शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, १० असोज २०८१, २२ : ००
बिहीबार, १० असोज २०८१

आज मिति २०८१ साल असोज महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. सडकको दुरवस्था

सडक विभागले यही असोज १० गतेभित्र राजमार्गको सडकका खाल्डाखुल्डी पुर्ने दाबी गरेको थियो । तर, व्यवहारमा भने त्यो सम्भव भएन । काठमाडौँको नागढुंगादेखि चितवनको नारायणगढ सडक खण्डको यात्रा गर्ने क्रममा ठाउँ ठाउँमा कच्ची बाटो र प्रशस्त मात्रामा खाल्डाखुल्डी भेटिन्छन् ।

हालै नागढुंगादेखि नारायणगढसम्मको स्थलगत रिपोर्टिङ गर्ने क्रममा हामीले सडकको दुरवस्था भेट्यौँ । लाखौँ नागरिकहरू यही सडकको बाटो हुँदै पूर्व पश्चिमतर्फको यात्रा गर्छन् । अन्य समयमा भन्दा दसैँमा सवारीसाधनको चाप बढ्ने गर्छ । दसैँ नजिकिँदै जाँदा खराब सडकका कारण यात्रुहरू निकै सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

सडकको अवस्थाबारे रातोपाटीले गरेका स्टोरीहरु

२. अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च

सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नि सापकोटामाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरि दायर भएको रिटमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश गरेको छ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र  कुमार रेग्मीको इजलासले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरी अनुसार अनुसन्धान कारबाही अगाडि बढाउनु भनी यस अदालतबाट पटक पटक आदेश भैसकेको परिप्रेक्ष्यमा अदालतको अन्तरिम आदेश पश्चात् के भएको हो त्यसको सक्कल फाइलसहित उपस्थित हुन भनेको हो ।

३. सहकारीबारे महान्यायाधिवक्ता कार्यालयको निर्णय

सहकारी ठगीमा संलग्न रहे पनि बचतकर्ताहरूको रकम फिर्ता गर्नेलाई मुद्दा नचलाउने वा मुद्दा चलिरहेको अवस्थामा पनि मिलापत्र गराउने सकिने भन्दै महान्यायाधिवक्ताको कार्यालयले परिपत्र गरेपछि सहकारीबाट ठगिएका कतिपय पीडितले असन्तुष्टि व्यक्त गरेका छन् ।

भर्खरैमात्र संसदीय छानबिन समितिले रवि लामिछाने र जीबी राईसहित सहकारीमा धेरैको बदमासी सार्वजनिक भएकै समयमा महान्यायाधिवक्ता रमेश वडालले यस्तो परिपत्र जारी गरेका हुन् ।

उच्चस्तरीय संसदीय समितिले सहकारीको रकम गोर्खा मिडियामा ल्याउँदै दुरुपयोग गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही सिफारिस गरेका र सोही प्रकरणमा गोर्खा मिडियामा पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेकाले यस्तो आशङ्का गरिएको पीडितहरूको भनाइ छ ।

 

४. विवादमा इन्स्पेक्टर

ललितपुरको सानागाउँमा बस्ने एक जना व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउने’ त्रास देखाएर रकम असुलेको घटनाबारे ललितपुर प्रहरीले छानबिन थालेको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् ।

५. अखिल क्रान्तिकारीको सम्मेलनमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै वामपन्थी एकताको नयाँ समाचार सुन्न पाइने दाबी गरेका छन् ।

 बिहीबार कीर्तिपुरमा आयोजित अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सोही अनुसार योजना र कार्यक्रम बनाउन विद्यार्थी संगठनलाई निर्देशन दिए ।

६. उपनिर्वाचन

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। उक्त  कार्यक्रम अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

७. प्रदेश समाचार

लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवं जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध उनकै पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएकी छन् ।

राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी परेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सीसी क्यामेरा र सडक बत्ती छैन । सडक बत्ती प्रयोग गरे बापतको महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटेको ६ महिना बितिसक्यो ।

प्राधिकरणको सुर्खेत शाखाका सूचना अधिकारी बेनी नेपालीका अनुसार सडक बत्ती बालेबापत वीरेन्द्रनगर नगरपालिकाले ५ करोड ८३ लाख ६६ हजार रकम बुझाउनुपर्ने छ । तर अहिलेसम्म नगरपालिकाले प्राधिकरणलाई सो रकम बुझाएको छैन ।

गण्डकी प्रदेश सरकारले गएको चैत पहिलो साता पोखरालाई पर्यटनको राजधानीका रूपमा घोषणा गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै उपस्थितिमा पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएको हो ।

कोशी प्रदेश योजना आयोगका दुई सदस्यले राजीनामा दिएका छन् । माओवादी कोटाबाट नियुक्ति लिएका धरानका भवानी बराल र विराटनगर कि नमिता न्यौपानेले बुधवार राजीनामा दिएका हुन् ।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१ जेठ २८ गतेको निर्णयबाट प्रदेश योजना आयोग कोशी प्रदेशको सदस्य पदमा उनीहरू नियुक्त भएका थिए । दुवै जनाले संयुक्त रूपमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

८. सुन आयात ठप्प

झन्डै साढे २ महिनायता नेपालमा औपचारिक माध्यमबाट हुने सुनको आयात ठप्प भएको छ । व्यावसायिक कारोबारका लागि सुनको आयात गर्ने जिम्मेवारी पाएका वाणिज्य बैंकहरुले नयाँ आर्थिक वर्षदेखि सुनको आयात गरेका छैनन् ।

९. राष्ट्र बैंकको रिपोर्ट

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ  ।

यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी  शोधनान्तर स्थिति रु ४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ ।

सेयर बजार परिसूचक (नेप्से)को वृद्धिले दोस्रो दिन निरन्तरता पाउन सकेन । साताको अन्तिम कारोबार दिन बिहीबार बजारमा ३२.८१ अंकको गिरावट आयो । बुधबार ४९ अंकले बजार बढेको थियो ।

१०. यो पनि...

सत्ता साझेदार दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले उनकै निजी निवास बुढानीलकण्ठमा बैठक बोलाएका हुन् । बैठक असोज १३ गते आइतबार दिनको २ बजेका लागि बोलाइएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए ।

पछिल्लो समय दैनिक उपभोग्य सामग्रीहरूको बजार मूल्य घटेको छ । नीतिगत रूपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरू सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । 

नेकपा एकीकृत समाजवादीका नेताहरूको कार्यविभाजनबारे नेताहरूबिच सहमति जुट्न नसकेपछि कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार करिब ३ घण्टा बसेको कार्यदल बैठकमा कार्य विभाजनबारे सामान्य छलफल भए पनि कुनै निर्णय नभएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।

विराटनगरबाट उदयपुर गाइघाट जाँदै गरेको यात्रुवाहक बस सप्तकोशी नदीमा खसेको छ । सुनसरी प्रहरीका अनुसार साँझ ६ बजेतिर यात्रु बस सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बरको ढोकाको बिचबाट झरेको हो । प्रहरीले सबैलाई उद्धार गरेको छ ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप