पूर्व नेपाल सहकारीको डरलाग्दो तस्बिर, १ अर्ब ७७ करोड खराब कर्जा !
विराटनगर । झापास्थित पूर्व–पश्चिम राजमार्गको केरखाबाट दक्षिण झण्डै ७ किलोमिटर झरेपछि कमल गाउँपालिका–२ स्थित तोपगाछी क्याम्पा चोक पुगिन्छ । त्यही चोकको पश्चिमतर्फ एउटा विशाल भवन छ । त्यो भवन पूर्व नेपाल बहुउद्देश्यीय सहकारीको हो ।
भवन सफा र सुन्दर छ । वरिपरिको वातावरण शान्त छ । तर, सहकारीभित्रको कारोबार फोहोरी र अशान्त छ । कुनै जमानामा प्रतिष्ठित र उदाहरणीय सहकारी भनेर परिचित संस्थामा अहिले देखिएको बेथिति र कारोबार डरलाग्दो छ । जति बुझ्यो झन् कठिन हुने खालका कहानी छन् ।
क्रिप्टो करेन्सी कारोबारीको अवान्छित साँठगाँठमा करोडौँ रकम त्यहाँबाट अन्तै लगिएको छ । धितो मूल्याङ्कन अत्यधिक गरेर गैरकानुनी रूपमा कर्जा प्रवाह गर्दा अहिले ९४ प्रतिशत अर्थात् १ अर्ब ७७ करोडभन्दा बढी ऋण जोखिममा छ ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकारी शाखाले गरेको स्थलगत अनुगमनको प्रतिवेदन गत भदौ ५ गते मन्त्रालयलाई हस्तान्तरण भयो । तर, उक्त प्रतिवेदन नै हचुवामा दिइएको र वास्तविकताभन्दा टाढा रहेको सहकारीका पदाधिकारी बताउँछन् ।
गणेश ढकालको नेतृत्वमा २०५७ सालमा उक्त सहकारी स्थापना भएको हो । उक्त सहकारीको नेतृत्व ढकालले २०७३ सालसम्म गरे । त्यसपछि शालिक पोखरेल ४ वर्ष अध्यक्ष बने । त्यस यता प्रेम सापकोटा अध्यक्ष छन् । तर, सहकारीको साख र अवस्था चरम सङ्कटमा छ ।
‘एउटा सानो कर्मचारीको गल्तीले पनि समस्या हुँदो रहेछ । त्यसको जिम्मा त हामीले लिनुपर्ने नै रहेछ,’ आफूहरूलाई आइपरेको समस्याबारे सुनाउँदै अध्यक्ष सापकोटाले भने ।
सापकोटाका अनुसार सरकारीस्तरबाट अनुगमन कमजोर भयो, सञ्चालक समितिले कर्मचारीलाई धेरै विश्वास गरे । लगानी गरेको ठाउँ पनि राम्रो परेन । कोभिडका कारण व्यवसायीहरू पनि सङ्कटमा पर्दै गए । त्यसको असर अहिले देखियो ।
सहकारीका अध्यक्ष सापकोटाले ५५ करोडको धितो सम्पत्ति लिलाम गर्ने अन्तिम तयारीमा लागेको बताए । ‘दसैँ–तिहारपछि हामी धेरै असुली गर्छौं । बाह्य ऋण असुली पनि १ अर्ब ६ करोडबाट घटाउँदै ८४ करोडमा झारेका छौँ । ५५ करोडको धितो लिलामी भएपछि हामी आधा ऋण घटाउँछौँ,’ उनले आशावादी हुँदै भने ।
सहकारीले गरेको कर्जा प्रवाहमध्ये ७३ प्रतिशत खराब कर्जा रहेको सापकोटा स्वीकार गर्छन् । ‘धितो मूल्याङ्कन त्यतिबेला बढी भयो होला । अहिले मन्दीको कारण कम हुन सक्छ । ७३ प्रतिशत खराब कर्जा भन्ने विषय छ । तर, हामी धितो लिलाम गरेर अगाडि बढ्नतिर लागेका छौँ,’ सापकोटाले भने, ‘धितो लिलामी गर्दा पनि ऋण असुली भएन भने कानुन अनुसार कारबाहीको प्रक्रियामा जान्छ । त्यसबेला जो कोहीले पनि व्यहोर्नु पर्छ होला ।’
केही वर्ष अगाडिदेखि तत्कालीन व्यवस्थापक चन्द्रकला ढकाल, कर्जा प्रमुख देवराज भण्डारी निलम्बनमा छन् । चन्द्रकला ढकाल तत्कालीन अध्यक्ष गणेश ढकालकै बहिनी हुन् । ‘त्यसैबेला धेरै समस्या भयो,’ सापकोटाले भने, ‘अहिले हामी पूरै जवाफदेही भएर बसेका छौँ । सिङ्गो सञ्चालक समिति यहीँ छ । १२० जना कर्मचारी पनि कोही फरार भएका छैनन् । त्यसकारण हाम्रो नियतमा खोट थिएन र छैन । हामी सुधारको प्रयासमा छौँ ।’
सहकारीका अध्यक्ष सापकोटाले ५५ करोडको धितो सम्पत्ति लिलाम गर्ने अन्तिम तयारीमा लागेको बताए । ‘दसैँ–तिहारपछि हामी धेरै असुली गर्छौं । बाह्य ऋण असुली पनि १ अर्ब ६ करोडबाट घटाउँदै ८४ करोडमा झारेका छौँ । ५५ करोडको धितो लिलामी भएपछि हामी आधा ऋण घटाउँछौँ,’ उनले आशावादी हुँदै भने ।
सहकारीलाई पहिलेकै अवस्थामा पुर्याउने उनको दाबी छ । तर सहकारीकै जिम्मेवार अधिकारीहरू त्यति सहजै सहकारी पहिलेको अवस्थामा फर्काउन नसक्ने बताउँछन् ।
‘डरलाग्दो तस्बिर छ, क्रिप्टोमा गयो ५९ करोड’
पूर्व नेपाल सहकारीबाट ५९ करोड रुपैयाँ क्रिप्टो कारोबारीको हातमा पुगेको विश्वस्त स्रोत दाबी गर्छ । कसरी गयो भन्नेबारे कामना सेवा विकास बैंकको घोटाला प्रकरण बुझ्नु पर्छ । २०७९ सालमा कामना सेवा विकास बैंकको १४ करोड ४० लाखभन्दा बढी रकम हिनामिना गरेको मुद्दामा दोषी देखिएका व्यक्ति थिए सुवास दाहाल । उनले पनि बैंकबाट एक करोड ४० लाख ऋण लगेका थिए । बैंकबाट ऋण लिने क्रममा दाहालले सरकारी कागजात किर्तेसमेत गरेको पाइएको थियो । यही कारण मूल्याङ्कनकर्ता कमल नेपालले आत्महत्यासमेत गरेका थिए ।
प्रहरीले पनि कमल नेपालले आत्महत्या गर्नुको पछाडि सोही गिरोहको हात रहेको दाबी गरेको थियो । तर, त्यो गिरोह क्रिप्टो कारोबारी थियो । कामना सेवा विकास बैंकमा समस्या देखिन थालेपछि सुवास दाहालकै ग्रुपले पूर्व नेपाल सहकारीको ५९ करोड रुपैयाँ पनि फर्जी कागजात बनाएर लगेको थियो ।
दाहालको ग्रुपमा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको छोरा योगेश भण्डारी, प्राविधिक सहयोगी कमल नेपाल (जसले आत्महत्या गरे) र पूर्व नेपाल बहुउद्देश्यीय सहकारीको ऋण उपसमितिका संयोजक देवराज भण्डारी थिए । जसको कारण सहकारीको ठुलो रकम अन्तै गयो । उनीहरूले साढे दुई दर्जनभन्दा बढी व्यक्तिको सम्पत्ति राखेर रकम लगेका छन् ।
‘३२ जनाले लगेको ऋण भनेको पटकपटक हो । हामी ऋणीलाई मात्रै चिन्दछौँ । बैंक स्टेटमेन्ट र कारोबारको विवरणले पनि उहाँहरू नै जिम्मेवार हो । तर, यो क्रिप्टोमा गएको भन्ने विषय हामीलाई थाहा छैन,’ अध्यक्ष सापकोटा भन्छन् ।
औपचारिक कुराकानीका क्रममा क्रिप्टोमा गएको भनेर कसैले नभने पनि अनौपचारिक कुराकानीका क्रममा पदाधिकारी तथा कर्मचारीहरू नै क्रिप्टोमा सुवास दाहालको योजनामा करोडौँ रकम पुगेको दाबी गर्छन् । ‘सहकारीको डरलाग्दो तस्बिर छ । क्रिप्टो करेन्सीदेखिको घोटाला छ । ५९ करोड रुपैयाँ लिएर गएका छन्,’ उक्त स्रोत भन्छ । सुवास हाल फरार छन् ।
पुरानै अवस्थामा ल्याउने दाबी
उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामराज प्रताप भण्डारी सहकारीलाई साढे ३ वर्षमा पुरानै अवस्थामा ल्याउने दाबी गर्छन् । ‘सहकारी भनेको सामाजिक अभियान हो । यो अगाडि बढ्ने या नबढ्ने भन्ने कुरा नेतृत्वको क्षमताको कुराले निर्भर गर्छ । ऋण दिने प्रक्रिया, त्यहाँका बेथिति र संस्थामा आएको खराबीले नेतृत्व सक्षम छैन भन्ने नै देखाउँछ,’ उनले भने, ‘मैले दिएको मोडलबाट काम गरियो भने साढे तीन वर्षमा संस्था पहिलेकै स्थानमा आइपुग्छ ।’
उनका अनुसार १५ प्रतिशत ऋण जोखिममा जाँदा २५ करोड रुपैयाँ पैसा उठ्न नसक्ने अवस्था आउनसक्ने बताउँछन् ।
सहकारीका उपाध्यक्ष यामबहादुर कट्टेलले नयाँ सीईओमा भण्डारी आइसकेपछि संस्थामा सुधार आउँदै गएकोे बताए । ‘म सहकारीको स्थापनाकालदेखि नै सदस्य हुँदै उपाध्यक्षसम्म भएको छु । आइपरेको समस्या व्यहोर्छु । हामी समस्या समाधानमै लागेका छौँ,’ उनले भने, ‘अहिले हामीले ठुलो बचत लिएका छैनौँ । कर्जा प्रवाह पनि विचार गरेर थोरैथोरै मात्रै गरिरहेका छौँ ।’
कट्टेलले पनि ३०–३२ जनाले गलत तरिकाले ऋण लगेको स्वीकार गरे । त्यो ऋण लिनेहरू कोही दमक, कोही उर्लाबारी र कोही कमल गाउँपालिकाकै रहेको उनको भनाइ छ । ‘क्रिप्टोमै लगानी गरे भनेर हामीले भन्नसक्ने अवस्था छैन । उनीहरूले विभिन्न व्यवसाय देखाएर लगेका छन् । कसैले घरजग्गा किन्ने भनेका छन् । हाम्रो पनि तीन वर्ष अगाडिदेखि मात्रै आँखा खुल्यो । त्यसअगाडि हामी भ्रममा थियौँ,’ उनले भने ।
कट्टेलले कर्मचारीलाई विश्वास गर्दा समस्या सिर्जना भएको बताए । ‘अहिले आत्मबल बढेको छ । सक्रियता पनि बढेको छ,’ उनले भने ।
प्रतिवेदन अनुसार पर्याप्त धितो जमानत राखी सुरक्षित रूपमा ऋण लगानी गर्नुपर्नेमा विगतमा जमानतको मूल्याङ्कन भन्दा बढी ऋण लगानी गरेको पाइएको छ । ‘संस्थाका पदाधिकारी तथा ऋणीहरूको मिलेमतोमा अनियमित तरिकाबाट लगानी गरेको हुन सक्ने सम्भावना देखियो,’ प्रतिवेदनमा भनिएको छ ।
प्रदेश मन्त्रालयको सहकारी शाखाले दिएको प्रतिवेदनमा भने सहकारीका पूर्वपदाधिकारी र व्यवस्थापकहरूले आफ्ना कम्पनीमा १८ करोडभन्दा बढी कर्जा लगेको उल्लेख गरेको छ । सहकारीका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरू मिलेर खोलेको कटेरो नेपाल प्रा.लि नामको कम्पनीका सञ्चालकलाई एकै समयमा १८ करोडभन्दा बढी ऋण प्रवाह गरेको प्रतिवेदनमा दाबी गरिएको छ । तर, मन्त्रालयको उक्त प्रतिवेदनप्रति पूर्व नेपाल सहकारीका पदाधिकारीले भने आपत्ति जनाएका छन् ।
‘सहकारी संस्थाका संस्थापक अध्यक्ष गणेश ढकाललगायत अन्य व्यक्तिहरू मिलेर खोलेको कटेरो नेपाल प्रा.लि. नामको कम्पनीका सञ्चालकलाई एकै समय ठुलो ऋण प्रवाह गरेको पाइयो, जुन ऋण उच्च जोखिममा रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार पर्याप्त धितो जमानत राखी सुरक्षित रूपमा ऋण लगानी गर्नुपर्नेमा विगतमा जमानतको मूल्याङ्कन भन्दा बढी ऋण लगानी गरेको पाइएको छ । ‘संस्थाका पदाधिकारी तथा ऋणीहरूको मिलेमतोमा अनियमित तरिकाबाट लगानी गरेको हुन सक्ने सम्भावना देखियो,’ प्रतिवेदनमा भनिएको छ ।
अनुगमन टोलीले तत्कालीन ऋण लगानीमा संलग्न ऋण उपसमिति, सञ्चालक पदाधिकारी, व्यवस्थापक, कर्मचारीहरू तथा ऋण लिने ऋणीहरूमाथि विज्ञबाट सुक्ष्म रूपले छानबिन गरी ऋण उपयोगिताको बारेमा अनुसन्धान गर्नुपर्ने सुझाव दिएको छ ।
यसअघि २०७९ भदौमा संस्थाका लेखासमिति संयोजक केदारनाथ ढुंगेलको संयोजकत्वमा सात सदस्यीय आन्तरिक अनुगमन सुपरीवेक्षण उपसमितिले गरेको एक अध्ययनले पनि सहकारी सङ्कटमा जानसक्ने देखाएको थियो ।
सहकारीका सीईओ भण्डारी भने यथार्थ अझै आउन नसकेको बताउँछन् । ‘संस्थामा धेरै खालका छानबिन भएका छन् । तर, छानबिन प्रतिवेदनहरू नै दोषपूर्ण छन् । छानबिन सन्तोषजक नै छैन । छानबिन सुरुदेखि नै हुनुपर्छ । ऋण लानेहरूले थप ऋण दिइरहँदासम्म किस्ता तिरेको र ऋण दिन बन्द गरेपछि किस्ता पनि तिर्न छोडेको देखिन्छ,’ उनले भने ।
प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले पनि पर्याप्त अनुगमन र अध्ययन नगरी प्रतिवेदन दिएको उनको भनाइ छ । ‘सहकारी मन्त्रालयको टोलीलाई मैले भनेको के हो भने २ दिन होइन, १० दिन हेर्नुपर्छ भनेको छु । यहाँका सबै कुरा नहेरी हचुवाको भरमा प्रतिवेदन आयो,’ उनले भने ।
तथ्याङ्कमा पूर्व नेपाल
सहकारीमा १७ हजार जनताको १५ करोड ८३ लाख, निक्षेप ७५ करोड १५ लाख, ऋण तिर्नुपर्ने ८४ करोड ८३ लाख, अन्य कर्जा ९६ करोड ५३ लाख, तिर्नुपर्ने अन्य दायित्व ५० करोड ७३ लाख रुपैयाँ छ । यस्तै जगेडा कोष ७ करोड ५२ लाख छ ।
यस्तै सहकारीमा हाल नगद १ करोड ३७ लाख, बैंक खाता १ करोड १९ लाख, लगानी खातामा ४ करोड ३५ लाख ४८ हजार, ऋण लगानी १ अर्ब ६८ करोड ६७ लाख, पाउनुपर्ने रकम १ अर्ब ३५ करोड ३८ लाख रुपैयाँ छ । यस्तै सहकारीको सम्पत्ति भने ११ करोड बराबरको छ । संस्थाको खुद नोक्सान ७ करोड ५२ लाख ६४ हजार, जम्मा वासलात ३ अर्ब २९ करोड ६२ लाख बराबरको छ ।
तर, सहकारीले अहिले सावाँ ब्याजसहित १ अर्ब ८९ करोड ५० लाख पाउनुपर्ने हिसाब भए पनि ब्याजसहित ११ करोड ६४ लाखमात्रै असल कर्जा छ । १ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ जोखिममा रहेको सहकारीकै कर्मचारी बताउँछन् । जुन कर्जा सहकारीको नियम विपरीत छ ।
‘ऋण विनियमावलीले भनेको धितोको कुरा हो । जुन अत्यन्तै कमसल छ । कोही मुद्दा परेको छ । कोही जग्गा कहाँ छ, थाहा छैन । कुनै जग्गा खोलाको छेउमा छ । त्यो धितो लिलामी प्रक्रियामा पनि संस्थाले उल्टो खर्च गर्नुपर्ने अवस्था छ,’ उक्त स्रोतले भन्यो, ‘सहकारीमा भएको घोटालाको कुरा गर्ने हो भने भनिसाध्य छैन । सञ्चालक समिति घोटालाको विषयलाई ढाकछोप गर्न खोज्छ । कर्मचारीलाई मात्रै दोष दिन्छ ।’
सहकारीले विगतमा गरेको बेथितिको चर्चा गर्दै उक्त स्रोतले भन्यो, ‘५० लाखको जग्गा किनेको छ । ४ करोडको मूल्याङ्कन गरेको छ । यसमा तत्कालीन सञ्चालक समितिका अध्यक्ष तथा पदाधिकारी सबैको संलग्नता छ । अहिले पनि बाह्य वित्तीय संस्थालाई झुक्याएर ऋण लिने काम भइरहेको छ । अहिले पनि संस्थामा ६ प्रतिशत ऋणीमात्रै राम्रा छन् । ९४ प्रतिशत खराब ऋणी छन् ।’
सहकारीको यति ठुलो रकम हिनामिना हुनुमा संगठित अपराध भएको उक्त स्रोत दाबी गर्छ । स्रोतका अनुसार २०६८ सालदेखि क्रिप्टोमा लगानी गर्ने क्रम सुरु भयो । सुवास दाहालको योजनामा यहाँ देवराज भण्डारी र इन्जिनियर कमल नेपाल (जसले आत्महत्या गरे)ले कामना सेवा विकास बैंकमा समस्या आएपछि त्यहाँको ऋण सिफ्ट गरेर सहकारीमा ल्याइयो । ती ऋणहरू कुनै पनि व्यवसायिक र सहकारीको मान्यता अनुरुप नभएको स्रोतको भनाइ छ । ‘केही ऋणीहरू त्यताबाट आए, कोही यहाँबाटै ऋण लिएर गए । यद्यपि दाहालको संस्थागत रूपमा सहकारीको पैसा लाने संलग्नता देखिँदैन,’ स्रोतले भन्यो ।
त्यही कसुरमा व्यवस्थापक चन्द्रकला ढकाल र देवराज भण्डारीहरू निलम्बनमा छन् । सञ्चालक समितिका सदस्यहरूले ७०–८० करोडभन्दा बढी ऋण लगानी गर्दा राम्ररी नहेरेको देखिन्छ । आजै सदस्य बनेर आजै ऋण प्रवाह गरेको त सरकारी प्रतिवेदनमा पनि उल्लेख छ । ‘ऋण लानुको उद्देश्यबारे प्रष्ट नभइ लगानी गरिएको छ । यस्तो काण्डमा सञ्चालक समिति सदस्यहरू पनि संलग्न छन् । क्रिप्टो करेन्सीसहितको गिरोहको ५९ करोड रुपैयाँ हो । त्यसमा ४–५ करोड रुपैयाँ उठेको छ । तर, त्यहाँबाट २० करोड जति मात्रै रकम उठ्नसक्ने देखिन्छ,’ स्रोतले दाबी गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय स्थल सेना अध्यक्ष द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान
-
हिट किक बक्सिङका खेलाडी घिमिरे नेपाल आउँदा विमानस्थलमा भव्य स्वागत
-
अबदेखि ‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने
-
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
-
काठमाडौँमा छविलाल जोशीको बयान सुरु
-
विश्व बैंकको सहकार्यमा प्रादेशिक तथा स्थानीय तह सडक सुधार कार्यक्रम सुरु, १७ अर्ब १५ करोड लागत