शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो

बिहीबार, १० असोज २०८१, २१ : २३
बिहीबार, १० असोज २०८१

खोटाङ । माछा मार्ने क्रममा दूधकोसीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो । 

मगर मङ्गलटारमै पर्ने कुखुरेबेँसीबाट बेपत्ता भएका थिए । बेपत्ता भएका मगरलाई स्थानीयवासी र प्रहरीले फेला नपारेपछि सशस्त्र प्रहरीको १ नम्बर बराह बाहिनी पोकली, सुनसरीबाट असोज ८ गते गोताखोर टोली आएको थियो । 

केही दिनदेखि परेको अविरल वर्षाले नदीमा धमिलो बाढी आउँदा ‘भिजिबिलिटी’ कम भएकाले खोजी गर्न कठिन भएको भन्दै गोताखोर टोली फर्किएको मङ्गलटारका वडाध्यक्ष गन राईले जानकारी दिए ।

“कोसीमा बाढी आइरहेको छ । गोताखोर टोली आएलगत्तै खोजी तीव्र पारिएको थियो”, उनले भने, “घटनास्थलदेखि जयरामघाटसम्म खोज्यौँ । कोसीमा धमिलो बाढी आउनेक्रम नरोकिएकाले फेला पर्ने सम्भावना नदेखिएपछि गोताखोर टोली फर्कियो ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप