आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

'अमेरिकामा भएका गतिविधि प्रवासी नेपालीका लागि फाइदाजनक छैनन्'

बिहीबार, १० असोज २०८१, ०७ : ००
बिहीबार, १० असोज २०८१

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले सरकारका सम्मानित पदहरूको सधैँ सम्मान गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका क्रममा उनको विरोधमा भएका गतिविधिप्रति लक्षित गर्दै शर्माले केही पक्षबाट भएका असहज गतिविधि राष्ट्रका वा प्रवासी नेपालीका लागि फाइदाजनक नभएको बताए । 

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको जारी अमेरिका भ्रमणका क्रममा आएका केही टीकाटिप्पणी र पछिल्लो समय डायस्पोरा नेपाली समूदायमा देखिएका केही असहज गतिविधि राष्ट्रका वा प्रवासी नेपालीका लागि फाइदाजनक छैनन्’, उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू भएकाले अमेरिकाका नेपाली समाजले भेट्न पाउने अधिकार पनि थियो । तर, न्युयोर्क कार्यक्रममा जे जस्ता कमीकमजोरी भए त्यसबारेमा समग्र गैरआवासीय नेपालीहरू दुखी छौँ ।’

उनले नेपाली समुदायकै केही व्यक्तिहरुको कमीकमजोरी भएको सत्य भएपनि विदेशमा रहेका सबै ८० लाख नेपालीहरूलाई एउटै दृष्टिकोणले हेरिनु भने नहुने उनको भनाइ छ । ‘बाध्यताले बिदेसिएका र समृद्ध नेपाल निर्माणका लागि अहोरात्र आत्मैदेखि लागिरहने सम्पूर्ण नेपालीजनहरु–मलाई लाग्छ ९८ प्रतिशत नेपालीहरू एक ठाउँमा छन्’, उनले भने, ‘त्यस कारण बाध्यताले बिदेसिएका मनहरू र हरदम मातृभूमिको समृद्धिका लागि अघि बढ्न आतुर रहेका पवित्र मनहरूलाई आँच पुग्ने किसिमका टीकाटिप्पणी कसैप्रति पनि नगरिदिनु हुन अनुरोध गर्दै र हामीहरूले हाम्रो सम्मानित पदहरूको सधैँ सम्मान पनि गर्नु पर्छ ।’

उनले पछिल्लो चिन्तित अवस्थालाई सबैले आ–आफ्नो ठाउँबाट बुझेर न्यूनीकरण गर्नुको विकल्प नभएको पनि बताए । 
केही दिनअघि अमेरिकामा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि स्थगित गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप