शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने क्रिकेटर ड्वेन ब्राभोको सन्न्यास

शुक्रबार, ११ असोज २०८१, ११ : १०
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । वेस्ट इन्डिजका चर्चित क्रिकेट खेलाडी ड्वेन ब्राभोले सबै ढाँचाको क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनले हाल जारी चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘क्यारेबियन प्रिमियर लिग’ कै बिचमा खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

४१ औँ वर्ष प्रवेशको संघारमा रहेका ब्राभो विश्व क्रिकेटका प्रभावशाली खेलाडी हुन् । लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट टाढा रहेका यी क्षमतावान क्रिकेटरले पछिल्लो समय फ्रेन्चाइज प्रतियोगिता भने खेल्दै आएका थिए ।

ब्राभो वेस्ट इन्डिजका अलराउन्डर खेलाडी हुन् । उनी टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने बलर पनि हुन् । उनले टी–२० क्रिकेटमा पाँच सय ८२ खेल खेल्दै कुल ६ हजार नौ सय ७० रन बनाएका छन् भने ६ सय ३१ विकेट लिएका छन् ।

ब्राभोले वेस्ट इन्डिजका लागि तीनवटै ढाँचको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै पाँच हजारभन्दा बढी रन बनाएका छन् । उनले ब्याटिङतर्फ ४० टेस्टको ७१ पालीमा कुल दुई हजार दुई सय रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले तीन सतक र १३ अर्धसतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय १३ रन रहको छ ।

यसैगरी, उनले एक सय ६४ एकदिवसीय अन्तर्राष्ट्रियको एक सय ४१ पालीमा कुल दुई हजार नौ सय ६८ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले दुई सतक र १० वटा अर्धसतक बनाएका छन् । उनको उच्च स्कोर भने अविजित एक सय १२ रन हो ।

यसैगरी, उनले क्यारेबियन टोलीका लागि ९१ टी–२० अन्तर्राष्ट्रियको ७४ पालीमा कुल एक हजार दुई सय ५५ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले चारवटा अर्धसतक प्रहार गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर अविजित ६६ रन हो ।

यसका अतिरिक्त ब्राभोले टेस्ट क्रिकेटमा ८६, एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय ९९ र टी–२० अन्तर्राष्ट्रियमा ७८ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन टेस्टमा ५५ रन दिएर ६ विकेट, एकदिवसीय अन्तर्राष्ट्रियमा ४३ रन दिएर ६ विकेट र टी–२० अन्तर्राष्ट्रियमा केवल १९ रन खर्चिएर चार विकेट हो ।

उनले विश्वकै सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) को विभिन्न संस्करण पनि खेलेका छन् । ब्राभोले आईपीएलमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्स र गुजरात लायन्सबाट खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप