शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष भन्छन्– ‘हामी सकिबको सुरक्षाको प्रत्याभूति गर्न सक्दैनौँ’

शुक्रबार, ११ असोज २०८१, १३ : ०१
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । बंगलादेशी क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर सकिब अल हसनले घरेलु मैदान मिरपुरमा आफ्नो सक्रिय खेल जीवनको अन्तिम खेल खेल्ने इच्छा ब्यक्त गरेका छन् । सोही अनुरुप सकिबले निकट भविष्यमा मिरपुरमा हुने दक्षिण अफ्रिकाविरुद्धको टेस्टमा सहभागिता जनाउने चाहना ब्यक्त गरेका हुन् ।  

सकिबले बिहीबार सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गर्दै यस्तो बताएका थिए । यदि, कुनै कारणले दक्षिण अफ्रिकाविरुद्धको त्यो टेस्टमा खेल्ने अवस्था अनुकुल नभए उनले भारतविरुद्ध शुक्रबार सुरु हुने टेस्ट नै आफ्ना लागि अन्तिम खेल हुने पनि बताएका छन् ।

तर, बंगलादेश क्रिकेट बोर्डका उच्च अधिकारीहरुले भने घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेल्दा उनको सुरक्षामा खतरा हुन सक्ने आशंका ब्यक्त गरेका छन् । बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष फारुक अहमदले पनि सकिबको सुरक्षालाई लिएर चिन्ता ब्यक्त गरेका छन् ।

बिहीबार ढाकामा बंगलादेश क्रिकेट बोर्डको बैठक भएको थियो । चार घण्टासम्म चलेको त्यो बैठकमा पनि आफ्नो गृहनगर मिरपुरमा अन्तिम टेस्ट खेल्ने सकिबको इच्छा र उनको सुरक्षाको विषयमा गम्भीर छलफल भएको बताइएको छ । अध्यक्ष फारुक अहमदसँगै बोर्डका अन्य सदस्यले पनि बंगलादेशभित्र खेल्दा सकिबलाई सुरक्षा दिन नसकिने निश्कर्ष निकालेका छन् ।

‘सकिब मिरपुरमा अन्तिम खेल खेल्न चाहन्छन् । तर, उनको सुरक्षालाई लिएर हामी निकै चिन्तित छौँ । अहिलेको अवस्थामा बंगलादेश आएर क्रिकेट खेल्नु उनका लागि निकै जोखिमपूर्ण छ । यस्तो स्थितिमा हामी उनको सुरक्षाको प्रत्याभूति गर्न सक्दैनौँ,’ अध्यक्ष फारुक अहमदले भनेका छन् ।

आफ्नो खेलजीवनको उत्तरार्धतिर आएर ३७ वर्षीय सकिब नराम्रो बिवादमा फसेका छन् । बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि उनीमाथि हत्याको आरोप लागेको छ । हत्याको आरोपमा उनीविरुद्ध प्रहरीमा उजुरी पनि दर्ता भइसकेको छ ।

बंगलादेशमा करिब तीन महिनासम्म चलेको विद्यार्थी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना देश छाडेर हिँडेपछि क्रिकेटर सकिब पनि बिवादमा तानिएका हुन् । सकिब शेख हसिनाको पार्टी निकट रहेका थिए । रफिकुल इस्लाम नामक एक व्यक्तिले आफ्नो छोराको हत्याको आरोपमा सकिबसहित एक सय ५६ जनाविरुद्ध जाहेरी दर्ता गराएका हुन् ।

बंगलादेश क्रिकेट बोर्डले भने न्यायालयबाट आरोप प्रमाणित नभएपछि सकिबले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहने बताउँदै आएको छ । हालै पाकिस्तानविरुद्धको टेस्ट शृंखला जितेपछि पनि सकिब स्वदेश फर्किएका थिएनन् । उनी पाकिस्तानबाट दुबई हुँदै लन्डन गएका थिए ।

सकिब बेलायतबाटै दुई टेस्टको शृंखला खेल्न भारत पुगेका हुन् । बंगलादेशी टोली हाल भारत भ्रमणमा छ । सकिब पछिल्लो डेढ महिनादेखि बंगलादेश प्रवेश गरेका छैनन् । त्यसैले भारतविरुद्ध हाल जारी दोस्रो टेस्ट क्रिकेट नै सकिबका लागि अन्तिम हुन सक्ने अनुमान गरिएको छ ।

सकिबले बंगलादेशका अलराउन्डर खेलाडी हुन् । ब्याटिङसँगै बलिङका थुप्रै कीर्तिमान पनि सकिबको नाममा रहेको छ । उनले हालसम्म बंगलादेशका लागि ७० टेस्ट खेल्दै कुल चार हजार ६ सय रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले दुई सय ४२ विकेट पनि लिएका छन् ।

‘अहिको स्थितिमा सकिबको सुरक्षा हाम्रो नियन्त्रणमा छैन । सुरक्षाको प्रत्याभूति गर्ने जिम्मा सरकारको हो । त्यसैले सकिब दक्षिण अफ्रिकाविरुद्ध टेस्ट खेल्न मिरपुल आउँछन् वा आउँदैनन् त्यो उनकै निर्णयमा भर पर्ने कुरा हो । अहिलेको परिस्थितिका बारेमा उनी आफै पनि राम्रो जानकार छन्,’ अध्यक्ष फारुक अहमदले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप