शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
जनस्वास्थ्यमा खेलबाड

वीरेन्द्रनगरका खाद्य, डेरीदेखि पानी उद्योगमा जनस्वास्थ्य मापदण्ड विपरीत उत्पादन तथा बिक्री वितरण

शुक्रबार, ११ असोज २०८१, ०७ : ४२
शुक्रबार, ११ असोज २०८१

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरका खाद्य, डेरीदेखि पानी उद्योगले जनस्वास्थ्य मापदण्ड विपरीत उत्पादन तथा बिक्री वितरण गर्ने गरेको पाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमनका गुणस्तरहीन खाद्य सामग्री, दुधदेखि दुषित पानी उत्पादन हुने गरेको पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले साउन ५ गतेदेखि भदौ ३० गतेको अवधिमा २३ वटा खाद्य उद्योग, त्यसमा ३ वटा डेरी, ७ वटा पानी उद्योगमा अनुगमन गरेको थियो । यस्तै ३४ वटा खाद्य किराना पसल, दुई वटा दाना पसल, २२ वटा होटल तथा रेस्टुरेन्टमा अनुगमन गरेको छ । अनुगमन गरेका अधिकांश उद्योगबाट गुणस्तरहीन वस्तु उत्पादनका साथै बिक्री वितरण भएको पाइएको कार्यालयले जनाएको छ ।

अनुगमनको क्रममा खाद्य पदार्थ तयारी तथा वितरण गर्ने स्थान स्वच्छ र सफा नरहेको, होटल तथा रेस्टुरेन्टहरूले खाद्य स्वच्छता तथा गुणस्तर ऐन ०८१ को दफा २५ बमोजिम सेवा प्रदायकको दायित्व पूरा गरेको पाइएको छैन ।

यस्तै म्याद नाघेका र कैफियत देखिएका ४९४.७२ किलो बराबरको खाद्य बस्तु जफत गरी नष्ट गरिएको कार्यालयका सूचना अधिकारी पदम बरालले बताए । उनका अनुसार अनुसार अनुगमन पश्चात २० वटा खाद्य ऐन बर्खिलाप मुद्दा उठान भएका छन् भने त्यसमध्ये ५ वटा खाद्य ऐन २०२३ बर्खिलाप मुद्दा दायर भएका छन् । जसमध्ये दुई वटा जिल्ला प्रशासन र तीन वटा जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरिएको छ ।

यस्तै ४ वटा मुद्दा प्रारम्भिक अनुसन्धान गरी सम्बन्धित कार्यक्षेत्र हेर्ने कार्यालयमा पठाइएको छ ।

दायर भएका मुद्दाहरुको विवरण

1

सबै पानी उद्योगमा कैफियत

वीरेन्द्रनगरमा ७ वटा प्रशोधित पिउने पानी उद्योग छन् । ती सबै उद्योगमा कैफियत देखिएको छ । बर्खाको समयमा पिउने पानीको माध्यबाट सङ्क्रामक रोग फैलन सक्ने जोखिम हुन्छ । तर प्रशोधित पानी उद्योगमै जनस्वास्थ्यको ख्याल नगरी उत्पादन तथा बिक्री हुने गरेको बराल बताउँछन् ।

वीरेन्द्रनगर नगरपालिका–१२ को औद्योगिक क्षेत्रमा रहेको मध्यपश्चिम वाटर एण्ड वेभेरेज प्रालि विरुद्ध दुषित खानेपानी बिक्री वितरण गरेको भन्दै मुद्दासमेत दायर भएको छ ।

उक्त उद्योगमा युभी मेसिनले कामै नगरेको, प्रयोगशाला परीक्षण, उपकरण मर्मत सर्भिसको व्यवस्थित रेकर्ड नै भेटिएको छैन ।

वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको कर्णाली प्रदेश वाटर एण्ड वेभरेज इन्डष्ट्रिजले अन्य उद्योगका जार प्रयोग गर्ने, लेबलमा अद्यावधिक (नयाँ) अनुज्ञापनपत्र उल्लेख नै नगरी पानी बिक्री वितरण गर्ने गरेको छ । सोही वडामा रहेको तिला कर्णाली पानी प्रशोधन उद्योगले पानीका बोतल तथा जारमा प्याकिङ गर्नुअघि युभीविनै प्रशोधन गर्ने गरेको पाइएको छ । युभी भनेको अल्टा भ्यावाइलेट लाइट हो, जसले पानीमा रहेका हानिकारक जीवाणु मार्दछ ।

बरालका अनुसार केही पानी उद्योगबाहेक धेरैले तिलाको जस्तै बोतल तथा जार भर्नुभन्दा पहिला युभी प्रयोग गर्ने गरेको देखिँदैन । वडा नम्बर ३ मा रहेको जयश्री प्रशोधित पिउने पानी उद्योगले पनि युभी मेसिनविनै पानी बेच्ने गरेको छ । साथै बोतल भर्ने मेसिनहरू मर्मत नगरेको पनि अनुगमनका क्रममा पाइएको बरालले बताए ।

अनुगमनका क्रममा देखिएका त्रुटि तत्काल सुधार गर्न निर्देशन दिइएको उनले बताए ।

मसला उद्योगमा सिलबन्दी

अनुगमनका क्रममा त्रुटि पाइएपछि वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको चर्चित रारा मसला उद्योग सिलबन्दी गरिएको छ । उद्योगले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन ०८१’ को दफा १७ को (ङ) बमोजिम ‘प्याकेजिङ गरिएको खाद्य पदार्थको लेवलमा प्रयोग गरिने कुनै लिखित, भनाइ, चिह्न, डिजाइन लगायतका विवरण झुटो वा भ्रामक रुपमा प्रस्तुत गरी झुक्क्याई खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने’ प्रावधान विपरीत काम गरेपछि सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप