शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : पर्यटन वर्ष २०८२ लाई कार्यान्वयन गरिँदै

बिहीबार, १० असोज २०८१, १७ : २४
बिहीबार, १० असोज २०८१

विराटनगर । कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ लाई कार्यान्वयन गर्ने तयारी सुरु गरेको छ । प्रदेश सरकारले शुक्रवार विराटनगरमा एक कार्यक्रम गरी यसबारे आवश्यक जानकारी गराउने भएको छ । सरकारले पर्यटन वर्ष २०८२ का लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश योजना आयोगकाअनुसार प्रदेशको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान १.९३ मात्र रहेको छ । यस्तै प्रदेशमा पर्यटन क्षेत्रले ६४ हजार मात्र रोजगारी सिर्जना गरेको उल्लेख छ ।  

कोशी प्रदेशका यस्तै पर्यटकीय उपजको प्रचारप्रसार र प्रवर्द्धन गर्दै पर्यटक आगमन सङ्ख्यालाई बढोत्तरी गर्दै पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गरी कोशी प्रदेशलाई समृद्ध बनाउन यो कार्यक्रम गर्न लागिएको हो । जसबाट प्रदेशमा पर्यटकको सङ्ख्या र बसाई अवधिलाई २५ प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

यस्तै पर्यटकीय गन्तव्यहरूको पहिचान, स्तरोन्नति तथा प्रचारप्रसार गर्ने, रोजगारी सिर्जना गर्ने, पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानी अभिवृद्धिका लागि सहजीकरण गर्ने र पर्यटन क्षेत्रलाई कोशी प्रदेशको आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्ने उद्देश्य राखिएको छ ।

‘रमणीय कोशी’ भन्ने मूल नाराका साथ मनाउन लागिएको पर्यटन वर्ष अभियानका लागि ८२ गन्तव्यको सूची तय गरिएको छ । यस कार्यक्रमका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल आयोजक समिति, मुख्यमन्त्रीले तोकेको प्रदेश सरकारको एक मन्त्रीको संयोजकत्वमा निर्देशक समितिको गठन हुनेछ भने पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री सदानन्द मण्डलको अध्यक्षतामा कार्यक्रम व्यवस्थापन समिति गठन हुनेछ ।

कोशी प्रदेशमा तारेस्तरका होटल कुल १२ वटा, पर्यटकीय स्तरका होटेल ३६ वटा, निजी र सामुदायिक गरी कुल १०५ वटा होमस्टेहरू रहेका । प्रदेशमा हाल ७१ वटा ट्राभल तथा ट्रेकिङ एजेन्सीले पर्यटकहरूलाई विभिन्न पर्यटकीय सेवा उपलब्ध गराइरहेका छन् । कोशी प्रदेशमा ट्रेकिङ गाइडको सङ्ख्या ८७ र टुरगाइड २८९ र पोर्टरगाइड ८५ जना छन् ।

प्रदेशमा ४ स्थानमा र्याफ्टिङ सञ्चालनमा छन् भने इटहरीको इप्पिल्याण्ड, झापाको ह्याप्पील्याण्ड र भेडेटार–देविथान जीपलाइन, भेडेटार र कन्याममा स्काईवाकका साथै जङ्गल सफारीका रूपमा माउन्टेन साइक्लिङ तथा रक क्लाइम्विङ, इलामको स्काइवाक र बुढासुब्बा तथा बेलकामा प्याराग्लाइडिङ सञ्चालनमा रहेको छ ।

स्विस सरकारको सहयोग तथा तिनै तहका सरकारहरूको सहलगानीमा यस प्रदेशमा चियाबारी पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग र मुन्धुम पदमार्ग गरी चारवटा मुख्य पदमार्गमा आधारित पर्यटन विकास आयोजना समेत यसै वर्षदेखि सञ्चालनमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप