शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

युवा जनशक्तिले बुझ्नैपर्ने पाटो

शुक्रबार, ११ असोज २०८१, १२ : ५२
शुक्रबार, ११ असोज २०८१

नेपाली युवा विदेशतिर पलायन भइरहेका छन् । केही वर्ष यता यो क्रम बढ्दो छ । त्यसैले कतिपय मानिसले ‘हाम्रो देश अब खत्तम भयो । युवाहरू सबै पलायन भइसके । अब देश बनाउने कोही छैन’ भन्ने गरेका छन् ।

रोजगारी, अध्ययनका नाममा युवा विदेशतिर पलायन भएको सत्य नै हो । तर यो समाज र यहाँको यथार्थलाई अलि फरक ढङ्गले मनन् गर्ने पो हो कि १ सबैभन्दा महत्त्वपूर्ण कुरा, अरुले देखेको कुरामा विश्वास गर्नेभन्दा पनि आफ्नै नजरबाट हेर्न उपयुक्त हुन्छ । यसो गर्दा समाजको अर्थ, यथार्थ केही भिन्न स्वरुपमा बुझ्न सकिन्छ ।

अचेल सामाजिक सञ्जालको दबदबा बढेको छ । कसैले कुनै विषय उठान गर्नासाथ त्यसको वास्तविकता बुझ्नतिर लाग्नेभन्दा पनि हतारहतार प्रतिक्रिया जनाउन मानिस सक्रिय हुन्छन् । सामाजिक सञ्जालले हामीलाई यतिसम्म परनिर्भर बनाइसकेको छ कि कसैले त्यहाँ उठेका विषयमा आफ्नो विवेक अनुसार विश्लेषण गर्ने झिनो प्रयास पनि गर्दैनन् ।

उदाहरणका लागि एउटा कुनै चित्रलाई लिन सकिन्छ । त्यो चित्रको सम्बन्धमा हरेकले आ–आफ्नो ढंगले व्याख्या गर्न र बुझ्न सक्छन् । चित्रको भावबारे आ–आफ्नै बुझाइ हुन सक्छन् । त्यो चित्रले कसको नजर र मस्तिस्कमा कुन प्रकारको आकार लिन्छ, कसलाई के थाहा रु कसैले त्यो चित्रलाई मैले देखेकै स्वरुपबाट हेर भनेर जबर्जस्ती गर्नु उचित होइन । चित्र हेर्नेले पनि अर्काको नजरबाटै त्यसको भाव बुझ्नु उचित होइन । आफ्नो स्वतन्त्र मन–मस्तिष्कले त्यो चित्रलाई नियालेर त्यसका भाव बुझ्न सकिन्छ ।

समाजको हकमा पनि यस्तै हुन्छ । कसैले बनाएकै दृष्टिकोणबाट आफूले समाजलाई बुझ्नुपर्छ भन्ने छैन । सबैको सोच, बुझाइ र विवेक एकै किसिमको हुँदो हो त समाजमा अलगअलग पेसा, व्यवसाय गरेर मानिस किन बस्थे रु सबै एकै खालको कर्ममा हुनु पर्थ्यो होला नि १

समाजमा यति विविधता हुनको मुख्य कारण भनेकै मानिस अनुसारको सोच, चेत, बुझाइ नै हो । देशमा युवा नै छैनन् भन्ने भाष्यले स्वयं युवालाई नै दबाब बढाएको छ । युवाजति देशमा बस्नै हुँदैन भन्ने सन्देश नजानिँदो ढंगले प्रवाह भइरहेको छ । समय अनुसार चल्ने क्रममा हामीलाई अलि बढी परनिर्भर र त्योभन्दा बढी आलस्य र कम आँटिलो बनाएको छ ।

देशमा भविष्य छैन भन्दै विदेश जाने, युवाजति विदेश गइसकेकाले देश सखाप हुने भयो भन्ने सन्देशले हामीलाई कहाँ पु¥याउँछ रु समस्याको निकास कसरी दिन्छ रु

समस्या छ भनेर भाग्ने होइन । पहिला त्यो समस्यालाई आफ्नो नजरबाट हेर्नुपर्छ । त्यसपछि भाग्ने कि त्यसलाई समाधान गर्ने भन्नेतिर लाग्नु बुद्धिमानी हुन्छ । नेपालको भविष्य बुन्ने, हरेक काम गर्न सक्ने क्षमता युवापंक्तिमा हुनु पर्छ । युवाले आफ्नो क्षमतालाई बुझ्ने हो भने देश र यो समाजको भविष्य कोर्न उनीहरू सक्षम हुन्छन् । अरुले बनाएको चित्रको अर्थ खोज्नेमात्र होइन, आफैँले चित्र बनाउने सामर्थ्य युवामा हुनुपर्छ ।

कतिपयलाई देशको कायापलट गर्न यति सामान्य छ र भन्ने पनि लाग्न सक्छ । देशको कायापलट गर्न हैन, त्यो कायापलटको शुभारम्भ गर्न यति काफी छ । आखिर सुरुवात गर्नु त प¥यो नि १ हामी धेरै ठुलो सपना देख्छौँ, ठुलाठुला राष्ट्रसँग तुलना गर्छौं । यो गर्नु पक्कै पनि केही हदसम्म राम्रो हो । तर सुरुमै त्यही सपनाको उचाइमा हामफाल्न खोज्नुचाहिँ अहिलेको मुख्य समस्या हो ।

सगरमाथाको चुचुरोमा पुग्ने सपना देख्नु धेरै राम्रो हो । तर एकैचोटी उडेर सगरमाथा आरोहण गर्न सकिँदैन नि १ बिस्तारै हरेक कदम, हरेक खुट्किला, हरेक पहाड र हरेक खोंच, हरेक उचाइ सामना गर्दै सगरमाथामा पुग्न सकिन्छ । यो कुरालाई प्रत्येक युवा जनशक्तिले मनन् गर्न जरुरी छ ।

हाम्रो समाज आफैँमा अद्वितीय छ । विकास आजको भोलि नै हुने चमत्कारिक विषय होइन । यो निरन्तर प्रक्रिया हो । तर फेरि त्यो भन्दैमा आनन्दले बस्ने भन्ने होइन । हाम्रो जिम्मेवारी भनेको विकासको गति बढाउनु हो ।

उदाहरणका लागि हामीले मध्यपूर्व राष्ट्र कतारलाई लिन सक्छौँ । केही दशक अघिसम्म यो एउटा सामान्य अर्थतन्त्र भएको राष्ट्र थियो । तर सन् १९४० पछि तेल र १९७० पछि प्राकृतिक ग्याँसको खोजी र विकाससँगै अहिले कतार विश्वको सबैभन्दा छिटो विकास गर्ने राष्ट्रमध्येको एक बनेको छ । सन् १९४० भन्दा अघि पनि कतारको विकास नभएको होइन, तर १९४० पछि विकासले यस्तो रफ्तार लियो कि आज कतार यो ठाउँमा आइपुगेको छ । कयौँ नेपाली युवा कतारमै गएर रोजगारी गर्दै आफू र आफ्नो परिवारको भविष्य उन्नत बनाउने प्रयासमा छन् ।

पक्कै पनि तेल र प्राकृतिक ग्याँसले कतारको विकासमा ठुलो योगदान गरेको होला । प्राकृतिक स्रोतहरूकै कुरा गर्ने हो भने त हाम्रो पनि कम छैन । विकासको मार्ग उस्तै हुन्छ भन्ने पनि होइन । हामीले आफ्नै शैलीले विकासको गति तीव्र तुल्याउन जरुरी छ ।

एउटा सामान्य इन्जिनियरिङको विद्यार्थी भएका नाताले म यति भन्न सक्छु कि हामीले आफ्नो सोचको विश्वास गरी उन्नति हासिल गर्न सक्दैनौँ । अलिकति फरक ढङ्गले, गहन रूपमा आफ्नो कदम चाल्ने हो भने यहाँ अवसर नभएको होइन । कसैले बनाएको चित्रलाई हेरेर थप आकर्षक बनाउन के–के आवश्यक छ भन्ने सोच तपाईंमा आउन सक्यो भने तपाईं आफैँ एउटा कुशल चित्रकार बन्न सक्नुहुन्छ ।

समाज, राजनीतिक, इतिहास र संस्कृतिलाई कसरी हेर्ने, कसरी बुझ्ने भन्ने कुरा हरेक मानिसमा निर्भर हुन्छ । देशको चित्र कोर्ने पालो पक्कै पनि युवा जनशक्तिकै हो । आफ्नो मौलिकता जोगाएर कदम बढाऔँ, आफ्नो योग्यतालाई अझ थप निखारौँ, सङ्कल्प र विश्वासका साथ समाज निर्माणमा अघि बढौँ । सफलता हाम्रै सामु हुनेछ ।


यो हाम्रो समाज हो, यहाँको अस्तित्व, इतिहास र हरेक पाटोलाई सम्मान गरी सबै जना एक भएर समाज निर्माणमा अघि बढ्नु पर्दछ । चित्र हाम्रो अगाडि छ, त्यसलाई आफ्नै नजरबाट हेरौँ । थप रङ रोगन गर्न अघि बढौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौरभ खड्का
सौरभ खड्का
लेखकबाट थप