शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना

शुक्रबार, ११ असोज २०८१, ०६ : ५९
शुक्रबार, ११ असोज २०८१

सिन्धुपाल्चोक । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । 

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्घाटन गरे। साथै देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गरे । 

गाउँपालिकाका किसानलाई आयआर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोगप्रति गाउँपालिका अध्यक्ष लामाले आभार व्यक्त गरे । 

गाउँपालिकाको कृषि नीतिअन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आयआर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास उनले व्यक्त गरे ।

देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालनसँगै यहाँका किसानलाई आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस अवसरमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष रेनुका चौलागाईँ र तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापामगरलाई पनि गाडीको साँचो हस्तान्तरण गरिएको थियो । 

यसैबीच, कृषि उपज सङ्कलन केन्द्र सञ्चालक समितिले केन्द्रमा सङ्कलित उत्पादन उचित मूल्यमा किसानसँग खरिद गरी मेलम्चीबाट काठमाडौँसम्म पाँचपोखरीको पहिचानसहित बिक्री वितरण गर्ने वातावरण तय गरिदिन गाउँपालिका र अन्य सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप