शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सन्न्यास लिएलगत्तै आईपीएल क्लब कोलकाता नाइट राइडर्सको मेन्टर बने ड्वेन ब्राभो

शुक्रबार, ११ असोज २०८१, १२ : २०
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । केही समयअघि मात्र सक्रिय खेलजीवनबाट सन्न्यास लिएका क्यारेबियन क्रिकेटर ड्वेन ब्राभो विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा फरक भूमिकामा सक्रिय हुने भएका छन् ।

वेस्ट इन्डिजका प्रभावशाली पूर्वअलराउन्डर ब्राभो आईपीएल क्लब कोलकाता नाइट राइडर्ससँग मेन्टरको भूमिकामा जोडिएका हुन् । कोलकाता नाइट राइडर्सले ब्राभोलाई गौतम गम्भीरको स्थानमा मेन्टरको जिम्मेबारी सुम्पिएको समाचारमा जनाइएको छ ।

गौतम गम्भीर भारतीय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त भएपछि कोलकाता नाइट राइडर्समा मेन्टरको पद रिक्त रहेको थियो । आगामी सिजनको आईपीएलमा ब्राभोले कोलकाता नाइट राइडर्सका खेलाडीलाई बलिङको प्रशिक्षण पनि दिनेछन् ।

४१ औँ वर्ष प्रवेशको सँघारमा रहेका ब्राभोले केही घण्टाअघि मात्र सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका थिए । उनले फ्रेन्चाइज क्रिकेट ‘क्यारेबियन प्रिमियर लिग’ कै बिचमा खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

ब्राभो विश्व क्रिकेटका प्रभावशाली खेलाडी हुन् । लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट टाढा रहेका यी क्षमतावान क्रिकेटरले पछिल्लो समय फ्रेन्चाइज प्रतियोगिता भने खेल्दै आएका थिए । उनी यसअघि आईपीएलमा खेलाडीको भूमिकामा पनि सक्रिय थिए । ब्राभोले आईपीएलमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्स र गुजरात लायन्सबाट खेलेका थिए ।

ब्राभो टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले टी–२० क्रिकेटमा पाँच सय ८२ खेल खेल्दै कुल ६ हजार नौ सय ७० रन बनाएका छन् भने ६ सय ३१ विकेट लिएका छन् । उनले वेस्ट इन्डिजका लागि तीनवटै ढाँचको अन्तर्राष्ट्रिय खेल खेल्दै पाँच हजारभन्दा बढी रन बनाएका छन् ।

ब्राभोले ब्याटिङतर्फ ४० टेस्टको ७१ पालीमा कुल दुई हजार दुई सय रन बनाएका छन् । टेस्टमा उनले तीन सतक र १३ अर्धसतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय १३ रन रहको छ । यसैगरी, उनले एक सय ६४ एकदिवसीय अन्तर्राष्ट्रियको एक सय ४१ पालीमा कुल दुई हजार नौ सय ६८ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई सतक र १० वटा अर्धसतक बनाएका छन् । उनको उच्च स्कोर भने अविजित एक सय १२ रन हो ।

ब्राभोले क्यारेबियन टोलीका लागि ९१ टी–२० अन्तर्राष्ट्रियको ७४ पालीमा कुल एक हजार दुई सय ५५ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले चारवटा अर्धसतक प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित ६६ रन हो ।

यसका अतिरिक्त ब्राभोले टेस्ट क्रिकेटमा ८६, एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय ९९ र टी–२० अन्तर्राष्ट्रियमा ७८ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन टेस्टमा ५५ रन दिएर ६ विकेट, एकदिवसीय अन्तर्राष्ट्रियमा ४३ रन दिएर ६ विकेट र टी–२० अन्तर्राष्ट्रियमा केवल १९ रन खर्चिएर चार विकेट हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप