बुधबार, १६ असोज २०८१
ताजा लोकप्रिय

‘सुगर ड्याडी’को अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा

आशिष देउलालाई ज्यान मार्ने उद्योग र शरीर बन्धक कसुरमा मुद्दा चलाउन राय
बिहीबार, १० असोज २०८१, २० : ११
बिहीबार, १० असोज २०८१

काठमाडौँ । युवा–युवतीलाई रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका आशिष देउला उर्फ ‘सुगर ड्याडी’बारे प्रहरीले अनुसन्धान पुरा गरेको छ । अनुसन्धान पुरा गरेर बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । बा७च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल देउलालाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएका हुन् । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बुढानीलकण्ठस्थित घरमा पनि लगेर आशिषले निमा नाम गरेका अर्का किशोरलाई यातना दिएको अनुसन्धानबाट थाहा भएको छ । दुवैजनाले प्रहरीमा निवेदन दिएका थिए । क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर आशिषको समूहले बुढानीलकण्ठ र लगनमा लगेर यातना दिने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । देउलाको समूहमा २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङलाई प्रहरीले ज्यान मार्ने उद्योग र शरीर बन्धक बनाएको कसुरमा सजाय मागदाबी लिन राय दिएको छ ।

धनी बाबुका छोरा आशिष रात्रि क्लबको नियमित ग्राहक हुन् । सिनेट, ओम्निया र एलओडीमा उनी निरन्तर जान्छन् । पीडित विशाल देउला भन्छन्, ‘मैले उहाँलाई सिनेटमा भेटेको हुँ ।’

क्लबमा जाँदा उनी समय–समयमा नकाव लगाएर जान्थे । बुढयौंली झल्किने नकाव लगाएर क्लबमा जाने र किशोर किशोरीलाई आकर्षित गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनको सुगर ड्याडी–५० मि नामको टिकटक आइडी छ । सो आइडीमा नकाव लगाएर उनले पैसा फालेको भिडियो देखिन्छ । पैसा उडाएको बारेमा अनुसन्धान अधिकृहरुसँग उनले भनेका छन्, ‘बैंकबाट ऋण लिएको पैसा उडाएर भिडियो बनाएको हुँ, त्यो मेरो शौक हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप