शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
विश्व पर्यटन दिवस

लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौँ लुम्बिनी’को अवधारणा

शुक्रबार, ११ असोज २०८१, १० : ११
शुक्रबार, ११ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी: आत्मनिर्भर प्रदेशको दीर्घकालीन लक्ष्य पूरा गर्न पर्यटन क्षेत्र महत्त्वपूर्ण आधार स्तम्भ भएको बताएका छन् । विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको बताए ।

लुम्बिनी प्रदेश सरकारले ४५ औँ विश्व पर्यटन दिवस दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउँदै छ । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस वर्ष पर्यटन दिवस मनाउन थालिएको हो । पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ’शुभकामना सन्देशमा भनिएको छ । 

यस्तै स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरू सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन् । 

लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलमा पुर्याउन लुम्बिनी पर्यटन सर्किट बनाउने गरी सरकारले काम थालेको मुख्यमन्त्री आचार्यको भनाई छ ।

सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी यहाँको प्रमुख पर्यटकीय गन्तव्य स्थल हो भने लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेशका १२ जिल्लामा पर्यटकीय स्थल, धार्मिक सम्पदा तथा निकुञ्जको भ्रमण गराउन प्रदेश सरकारले योजना बनाएको छ ।

लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक सांस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवर्धन गर्न सक्ने थुप्रै सम्भवनाहरु रहेको मुख्यमन्त्री आचार्यले बताए ।

सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा विश्वव्यापी आवागमनलाई सहज, सरल तथा पहुँचयोग्य बनाउने उद्देश्य राखेर संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्गठनको आह्वानमा हरेक वर्ष विश्व पर्यटन दिवस संसारभर विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप