शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
एमाले कोशीमा विवाद

एमाले मोरङमा पर्शुराम बस्नेतको रजगज, सामाजिक सञ्जालमा ‘गुण्डातन्त्र मुर्दावाद’को नारा

शुक्रबार, ११ असोज २०८१, ११ : ३६
शुक्रबार, ११ असोज २०८१

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सदस्य सुशील रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘मोरङ, विराटनगर एमालेमा हुने गुण्डातन्त्र मुर्दावाद !, नगर कमिटी पनि हाइज्याक ।’

उनले लेखेको स्टाटसमा धेरैले कमेन्टमार्फत सहमति जनाएका देखिन्छन् । उनले त्यसरी स्टाटस लेख्नुको पछाडिको कारण थियो महाधिवेशनबाट छानिएको कमिटीलाई पन्छाउँदै एमालेको विराटनगर महानगरको नयाँ समिति चयन गरिनु ।

केही महिना अगाडि विराटनगरको मानगढ खानेपानी आयोजनाको निर्वाचनबाट सुरु भएको नेकपा एमाले विराटनगर महानगर कमिटीको विवाद बढेपछि महाधिवेशनबाट निर्वाचित कमिटी विघटन गरिएको थियो । तत्कालीन महानगर अध्यक्ष सागर थापालाई मानगढ खानेपानीको निर्वाचनमा गुटबन्दी गरेको आरोप लगाउँदै एमालेले कारबाही गरेको थियो ।

त्यसपछि लामो समय विराटनगरमा अध्यक्ष तथा पदाधिकारी चयन हुन सकेन । एमाले मोरङको संस्थापन पक्षमै भएको विवाद नै यसको मुख्य कारण थियो ।

तर, बुधबारको महानगर बैठकबाट नगर संयोजकको जिम्मेवारी रोहित कोइरालाले पाएका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरी एमालेमा प्रवेश गरेका कोइराला पत्रकार खिलनाथ ढकालमाथि भएको आक्रमणको घटनामा जेलसमेत परेका थिए । उनको विगतको छवि गुण्डागर्दी कै छ र उनलाई अध्यक्ष बनाउनमा पनि गुण्डागर्दीकै सहारा लिएर राजनीतिमा होमिएका पर्शुराम बस्नेतको महत्त्वपूर्ण भूमिका थियो ।

महानगर कमिटीको उपाध्यक्षमा सुनिता श्रेष्ठ, सचिवमा बलराम गिरी, सहसचिवमा अन्ताज हुसेन र उपसचिवमा गणेश साहलाई चयन गरिएको छ । नयाँ पदाधिकारी चयनसँगै नेकपा एमाले विराटनगर महानगर कमिटी पर्शुराम बस्नेतको कब्जामा पुगेको एक एमाले नेता बताउँछन् । बस्नेत यसअघि नै महानगरको इन्चार्ज भइसकेका छन् ।

असन्तुष्टि बढ्दो

महानगरमा नयाँ पदाधिकारी चयन गरेसँगै नेकपा एमालेभित्रको विवाद अझ बढ्ने देखिएको छ । पार्टीको विधि र विधान मिच्दै तल्ला कमिटीहरूमा अनावश्यक हस्तक्षेप गर्ने र लामो समय पार्टीमा योगदान गरेकाहरूलाई जबरजस्ती पार्टीबाट विस्थापित गरी गुटलाई बलियो बनाउने काम भएको भन्दै एउटा समूह असन्तुष्ट छ ।

२०६८ सालमा पत्रकार खिलनाथ ढकालमाथि कुटपिट र आक्रमणको आरोप खेपेका कृष्ण बस्नेत (पर्शुराम) को राजनीतिक यात्रा गुण्डागर्दीको साहारामै अगाडि बढिरहेको छ । त्यसअघि उनी विराटनगरमा ठेक्का पट्टा र असुली धन्दामा थिए । तर, जब उनलाई एमालेले भित्र्यायो, त्यसपछि उनको कनेक्सन उच्च तहका नेताहरूसम्म पुग्यो । उनलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सहज पहुँच दिन्छन् । कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्यसचिवसमेत रहेका बस्नेत अहिले एमाले मोरङको मात्रै होइन, प्रदेशकै राजनीतिमा हाबी देखिन्छन् ।

नेताहरूको बन्दोबस्ती र व्यवस्थापनको प्रबन्ध गरिदिने भएकाले उनीसँग नेतृत्वमा रहेकाहरू नतमस्तक छन् । एमालेका नेता भानुभक्त ढकाल, प्रदेश अध्यक्ष घनश्याम खतिवडादेखि जिल्ला इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्कीसमेतलाई प्रयोग गरेर बस्नेतले आफ्नो अनुकूल निर्णय गराइरहेका छन् । उनलाई पार्टी उपाध्यक्ष गुरु बरालसमेतको साथ रहेको बताइन्छ ।

गत वर्ष भएको एमालेको प्रदेश अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार विनोद ढकालको समर्थनमा रहेका नेता तथा कार्यकर्तालाई अहिले किनारा लगाउनेगरी मोरङमा गतिविधि भइरहेको छ । त्यसको अगुवाइ उनै बस्नेतले गरिरहेका छन् ।  जसका कारण ढकाललाई साथ दिँदै आएका कार्यकर्ताहरू अहिले त्रसित छन् । बस्नेतले आफ्नो प्रभाव विस्तार गर्दै आफू निकटका सुरज श्रेष्ठलाई निर्वाचन क्षेत्र नम्बर ६ को सचिव बनाएका छन् भने सन्तोषी श्रेष्ठलाई बुढीगंगा गाउँपालिकाको इन्चार्ज बनाएका छन् ।

संस्थापनमै पर्शुरामको त्रास

नगर अध्यक्षबाट सागर थापालाई कारबाही गरेपछि लामो समयसम्म कमिटी नै बन्न सकेन । त्यसरी कमिटी बन्न नसक्नुको प्रमुख कारण नगर संयोजक कसलाई तोक्ने भन्ने विषयमा संस्थापन पक्षमै भएको विवाद थियो । पर्शुराम बस्नेतको इच्छा पहिलेदेखि नै आफूलाई सहयोग गर्ने कोइरालालाई नै बनाउने थियो ।

Rohit

जिल्ला इन्चार्ज जीवन घिमिरेले भने विक्रम तिवारीलाई बनाउन खोजेका थिए, जो विराटनगर मिल्स एरियाका पुराना एमाले कार्यकर्ता हुन् । तर, उनको नाममा सहमति नहुने भएपछि घिमिरेले राजन भण्डारीलाई नगर संयोजक बनाउनेतिर लागे । पर्शुराम बस्नेत र जिल्ला अध्यक्ष बाबुराम कार्कीले राजन भण्डारीलाई बनाउन चाहेनन् । दुई पक्षको विवाद लामो समय भइरहँदा अन्तिममा पर्शुराम बस्नेतले भनेकै मान्छे कोइरालालाई संयोजक बनाइयो ।

‘एमालेको राजनीतिमा पर्शुराम बस्नेत यसरी हाबी भए । त्यो हुनुको कारण भनेको प्रदेश अध्यक्ष घनश्याम खतिवडा पर्शुराम बस्नेतमा निर्भर रहनु हो । खतिवडाको गाडी, खर्च पानी र अन्य व्यवस्थापन उनैले गर्छन् । प्रदेश अध्यक्ष खतिवडा नै पर्शुरामसँग नतमस्तक भएपछि यो हुने नै भयो,’ एक एमाले कार्यकर्ताले भने ।

बस्नेतले प्रदेशका इन्चार्ज शेरधन राईलाई पनि प्रभावमा पार्ने गरेको उनको दाबी छ । पर्शुराम बस्नेतले अहिले पूर्वमन्त्री तथा नेता भानुभक्त ढकाललाई पनि हात लिएका छन् । उक्त स्रोतले भन्यो, ‘पर्शुरामले भानुभक्त ढकालमार्फत नै आफ्नो इन्ट्रेस्ट महासचिव शंकर पोखरेललाई भन्ने र पोखरेलले इन्चार्ज शेरधन राईलाई सिफारिस गर्ने गरी सेटिङ मिलाएका छन् ।’

पर्शुराम बस्नेत महानगर कब्जा गरेर ०८४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बन्ने तयारी रहेको उक्त स्रोत दाबी गर्छ । ‘तर, त्यो पछिको कुरा हो । कति सम्भव हुन्छ–हुँदैन, मोरङ जिल्ला अधिवेशनले त्यसको निर्धारण गर्छ,’ स्रोतले भन्यो ।

तर, महानगरमा पर्शुरामले शक्ति सञ्चय गर्न लाग्दा विराटनगरको एमालेमा पूर्ण रूपमा गुण्डागर्दीको राजनीति हाबी भएको ती नेताले दाबी गरे ।

थापा हटाउन मिले, अहिले आफैँ निले

जिल्ला इन्चार्ज घिमिरे, अध्यक्ष कार्कीले पनि कुनै न कुनै बहानामा सागर थापालाई हटाउन खोजिरहेकै थिए । त्यही सन्दर्भमा मानगढ खानेपानीको निर्वाचनमा थापाले उठाएको बागी उम्मेदवार नै निहुँ बन्यो । त्यसबेला सागर थापालाई हटाउने योजना भनेको विनोद ढकालको टाउकोमा हान्नुजस्तै थियो । ऊ बेला ढकाललाई पन्छाएर पर्शुराम च्याप्नेहरू अहिले भने त्रसित बन्दै गएका छन् । ‘अहिले त ऋषि पोखरेल, जीवन घिमिरेलाई समेत दबाबमा राखेको अवस्था छ । एमाले मोरङको राजनीतिमा पूर्ण रूपमा पर्शुरामले जे भन्यो, त्यही हुने अवस्था देखिएको छ,’ एमाले स्रोत भन्छ, ‘त्यसमा जिल्ला संयोजक बाबुराम कार्की सारथि बनेका छन् ।’

Parsuram (2)

सुरुमा पर्शुरामसँग मिलेर आफ्नो स्वार्थ पूरा गराउने जीवन घिमिरेको योजना अनुसार थापालाई हटाउन सफलता मिले पनि नगर संयोजक बनाउने योजना सफल हुन सकेन । बरु घिमिरेलाई प्रयोग गरेर पर्शुराम सफल हुँदै गएको कतिपय बताउँछन् । ‘एमालेको पुरानो बिरासतको राजनीति ध्वस्त भयो । एमाले बुद्धिजीविहरूलाई निराश बनायो । एमालेभित्रका आदर्शवान व्यक्तिहरू साइड लाग्ने देखियो । त्यो खालका मानिसहरू माइनस हुँदै पाखा लाग्नुपर्ने अवस्था बन्दै गयो,’ उक्त स्रोत भन्छ, ‘अहिले पनि विराटनगर महानगरमा मात्रै होइन, जिल्लाभरका कतिपय असहमति राख्ने एमाले नेता तथा कार्यकर्तालाई तर्साउने, धम्क्याउने, स्पष्टीकरण पत्र काट्ने काम पनि भइरहेको छ ।’

जिल्ला इन्चार्ज घिमिरेले १० बुँदे लाइनका मान्छेलाई नै आन्तरिक राजनीतिमा स्थापित गर्न खोजिरहेका थिए । राजन भण्डारी ल्याउने योजना पनि त्यही अनुसार थियो । तर, पर्शुरामले ब्रेक लगाइदिएको कतिपय बताउँछन् । यस विषयमा बस्नेतलाई सम्पर्कको प्रयास गर्दा सम्पर्कमै आउन चाहेनन् । 

उसो त विवादकै कारण एमाले मोरङको जिल्ला अधिवेशन हुन सकेको छैन । तर, जिल्ला अधिवेशनमा इन्चार्ज घिमिरेले राजकुमार ओझालाई अगाडि सार्न सक्ने आकलन गरिएको छ । बस्नेत भने आफैँ जिल्ला अध्यक्षमा प्रतिस्पर्धा गर्ने योजनामा रहेको स्रोत बताउँछ । यदि उनको उक्त योजना असफल हुने अवस्था देखिए नरेश पोखरेललाई ल्याउने तयारी छ ।

‘आफू नहुँदा नरेश पोखरेललाई ल्याइयो भने आफ्नो अनुकूलमा पार्टी चलाउन सकिन्छ भन्ने दाउ रहेको बुझिन्छ । तर, अहिलेलाई पर्शुराम बस्नेत आफैँ अध्यक्ष हुने दाउमा छन् । बाबुराम कार्की पनि अध्यक्ष बन्ने दाउमा छन्,’ उक्त स्रोतले भन्यो, ‘प्रदेश अध्यक्ष घनश्याम तथा इन्चार्ज शेरधनले कसलाई सहयोग गर्छन् भन्ने विषय पनि महत्त्वपूर्ण छ ।’ यद्यपि एमालेका कमिटीहरू कब्जा गर्दै गएका पर्शुरामका कदममा जिल्ला अधिवेशनले ब्रेक लगाउला कि नलगाउला, त्यो भने हेर्न बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप