिनुपर्छ । त्यसरी नै ऐनाको अवस्थाले ऊर्जालाई उथलपुथल बनाउने गर्छ । त्यसको सही दिशा अनिवार्य हुन्छ । 

अचेल बजारमा ऊर्जाको अध्ययन गर्ने विभिन्न यन्त्र पाइन्छन्, तर वास्तुशास्त्रमा भवन निर्माण गर्ने जमिनदेखि नै ऊर्जा अध्ययन गर्ने विधि छ । निर्माण गरिने जमिनको रूप, रङ, आकार, गन्ध, स्पर्श आदिबाट त्यसको समग्र ऊर्जामापन गर्ने विधि प्रचलित छ । वास्तुशास्त्रीले वास्तु सुधार गर्न सक्छन् । 

घर या कार्यालयको वास्तु सुधार गर्दा विभिन्न विद्यालाई प्रयोगमा ल्याउनु अनिवार्य हुन्छ । सर्वप्रथम स्वर विद्यामा वास्तुशास्त्री सजग हुनुपर्छ । वातावरणमा विभिन्न गन्धहरू प्रवाहित भइरहेको हुन्छ । त्यसैले वास्तु सुधार या उपचारमा जानेले गन्धविद्या जान्नुपर्ने हुन्छ । ऊर्जा सन्तुलनमा विभिन्न प्रतिमाको महत्त्वपूर्ण भूमिका रहने हुनाले प्रतीक विद्याकोे ज्ञान हुनु अनिवार्य हुन्छ । दिशा अनुसारको तत्त्व ज्ञान नभएको वास्तुशास्त्रीले सही उपचार गर्न सक्दैन । वस्तुको आकृति, आकृति अनुसारको सङ्केत, वस्तुको तत्त्व, स्थान र दिशाको तत्त्वजस्ता कुरामा सामञ्जस्यता मिलाउन सक्दा मात्र वास्तु उपचार सही हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप