शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

दिनमा कति चम्चा खानुपर्छ तेल ?

शुक्रबार, ११ असोज २०८१, ०५ : ३०
शुक्रबार, ११ असोज २०८१

काठमाडौं । भनिन्छ, स्वस्थ रहन कमभन्दा कम चिल्लो खाना खानुपर्छ । जंक फूडमा तेलको मात्रा बढी हुन्छ, जसका कारण यी खानेकुरा खाँदा धेरै रोग लाग्ने खतरा बढ्छ ।

तर, यो पनि सत्य हो कि नेपाली भान्सामा धेरैजसो खानेकुरा पकाउँदा तेल वा घ्यूकै प्रयोग गरिन्छ, त्यसैले पनि हामी तेलबाट पूर्णतया बच्न सक्दैनौं । हरेक दिन हामीले राम्रै मात्रामा तेल खान्छौं । आजको यस लेखमा हामीहरू दिनँहु कति तेल खानुपर्छ भनेर कुराकानी गर्नेछौं । 

हामीले आफ्नो आहारमा धेरै तेल प्रयोग गर्नु हुँदैन भनेर आहारविद्हरू भन्छन् । तेलमा धेरै प्रकारका फ्याट हुन्छन् । तेलमा पाइने स्याचुरेट र ट्रान्स फ्याटले कोलेस्ट्रोलको स्तर बढाउन सक्छ । यही कारणले गर्दा हामीले दिनमा ४ वा ५ चम्चाभन्दा धेरै तेल खपत गर्नु हुन्न भनेर विज्ञहरू भन्छन् ।

तपाई आफ्नो स्वास्थ अवस्थाअनुसार तेलको मात्रा बढाउन वा घटाउन सक्नु हुन्छ । स्वास्थ्यलाई कुनै हानी नहोस् भनेर हामीले खाना पकाउन राम्रो गुणस्तरको तेल रोज्नुपर्छ । 

आहारविद्हरूको कुरा मान्ने हो भने तेल हाम्रो स्वास्थ्यको लागि आवश्यक पनि छ । यसमा फ्याट हुन्छ । यसले शरीरलाई ऊर्जा प्रदान गर्छ, तर धेरै मात्रामा तेलको सेवनले हृदय रोगको जोखिम बढाउन सक्छ । 

डब्ल्यूएचओका अनुसार यदि कुनै व्यक्तिले २ हजार क्यालोरीको आहार लिइरहेको छ भने लगभग ४०० देखि ७०० क्यालोरी बोसोबाट प्राप्त हुनु पर्छ । यो ४४ देखि ७८ ग्राम बोसो बराबर हुन्छ । तर, तेलबाहेक पनि अधिकांश खानेकुरामा बोसो हुन्छ, जसका कारण चिल्लोको सेवनलाई नियन्त्रण गर्नुपर्छ । महिला र पुरुष दुबैले बराबर मात्रामा बोसोको सेवन गर्नुपर्छ ।

स्वस्थ रहन मानिसले स्याचुरेटेड फ्याटको सट्टा अनस्याचुरेटेड फ्याटको सेवन गर्नु पर्छ भनेर डब्लुएचओले सुझाव दिएको । माछाको तेल, नटको तेल र बियाँको तेलमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ, जुन शरीरका लागि निकै फाइदाजनक मानिन्छ । 

अन्य कयौं वनस्पति तेलहरूमा पनि स्वस्थ बोसो राम्रो मात्रामा पाइन्छ । आफूलाई हृदय सम्बन्धी समस्याहरू नहोस् भन्ने चाहने हो भने हामीले खाना पकाउन राम्रो खालको तेल छनौट गर्नुपर्छ । यदि तपाई आहार र फ्याट कित मात्रामा लिनु पर्छ भनेर अलमलमा हुनुहुन्छ भने एकपटक आहारविज्ञसँग परामर्श गर्नुहोस् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप