शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनी प्रदेशका पूर्वमन्त्री सीके गुप्ताविरुद्ध महिला हिंसाको उजुरी

बिहीबार, १० असोज २०८१, १६ : २४
बिहीबार, १० असोज २०८१

बुटवल । लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री एवं जनमत पार्टी प्रदेश सभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध उनकै पत्नी कान्ति गुप्ताले हिंसा सम्बन्धी उजुरी दर्ता गराएकी छन् ।

राष्ट्रिय महिला आयोग र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी परेको हो ।

६ वर्ष अगाडि नवलपरासीको प्रतापपुर गाउँपालिका–९ निवासी कान्ति कुमारी यादवसँग सीकेको विवाह भएको थियो । सीकेले पछिल्लो समय मानसिक यातना दिने र सासु–ससुराले शारीरिक यातना दिने गरेको भन्दै पीडित कान्तिले उजुरी दिएकी हुन् ।

गत वर्ष यस्तै उजुरी राष्ट्रिय महिला आयोगमा दिइएकोमा ‘अबदेखि यस्तो गल्ती नगर्ने’ भन्दै सीकेले लिखित प्रतिबद्धता जनाएका थिए । उनी रुपन्देहीको क्षेत्र नम्बर ५ (२)बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

सीके गुप्ता र कान्तिबिच २०७५ साल वैशाख १४ गते हिन्दु धर्म अनुसार विवाह भएको हो । त्यो बेला सीकेले दाइजो नलिने बताएपछि उत्साहित बनेर कान्तिका बुवा प्रेमचन्द्र गुप्ताले हेलिकप्टर चार्टर गरेर लुम्बिनीबाट नवलपरासीसम्म सीकेलाई पुर्‍याएका थिए ।

सीके गुप्ता स्थानीय तहको निर्वाचन २०७९ मा जनमत पार्टीबाट लुम्बिनी सांस्कृतिक नगरपालिका मेयर पदमा उम्मेदवार बनेका थिए । तर उनी पराजित भए । प्रदेश सभा निर्वाचनमा उनी रुपन्देहीको क्षेत्र नम्बर ५ को (२) बाट निर्वाचित भए । निर्वाचनको बेला धेरै रकम खर्च भएको भन्दै उनले ससुरालीतिर रकम ल्याउन अघोषित रूपमा दबाब दिन थालेको कान्तिको भनाइ छ ।

२०८० कार्तिकमा सीके गुप्ताको परिवारले कान्तिलाई कुटपिट गर्दै घर निकालाको प्रयास गरेको थियो । भागेर माइत गएपछि उनले राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन् । त्यो बेला सीके गुप्ताले घरपरिवार र आफूबाट गल्ती भएको भन्दै अब यस्तो नगर्ने लिखित प्रतिबद्धता जनाएका थिए ।

त्यसपछि करिब ४ महिना घरपरिवार राम्रोसँग चले पनि पछिल्लो समय फेरि मानसिक यातना दिन सुरु भएको पीडितको भनाइ छ । गत असार १३ गते सीके घरमा नभएको बेलामा कान्तिलाई सासु, ससुरा, जेठानी मिलेर कुटपिट गरेको उजुरीमा उल्लेख छ ।

त्यसपछि सीके गुप्ताले यहाँ घरपरिवार मिलाउन कठिन भयो, १०/१५ दिन माइत जाउ, पछि मिलेर भैरहवातिर र बसौँला भन्दै आफूलाई पठाएको कान्तिको भनाइ छ ।

त्यो बेला पीएसओ लगाएर माइत पठाएका सीकेले पछि आफ्नो मोबाइल नम्बर ब्लक गरेको र हालै अर्को नम्बरबाट सम्पर्क गर्दा डिभोर्स दिन्छु भन्दै धक्काएको कान्तिको आरोप छ ।

सीके र कान्तिका दुई छोराछोरी छन् । छोरी ४ वर्षको र छोरा १९ महिनाका छन् । कान्तिले आफूमाथि हिंसा गर्ने श्रीमान्, सासु ससुरा र नन्दलाई महिला हिंसा अन्तर्गत कारबाहीको माग गरेकी छन् ।

सीके गुप्ताले भने आफू सम्बन्ध विच्छेदको प्रक्रियामा जान लागेको बताएका छन् । विगतमा महिला आयोगमा निवेदन दिँदा मिले पनि अहिले मिल्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘मेरो आमाबुवा, बहिनीलाई गाली गर्ने, मेरो कुरा नमान्ने र मिलेर बस्न नसक्ने भएपछि डिभोर्सको प्रक्रियामा जान थालेको छु,’ उनले भने ।

जिल्ला प्रशासन कार्यालयमा छलफल

इमेलबाट उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ३ घण्टासम्म प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, रुपन्देहीका डीएसपी मनोहर भट्टलगायतको उपस्थितिमा छलफल भएको थियो ।

छलफलमा क्रममा पनि मिल्ने सम्भावना नभएपछि डिभोर्सको प्रक्रियामा जाने मनसाय बनाएको सीके गुप्ताले रातोपाटीलाई बताए ।

कान्तिका बुवा प्रेमचन्द्र गुप्ताले सांसदले प्रहरी प्रशासनलाई प्रभावमा पारेर आफ्नी छोरीलाई प्रशासन कार्यालयमा बोलाएको जिकिर गरे ।

प्रशासन कार्यालयमा कान्तिले हिंसाको उजुरी दिएको भन्दै उनले सोही अनुसार पहिला कारबाही अघि बढाउनु पर्ने, त्यसपछि मात्र डिभोर्सको प्रक्रियामा जानुपर्ने प्रस्ट पारे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निवेदन आएपछि सकभर मिलाउने प्रयास गरेको तर मिल्ने कि नमिल्ने वा अन्य कानुनी बाटो रोज्ने अधिकार दुवैसँग सुरक्षित रहेको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप