शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

चालु वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य

शुक्रबार, ११ असोज २०८१, ०३ : ००
शुक्रबार, ११ असोज २०८१

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्राउने लक्ष्य लिएको छ । सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । 

पर्यटन बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजार तीन सय ३४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन सुरु भएको छ । विभिन्न मुलुकबाट पदयात्री पर्यटक उल्लेख्य सङ्ख्यामा नेपाल आउने क्रम जारी छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन प्रवर्द्धनमा विश्व पर्यटन दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

'विश्व पर्यटन दिवसले देश, समाजलाई पर्यटनबाटै आर्थिक समृद्धिको महत्व अनुभूत गराउन प्रेरित गर्छ, पर्यटनको अध्ययन, अनुसन्धान र यसको सम्भावना र भावी रणनीति बनाउन पनि मद्दत पुग्छ,' उनले भने । 

अध्यक्ष शाहले पर्यटन क्षेत्रको सम्भावनाको अधिकतम उपयोग गरेर बढीभन्दा बढी लाभ लिनसक्नुपर्नेमा जोड दिए । अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन् । नेपाल अनुपम प्राकृतिक विविधता, भौगोलिक, सांस्कृतिक, धार्मिक तथा विविधभाषा र वेशभूषाले भरिपूर्ण आफैँमा एउटा पर्यटकीय गन्तव्य हो । 

परम्परागत सांस्कृतिक सम्पदाको संगम यहाँ हिमशृङ्खला, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधतालगायत आनन्द लिन हरेक वर्ष लाखौँ सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउँछन् । खासगरी मनोरञ्जन, पर्वतारोहण, पदयात्रा, धार्मिक पर्यटन आदि पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

कोरोना महामारीपछि मुलुकको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता  दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप