शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
सडकको अवस्था

पृथ्वी राजमार्गको कन्तबिजोग

बिहीबार, १० असोज २०८१, १७ : ३०
बिहीबार, १० असोज २०८१

पोखरा । ‘बढीमा तीन घन्टामा पोखराबाट मुग्लिन पुग्थ्यौँ । अहिले पाँच घन्टाभन्दा बढी लाग्छ,’ पोखरा–काठमाडौँ बस चलाउँदै आएका काजी श्रेष्ठ भन्छन्, ‘चाइनिज कम्पनीले छिटो काम गर्छ भन्ने सुनेका थियौँ । यता त त्यस्तो देखिएन । के कारणले ढिलो भइरहेको छ, हामी नै अचम्ममा परेका छौँ ।’ 

लामो समय निर्माण सम्पन्न नहुँदा खाल्डाखुल्डीकै कारण उनको गाडी छिटो–छिटो बिग्रने गरेको छ । कहिलेकाहीँ बाटोमा गाडी बिग्रेर रोकिनुपर्दा यात्रुको गाली खानुपरेको उनको अनुभव छ । ‘अरु बेला जस्तो सरर गाडी चलाउने अवस्था छैन,’ उनी भन्छन्, ‘यात्रुले पनि कति ढिलो चलाएको भनेर गाली गर्छन् ।’

एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम चलिरहेको छ । कोरोना संक्रमणका कारण आयोजना समयमै पूरा भएन । लामो समयसम्म सडक निर्माणको काम नसकिँदा चालक, यात्रुदेखि सडक छेउछाउका स्थानीय र व्यापारीदेखि निकै सास्ती बेहोरेका छन् । पिच नभएका ठाउँमा खाल्डाखुल्डी पुरेर बाटो सहज बनाइदिन उनीहरुको आग्रह छ । 

pokhara muglin road (1)

  • मारमा व्यवसायी 

डुम्रेमा फर्निचर र इलेक्ट्रिक गाडीका लागि चार्जिङ स्टेसन चलाउँदै आएका घनश्याम श्रेष्ठको व्यापार पछिल्ला महिना वर्ष ठप्पजस्तै छ । यतिबेला घनश्यामको पसलसम्म जाने सिँढी निर्माण हुन सकेको छैन । त्यसैले उनको व्यापार प्रभावित बनेको छ । ‘हिजो गुल्जार भएको बजार अहिले सुनसान छ,’ श्रेष्ठ भन्छन्, ‘पहिलेको तुलनामा ७५ प्रतिशतले व्यापार घटेको छ । तिजमा पनि व्यापार भएन । केहीले त पसलै बन्द गरेर बसेका छन् । यही अवस्था भए विस्थापित हुनुपर्छ ।’

कोरोनाअघि र सडक विस्तारको काम चल्नुअघि डुम्रे निकै चल्तीको बजार थियो । कोरोनाले खस्किएको व्यापार–व्यवसाय सडक क्षतविक्षत भएका कारण थप प्रभावित बन्न पुग्यो । 

pokhara muglin road (5)

तनहुँमा पहिले जति व्यापार हुँदै आएको थियो, पृथ्वी राजमार्गको विस्तारका क्रममा त्यसमा २५ प्रतिशतभन्दा बढी क्षति भएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र बताउँछन् । ‘आधिकारिक तथ्यांक नभए पनि बजारमा सडक विस्तार हुँदा व्यवसाय नचलेको स्पष्टै देख्न सकिन्छ,’ अध्यक्ष मिश्र भन्छन्, ‘धुवाँ–धुलोजस्ता कारणले व्यापार घटेको छ । स्वास्थ्यमा पुगेको क्षतिको त आकलनै गर्न सकिँदैन । पर्यटन क्षेत्र, होटलमा बढी प्रभावित भएको छ ।’

यहाँका व्यवसायीले सडक निर्माण पक्षसँग चाडपर्वअघि नै बजार क्षेत्रको निर्माण सिध्याउन अनुरोध गरेका थिए । तर निर्माण कम्पनीले चाडबाडकै मुखमा बजारमा घर–टहरा भत्काउने र खन्ने काम सुरु गरेको छ । ‘हामीले छिटो काम गरिदिनुस् भनेका छौँ, तर कसले सुन्ने हाम्रा कुरा ?’ अध्यक्ष मिश्र भन्छन् । 

मिश्रको भनाइमा सडक विस्तारका कारण अर्थात् घरजग्गा परेर विस्थापित हुनुपर्ने व्यवसायी त्यति छैनन् । ‘एकाधबाहेक सडकका कारणले विस्थापित हुनुपर्ने अवस्था छैन । उठिबास हुनेले राम्रो पैसा पाए, गए । सडक विस्तारपछि डुम्रै झनै व्यवस्थित हुनेछ,’ उनी भन्छन्, ‘तर अहिले सडक विस्तारका कारण लामो समय व्यापार ठप्प हुँदा व्यापारीलाई मर्का परेको छ ।’

pokhara muglin road (4)

  • पालिकालाई टाउको दुखाइ

सडक निर्माण छिटो सिध्याउन पालिकाहरूको पहल पनि कम छैन । यस सडक खण्डमा ६ वटा पालिका पर्छन् । तर अन्तर सरकारी निकायबिच समन्वय नहुँदा पनि सुरुमा सडक विस्तार कार्यमा ढिलासुस्ती हुन पुग्यो । विद्युत्, खानेपानी, टेलिकम लगायत सरकारी निकायले सहजीकरण नगरेका कारण सुरुमा बढी समस्या आएको पोखराका मेयर धनराज आचार्य बताउँछन् । यद्यपि पछिल्लो समय सरकारी समन्वयको अभाव नरहेको उनको भनाइ छ । 

आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्ड (४१ किलोमिटर)मा ६७ प्रतिशत भौतिक प्रगति भएको छ । २९ किलोमिटरमा चार लेन र पाँच किलोमिटरमा दुई लेन पिच भइसकेको निर्माण कम्पनीले जनाएको छ । हालसम्म यहाँ ३० प्रतिशत मात्र प्रगति भएको छ । चार किलोमिटरमा दुवैतर्फ र १७ किलोमिटरमा दुई लेनमा मात्रै पिच भएको छ ।

‘हिजो बिजुलीको पोल हटाउने, खानेपानी र सिँचाइको पाइप हटाउने कुरामै तालमेल मिलेको थिएन,’ मेयर आचार्य भन्छन्, ‘अहिले सबै सरोकारवाला एकै ठाउँमा आउनुभएको छ । १५–१५ दिनमा सबै सरोकारवालालाई राखेर समस्या समाधान भइरहेको छ ।’ 

उनका अनुसार कुँडहरदेखि सेतीपुलसम्म बिजुलीको तार अन्डरग्राउन्डको काम सकिएको छ । सेतीपुल निर्माणमा देखिएको अवरोध पनि समाधान भइसकेको छ । ‘सेतीपुलमा पाँचवटा घरको समस्या थियो । पछिल्लो बसाइबाट निकास निस्कियो । उत्तरपट्टि अब काम सुरु हुन्छ,’ मेयर आचार्य भन्छन्, ‘दसैँअगाडि कोत्रेदेखि पोखरासम्मको सबै खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । एयरपोर्टदेखि सेतीपुलसम्म रि–पिच गर्ने कुरा भएको छ । अहिले कामको गति द्रूत नै छ ।’ 

पोखरा–मुग्लिन सडक विस्तार कार्य निर्माण कम्पनीले २०२५ डिसेम्बरसम्म सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । घरधनीको अवरोध लगायत विविध कारण काममा ढिलासुस्ती भएको निर्माण पक्षको पनि स्वीकारोक्ति छ । राज्यले भुक्तानी समयमा नदिएर पनि छिटो काम नभएको उनीहरूको गुनासो छ । यद्यपि अहिले त्यो समस्या हटिसकेको छ ।

pokhara muglin road (7)

  • पूर्वतिरको काम सन्तोषजनक

आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्ड (४१ किलोमिटर)मा ६७ प्रतिशत भौतिक प्रगति भएको छ । २९ किलोमिटरमा चार लेन र पाँच किलोमिटरमा दुई लेन पिच भइसकेको निर्माण कम्पनीले जनाएको छ । 

यस्तै, खण्डमा पर्ने साना पुल १४ वटा निर्माण गरिएको छ भने दुईवटा ठुला पुल पनि सम्पन्न भएका छन् । ‘बुल्दी र खानीखोलाको पुल सकियो । डुम्रेमा पनि एकतर्फको लेन पूरा भएको छ, अर्को निर्माण थालिएको छ,’ पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले भने । 

६ अर्ब २१ करोडमा काम सक्ने गरी यो खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । गएको वैशाखमा सक्नुपर्ने काम कोरोना संक्रमणका कारण नसकिएपछि एक सय ५५ दिन म्याद थप गरिएको छ । 

सँगसँगै सम्झौता भएर काम सुरु भए पनि पूर्वी खण्डभन्दा पश्चिम खण्ड (जामुनेदेखि पोखरासम्मको ३९ किलोमिटर) को काम काममा साह्रै ढिलासुस्ती देखिन्छ ।

पूर्वी खण्डको दमौली, डुम्रे, छिर्कन र विमलनगर क्षेत्रमा धेरै काम बाँकी भए पनि अन्यत्र लगभग सडक पिच पूरा भएको छ । दमौलीमा अर्को सातादेखि काम सुरु हुने र डुम्रेमा माघसम्म पूरा गर्ने गरी काम भइरहेको इन्जिनियर पाण्डेको भनाइ छ । 

उनका अनुसार, विमलनगरमा भने पहरो फुटाउँदा ठुलो क्षति हुने आकलन गरेर डिजाइन परिवर्तन गरिएको छ । ‘सुरुमा पहरै फुटाउने डिजाइन थियो, तर पहरो फुटाउँदा ठुलो क्षति हुने देखियो,’ उनी भन्छन्, ‘अहिले तलबाट वाल उठाएर काम गर्ने कन्सेप्ट बनेको छ । लगभग यही डिजाइन पास हुन्छ ।’ 

छिर्कनमा डाँडा कटानको काम बाँकी छ । यो पनि एक महिनामा सकिने निर्माण पक्षको दाबी छ । मनसुन सकिएका कारण कामको गति बढ्ने बताइएको छ । ‘डाँडामा पहिरो खस्ने चुनौती सबैभन्दा बढी छ । अन्ततिर एउटै पहरामा अर्बौं खर्च गर्ने डिजाइन हुन्छ । हाम्रोमा त्यस्तो छैन,’ उनले भने, ‘एउटै डिजाइनबाट सबै काम गरिएको हुन्छ । सामान्य स्ट्रक्चर धान्ने काम मात्रै हो । एक–दुई वर्ष पहिरोको जोखिम बढी नै हुने अनुमान गरेका छौँ ।’ 

  • पश्चिम खण्डमा ढिलासुस्ती

पश्चिम खण्ड (जामुनेदेखि पोखरासम्मको ३९ किलोमिटर) को काम चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । ७ अर्ब ४० करोडमा २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएकामा समयमा काम नभएपछि एक सय दिन म्याद थपिएको छ ।

सँगसँगै सम्झौता भएर काम सुरु भए पनि पूर्वी खण्डभन्दा पश्चिम खण्डको काममा साह्रै ढिलासुस्ती देखिन्छ ।

pokhara muglin road (2) 

पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलका अनुसार, हालसम्म यहाँ ३० प्रतिशत मात्र प्रगति भएको छ । चार किलोमिटरमा दुवैतर्फ र १७ किलोमिटरमा दुई लेनमा मात्र पिच भएको छ । सडक विस्तारमा कुनै समस्या नरहेकाले अब तीव्र गतिमा काम हुने पौडेल बताउँछन् । 

‘विद्युत्को पोल, खानेपानी लगायत समस्या समाधान भएको छ । उनीहरूले पनि काम गरिरहेका छन् । हामीले जहाँजहाँ काम गरेका छौँ, त्यहाँ प्राथमिकता दिएर सारिरहनुभएको छ,’ उनले भने, ‘अहिले खासै समस्या छैन । काम सँगसँगै गएको छ । बर्खा पनि सकिएकाले कामको तीव्रता बढ्छ ।’ 

पश्चिम खण्डमा आठवटा साना र चारवटा ठुला पुल पर्छन् । ठुला पुलमध्ये विजयपुरमा कामैै सुरु भएको छैन । कोत्रेमा स्ल्याब हाल्नेबाहेक काम सकिएको छ । कुम्लेखोलाको पुल अन्तिम चरणमा पुगेको छ भने म्याग्दे खोलाको ‘एप्रोच’बाहेक सबै काम सकिएको छ । 

साना पुल एउटाबाहेक सबै निर्माण भइसकेको आयोजनाले जनाएको छ । अहिले चाडपर्व लक्षित भएर सडकलाई सहज बनाउने काम भइरहेको इन्जिनियर पौडेलले बताए । ‘चाडपर्व नजिकिएसँगै खाल्डाखुल्डी पुर्ने काम सँगै गरिरहेका छौँ,’ उनले भने, ‘यात्रुलाई सहज हिसाबले यात्रा गर्न मिल्ने बनाउँदै छौँ ।’ सडक विस्तारका लागि डाँडा कटान र रुख काट्ने काम सकिएको छ । अहिलेसम्म वित्तीय प्रगति ३७ प्रतिशत भएको पौडेलले जानकारी दिए । 

pokhara muglin road (6)

  • मादी र सेतीमा सिग्नेचर ब्रिज

मादी र सेतीमा पुल निर्माणको छुट्टै ठेक्का छ । मादीमा ३७ प्रतिशत काम पूरा भएको छ । यसलाई सिग्नेचर ब्रिजका रुपमा निर्माण गर्न लागिएको हो । मादीमा १ अर्ब २० करोडमा पुल बन्दै छ । सेतीको पुल पनि निर्माणाधीन छ । २०८१ भदौ २१ गतेभित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको पुलको लागत १ अर्ब ७ करोड छ । अहिले भइरहेको पुलको दायाँबायाँ एक–एक वटा पुल निर्माण हुनेछन् ।

  • दसैँसम्म सहज बनाइने

तुलनात्मक रूपमा पश्चिमखण्ड भन्दा पूर्वी खण्डको काम रफ्तारमा छ । पूर्वी खण्डमा खासै अवरोध छैन । निर्माण कम्पनीले दसैँ नजिकिएसँगै अवरोध हुन सक्ने बाटोमा छिटो मर्मत गरिरहेको छ । 

pokhara muglin road (8)

‘दसैँसम्म सहज यात्रा गर्न मिल्ने बाटो बनाइसक्छौँ । खासै अवरोध हुने अवस्था आउँदैन,’ इन्जिनियर विष्णु पाण्डे भन्छन्, ‘बरु बुझ्नुपर्ने के हो भने साइन सिग्नल तयार भइसकेको छैन । अन्डर कन्स्ट्रक्सनको बाटो हो । बढी स्पिड गर्न मिल्दैन । दुर्घटनाको जोखिम धेरै छ ।’ 

उनले प्रतिघण्टा ५० किलोमिटर भन्दा बढी गति नबढाउन सुझाएका छन् । 

  • खाल्डाखुल्डी पुर्न मुख्यमन्त्रीको निर्देशन

तोकिएको समयमा काम नसकिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही समयअघि निर्माण कम्पनीलाई बोलाएर चाडबाड नजिकिएकाले सडकमा यात्रा सहज बनाउन निर्देशन दिए । 

pokhara muglin road (3)

उनको अगुवाइमा बसेको सरोकारवालाको बैठकमा केही निर्णय भएका थिए— सडक निर्माणको काममा बाधा नहुने गरी विद्युत् प्राविधकरणले बिजुलीका पोलहरू रिलोकेट गर्ने; चाडपर्व तथा पर्यटकको आवागमनका कारण सडकमा चाप बढ्ने भएकाले पश्चिम खण्डमा वर्षात्ले पारेको खाल्डाखुल्डी पुर्ने, पोखरा विमानस्थलदेखि सेतीपुलसम्म बिजुलीका तार भूमिगत गर्ने काम भदौ मसान्तसम्म सम्पन्न गर्ने, लगत्तै दुई लेन सडक निर्माणको काम सम्पन्न गर्ने आदि ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप