शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
अपराध

इन्स्पेक्टर मुछिएको घटना : इटहरीको विवाद भैँसेपाटीमा मिलापत्र, ३० लाख लेनदेन

प्रहरी कर्मचारीको ‘कनेक्सन’बारे छानबिन गर्दै समिति
बिहीबार, १० असोज २०८१, १७ : ५३
बिहीबार, १० असोज २०८१

काठमाडौँ । ललितपुरको सानागाउँमा बस्ने एक जना व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउने’ त्रास देखाएर रकम असुलेको घटनाबारे ललितपुर प्रहरीले छानबिन थालेको छ । आफूसँग रकम असुल्न प्रहरी प्रभाग भैँसेपाटीकी इन्स्पेक्टर बिनु शाही पनि मिलेको ती व्यवसायीले आरोप लगाएका छन् ।

 घरजग्गा कारोबार गर्ने ती व्यवसायी इटहरीमा बस्ने एक जना महिलाको खातामा २० लाख नगद र १० लाखको चेक दिएर ‘बलात्कार मुद्दा’ लाग्नबाट जोखिएका हुन् । पैसा डिपोजिट भएको खातावाला महिलाचाहिँ प्रहरी कार्यालयमा उपस्थित थिइनन् ।

धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया किशोरीले असोज ६ मा भैँसेपाटी प्रभागमा आफूलाई एक पुरुषले गालीगलौज र धाकधम्की दिएको भन्दै उजुरी दिइन् । उजुरीपछि पक्राउ परेका घरजग्गा व्यवसायीसँग निवेदक पक्षले ३० लाख असुलेका हुन् ।

छलफल गरेपछि दुवै पक्षले मिलापत्र गरे । तर, विवाद त्यहीँ सकिएन । विवाद अहिले जिल्ला प्रहरी परिसर जावलाखेलमा पुगेको छ । उजुरकर्तालाई रकम नदिए ‘बलात्कारमा फसाउँछौँ’ भनेर प्रहरीले नै दबाब दिएको व्यवसायीले जिकिर गरेका छन् ।

व्यवसायीलाई त्रास देखाएर रकम असुल्ने काममा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीया किशोरी र इटहरी घर भएका ताज मूल इस्लाम छन् । घटनामा संलग्न इटहरी घर भएका दर्शन पोखरेल फरार छन् । उनीहरुविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए ।

इटहरीबाट सुरु भयो विवाद

घरजग्गा व्यवसायी र किशोरीको भेट गत साउनमा इटहरीमा भएको थियो । उनीहरू मोरङ र इलाममा घुम्न गएको खुलेको छ ।  व्यवसायी काठमाडौँ फर्किएपछि किशोरीले उनीसँग विभिन्न बहानामा रकम माग्न थालिन् । व्यवसायी टाढिएपछि ती किशोरी र अरू दुईजना युवक काठमाडौँ आएका हुन् ।

किशोरी गाडी चढेर आइन् भने दर्शन पोखरेल र ताज मूल इस्लाम जहाज चढेर काठमाडौँ आए । उनीहरूले नै भैँसेपाटी प्रहरीमा गएर व्यवसायीविरुद्ध उजुरी दिए ।

व्यवसायीले आफ्नो खातामा भएको ७ लाख र गाडी बेचेर १३ लाख नगद इटहरीमा बस्ने महिलाको खातामा डिपोजिट गरिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनले १० लाखको चेक ताज मूल इस्लामको नाममा काटेको प्रहरीलाई बताएका छन् ।

शाही जिम्मेवारीमुक्त

विवाद मिलाउने नाममा रकम असुल्न प्रहरीले ‘दबाब’ दिएको भनेर प्रश्न उठेपछि उपत्यका प्रहरी कार्यालयले भैँसेपाटी प्रभागकी इन्चार्ज बिनु शाहीलाई जिम्मेवारीबाट हटाएको छ । शाहीलाई फिर्ता बोलाइएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् । 

घटनामा प्रहरीको संलग्नताबारे छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा इन्स्पेक्टर दीपेन्द्र श्रेष्ठ र वरिष्ठ सई लोकेन्द्र पण्डितसहित ५ जना सदस्य रहेको ललितपुरका एसपी सुवेदीले जानकारी दिए । 

मिलापत्र बापत व्यवसायीले रकम जम्मा गरिदिएको खाता सञ्चालक महिला र भैँसेपाटीमा कार्यरत प्रहरी कर्मचारीहरूको ‘कनेक्सन’बारे छानबिन समितिले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप